ब्राउन सुगर र नक्कली पेस्तोलसहित चुच्चेपाटीबाट तीन पक्राउ
काठमाडौं : प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनजनालाई पक्राउ गरेको छ। चेकजाँच गर्नेक्रममा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इलाम माई नगरपालिका-४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका-५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका-३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए।
सडकमा हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), नक्कली पेस्तोल एक थान र २० हजार एक सय रुपैयाँ बरामद भएको गिरीले जानकारी दिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस