टुंगियो पुनर्निर्माण विवाद
चरिकोट : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले दोलखा बजारस्थित बहुस्वामित्वको निजी आवास पुननिर्माणसम्बन्धी विवादको समाधान निकालेको छ । बैठकले बजारमा रहेको बहुस्वामित्वका घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बहुस्वामित्वको निजी आवास पुनर्निर्माणले थप तीब्रता पाउने प्राधिकरणका सूचनाअधिकारी मनोहर घिमिरेले बताए । समितिले दुई वा दुईभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो । प्राधिकरणले ढिलै भए पनि गरेको निर्णयको स्वागत गर्दै भीमेश्वर नगरपालिका-२ का वडाध्यक्ष विराजमान श्रेष्ठले भने, ‘दोलखा बजारस्थित बहुस्वामित्वमा रहेको निजी आवासको पुनर्निर्माण अब बिनारोकावट अघि बढ्छ ।’
भीमेश्वर नगरपालिका-२ मा रहेको बजारस्थित करिब दुई सय बहुस्वामित्वमा रहेको पुनर्निर्माणले नगरपालिकालाई नै समस्यामा पारेको थियो । दोलखा बजारको परम्परागत बस्तीहरूमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीलाई मौलिक र पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ । परम्परागत बस्ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारहरूको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने पनि निर्णय गरेको छ ।
करिब ३ सय वर्षको इतिहास बोकेको दोलखा बजारलाई मल्लकालीन स्वरूपका घर निर्माण गर्न भीमेश्वर नगरपालिका-२ को समन्वय तथा द्वाल्खा गुठीको प्राविधिक र आर्थिक सहयोगमा पुनर्निर्माण गरिने घरहरूको नक्सा निःशुल्क निर्माण गरिदिएको हो । त्यसरी निर्माण गरिएका नक्सामध्ये २३ घरधुरीलाई हस्तान्तरण समेत गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।