निर्मला प्रकरणको ‘शीतयुद्ध’

निर्मला प्रकरणको ‘शीतयुद्ध’

कन्चनपुरकी १३ वर्षीया छात्रा निर्मला पन्तको बलात्कार र हत्याको मुद्दा स्थानीय प्रश्न मात्र नभई राष्ट्रिय महत्वको विषय बनेको छ। बलात्कार र हत्या भएको करिब दुई महिना पुग्न लाग्दा पनि त्यो काण्डसँग सम्बन्धित अपराधी पत्ता लाग्न सकेको छैन। महत्वपूर्ण प्रश्न त्यो घटनासँग सम्बन्धित अपराधीलाई योजनाबद्ध तरिकाले लुकाउने प्रयत्न भइरहेको शंका गर्ने ठाउँ छ। त्यो प्रयत्न कोद्वारा भइरहेको छ ? गम्भीर र रहस्यमय प्रश्न बनेको छ। त्यो समस्या छिटै समाधान गर्न नसक्ने वा रहस्यलाई उद्घाटन गर्न नसक्ने हो भने गृहमन्त्रालय र सम्पूर्ण सरकारको प्रतिष्ठा र अस्तित्वमै आँच पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यो घटनाका सन्दर्भमा दुई प्रश्न महत्वपूर्ण छन्। एउटा– निर्दोष व्यक्ति दिलिप विष्टलाई किन ‘डमी’ अपराधीका रूपमा प्रस्तुत गरियो ? दोस्रो– उच्चस्तरीय जाँचबुझ समितिका एकजना सदस्य वीरेन्द्र केसीले कुन प्रकारको परिस्थितिमा राजीनामा दिन बाध्य हुनुपर्‍यो ?

निर्मला पन्तको बलात्कार र हत्याकाण्डबाट नेपालका सम्पूर्ण महिलामाथिको बलात्कार र हत्याको समस्या गम्भीर रूपमा मात्र देखा परेको छैन, त्यो घटनाले सम्पूर्ण सरकारी यन्त्र नै असफल देखिन्छ। कन्चनपुर घटना प्रतिनिधि घटना हो। तर देशभरमा यस प्रकारका घटना लगातार भइरहेका छन्। त्यस प्रकारका जति घटना बाहिर आएका छन्, देशमा त्योभन्दा कैयौं गुणा बढी बलात्कारका घटना हुने गर्छन्। तर धेरै महिला वा बालिकामाथि भएका त्यस प्रकारका तथ्यलाई बाहिर ल्याउने गरिँदैन। किनभने त्यस प्रकारका घटनाबारे समाचार सार्वजनिक भएपछि उनीहरूको जीवन नै बर्बाद हुन्छ भन्ने उनीहरूलाई डर हुन्छ। कन्या केटीहरूको विवाह हुन मुस्किल हुन्छ भने विवाहित महिलाको दाम्पत्य जीवन र सम्पूर्ण सामाजिक प्रतिष्ठा नै समाप्त हुने डर हुन्छ।

निर्मला बलात्कार र हत्या घटना स्वयं सरकारका लागि प्रमुख चुनौती र गम्भीर परीक्षाको विषय बनेको छ। सिंगो देश र जनताले यो जान्नका लागि सरकारतर्फ हेरिरहेका छन्— त्यसमा सरकारको आगामी कदम वा भूमिका के हुन्छ। सायद त्यो नाटकको एउटा परिदृश्यजस्तै भएको छ, जहाँ अगाडि आउने परिदृश्य जान्न दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन्। यो स्पष्ट छ कि कन्चनपुरको घटनासित सम्बन्धित व्यक्तिले त्यो घटनामाथि ढाकछोप गर्ने र दोषीलाई बचाउन योजनाबद्ध र संगठित रूपले प्रयत्न गरिरहेका छन्। त्यस प्रकारको प्रयत्न कोद्वारा भइरहेको छ ? अहिलेसम्म गृहमन्त्रालयले गरेको प्रयत्नबाट उनीहरूले घटनाको गहिराइमा पुग्न र वास्तविक दोषी पत्ता लगाउन प्रयत्न गरेको नै देखिन्छ। त्यसरी सरकार र उक्त अपराधमा संलग्न पक्षका बीचमा एक प्रकारको शीतयुद्ध नै चलेजस्तो देखिन्छ। त्यो शीतयुद्धमा कुन पक्षको जित हुनेछ ? त्यो सम्पूर्ण महिला जगत् र सरकारका लागिसमेत महत्वपूर्ण विषय हुनेछ। पीडित पक्षलाई न्याय दिनु सरकारको दायित्व हुन्छ। सरकार त्यसमा असफल भयो भने त्यो प्रश्नलाई हातमा लिनु र संघर्ष अगाडि बढाउनु सबै महिला, न्यायप्रेमी जनता, संघसंस्था, राजनीतिक पार्टीहरूको पनि दायित्व हुन्छ। उक्त घटनाको सन्दर्भमा सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन भने सरकार फेल भएको प्रमाणित हुनेछ। तर हामी आशा र कामना गर्दछौं– त्यस्तो हुने छैन।

अहिलेसम्म उक्त विषयमा सही निष्कर्षमा पुग्न सरकार जसरी असफल भएको छ, त्यसले एकातिर स्थितिको गम्भीरतामा र अर्कोतिर सरकार र प्रशासन यन्त्रभित्र पनि गम्भीर कमजोरी रहेको संकेत गर्छ। सरकार त्यस प्रकारको कमजोरीमाथि विजय प्राप्त गर्न असफल हुन्छ भने त्यसको अर्थ सरकार निर्मला बलात्कार र हत्याकाण्डसँग सम्बन्धित व्यक्ति तथा उनीहरूको सञ्जालबाट (त्यो सञ्जाल कहाँसम्म फैलिएको छ ? यो अर्को गम्भीर प्रश्न हो) मात्र पराजित भएको हुने छैन, त्यसले अन्य नीति, कार्यक्रम वा कार्यमा पनि सरकारलाई असफल पार्दै लैजानेछ। एउटा सामान्य किशोरीको बलात्कार र हत्या घटनामा पनि सरकारले प्रभावशाली भूमिका खेल्न सक्दैन र त्यसमा पराजित हुनुपर्ने स्थिति पैदा हुन्छ भने अन्य प्रश्नमा पनि सरकार स्वतन्त्र र प्रभावशाली प्रकारले भूमिका खेल्न नसक्ने वा अर्का शब्दमा असहाय र निरीह बन्दै जाने सजिलैसित अनुमान गर्न सकिन्छ। जुन प्रकारको अवस्था वा स्थितिले सरकारलाई निर्मलाप्रकरणमा सशक्त भूमिका खेल्न असमर्थ बनाउनेछ, त्यही अवस्था वा परिस्थितिले अन्य विषयमा पनि सरकारलाई दबाउँदै जानेछ। हामीले निर्मलाको बलात्कार र हत्याको प्रश्नलाई त्यही प्रकारको गम्भीर अर्थमा लिएका छौं।

बलात्कार र हत्याका विषयमा मात्र होइन, समाजमा हुने सबै अन्यायपूर्ण व्यवहारको विरुद्धमा जनतामा त्यस प्रकारको जागरुकता र सतर्कता देखापर्‍यो भने हाम्रो देशले छिटै कोल्टे फर्नेमा शंका छैन।

कन्चनपुरको बलात्कार र हत्याकाण्डका सिलसिलामा अगाडि सारिएको दिलिप विष्टको प्रस्तुतिले पनि एउटा गम्भीर र नकारात्मक विषयको संकेत गर्छ। त्यो कारबाही कानुन र मानव अधिकारको पनि चरम प्रकारको उल्लंघन हो। त्यसकारण त्यसबारे सबै न्यायप्रेमी जनता र मानवअधिकारवादीले गम्भीर र व्यापक आवाज उठाउनुपर्ने आवश्यकता छ। त्यसले कानुन र मानव अधिकारसम्बन्धी कैयौं गम्भीर प्रश्न उठाउँछ। एउटा अपराधी बचाउन एउटा निर्दोष व्यक्तिलाई ‘बलिको बोका’ बनाउने प्रयत्न किन गरियो ? जब कन्चनपुरका जनताले त्यस प्रकारको प्रयत्नको विरोध गरे, उनीहरूमाथि अन्धाधुन्ध गोली चलाउने काम गरियो। त्यस प्रकारको गोलीकाण्डबाट एकजनाको मृत्यु भयो, दुईजना गम्भीर घाइते भए। आखिरमा कुन उद्देश्य पूरा गर्न त्यस प्रकारको कारबाही गरिएको थियो ? के सामान्य शान्तिस्थापना वा हिंसात्मक कारबाहीमाथि नियन्त्रणकै लागि त्यस्तो कारबाही गरिएको थियो ? एकजना वा एकाध अपराधी बचाउन त्यस्तो कारबाही गरिएको थियो। यो प्रश्न स्थानीय प्रशासनसित मात्र नभई केन्द्रीय सरकारसित पनि सम्बन्धित हो।

वीरेन्द्र केसीको प्रश्न पनि सामान्य होइन। एउटा उच्च अधिकृतले आफ्नो कर्तव्यपालनको सिलसिलामा बाध्य भएर राजीनामा दिनुपर्छ। आखिर त्यो कुन छद्म शक्ति थियो, जसका कारणले उनलाई राजीनामा दिन बाध्य हुनुपरेको थियो ? प्रशासनबारे अहिलेसम्म हामीलाई जेजति जानकारी र अनुभव प्राप्त भएको छ, त्यसबाट थाहा हुन्छ कि प्रशासनमा कैयौं इमानदार र कर्तव्यपरायण कर्मचारी पनि हुन्छन्, तर प्रशासनभित्रका भ्रष्ट र गलत तत्वका कारणले उनीहरूलाई काम गर्न मुस्किल पर्छ। सायद त्यही स्थिति वीरेन्द्र केसीका अगाडि पनि देखा पर्‍यो र उनी राजीनामा दिन बाध्य भए। खुसीको कुरा उनी आफ्नो जिम्मेवारी पूरा गर्न पुनः कार्यक्षेत्रमा जान तयार भएका छन्। जुन तत्वको दबाब वा धम्कीका कारण उनी पछाडि हट्न बाध्य भएका थिए, उनीहरूको अगाडि उनी पराजित हुनुपर्छ वा उनी आफ्नो मिसन पूरा गर्न सफल हुनेछन्। उनको असफलताको अर्थ हुनेछ, निर्मला बलात्कार र हत्याकाण्डका अपराधीलाई अगाडि आउने अवसर प्राप्त हुनु। उनी आफ्नो कार्यमा वा वास्तविक अपराधी सार्वजनिक गर्न सफल हुन्छन् भने त्यो खालि उनको व्यक्तिगत सफलता मात्र हुने छैन र त्यो राष्ट्रिय महत्वको सफलता हुनेछ। उनको सफलताले सम्पूर्ण महिला जगत् र देश तथा सरकारका लागि पनि निर्णयात्मक महत्व राख्नेछ। जसले उनलाई राजीनामा दिन बाध्य पारेको थियो, त्यो शक्तिले उनको पुनः आगमनलाई सहजरूपमा लिने छैनन् र उनको कार्यमा बाधा पुर्‍याउन पूरा शक्ति लगाउनेछन्।

बलात्कार र हत्याकाण्ड दबाउन उनीहरूले केन्द्रीय सरकारलाई पनि प्रभावित पार्न प्रयत्न गर्नेछन्। केन्द्रीय सरकार यस्तो प्रभावमा आयो र त्यसले प्रत्यक्ष वा परोक्षरूपले अपराधी बचाउने कार्यमा सहयोग गर्ने नीति अपनायो भने त्यो सरकारका लागि आत्मघाती कदम हुनेछ। त्यो कदम सम्पूर्ण महिला जगत् तथा देशका लागि पनि दुर्भाग्यपूर्ण हुनेछ। निर्मला प्रकरणले अब देशमा एउटा अग्निज्वालाको रूप लिइसकेको छ। जसले त्यसलाई निभाउने प्रयत्न गर्नेछन्, स्वयं उनीहरू नै त्यो अग्निज्वालामा भस्म हुनेछन्। तर सायद हामीले त्यति लामो भविष्यको प्रतीक्षा गर्नुपर्ने छैन र छिटै सरकार अपराधीलाई पत्ता लगाउन र सजाय दिन सफल हुनेछ भन्ने हामीले आशा गरेका छौं।

बलात्कृत महिलाले यस्तो ‘अपराध’ का लागि जनमभरि नै कडा दण्ड सजाय भोग्नुपर्छ, जसका लागि उनीहरूले कुनै अपराध गरेका हुँदैनन्। एउटी महिला बलात्कृत हुन्छिन्, त्यसमा उनको के दोष हुन्छ ? उनले के अपराध गरेकी हुन्छिन् ? बलात्कारको सिलसिलामा जुन महिलाको हत्या गरिन्छ, उनीहरूले कुनै दुःख वा पीडाको सामना गर्नुपर्दैन। किनभने मृत्युपछि सबै दुःख र पीडाबाट उनीहरू मुक्त हुन्छन्। खालि उनीहरूका बुबाआमा वा इष्टमित्रले नै दुःख र पीडाको सामना गर्नुपर्छ। तर बलात्कार भएपछि पनि जीवित रहेका महिलाले जीवनभरि नै दुःख र पीडाको सामना गर्नुपर्छ। किनकि समाजले उनीहरूलाई अपमान, तिरस्कार र बहिष्कार गर्छ। स्वयं परिवार पनि त्यसबाट अपवाद हुँदैन। आफ्नै परिवार उनीहरूका लागि दुस्मन बन्न पुग्छ। बलात्कृत महिलालाई हामीले आदर, सम्मान र माया गर्नुपर्छ। उनीहरूलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्छ। सरकारले पीडकलाई अपराधअनुसार दण्डसजाय गर्नुपर्छ। सरकारले उनीहरूको जीवन निर्वाह र सुरक्षाको पूरा जिम्मा लिनुपर्छ, ताकि उनीहरूले सम्मानित जीवन बिताउन सकून्।

निर्मला प्रकरणको घटना दबाउने वा त्यसमाथि ढाकछोप गर्ने प्रयत्नविरुद्ध उच्च प्रकारको सतर्कता र जागरुकता देखाए कन्चनपुरबासीले। जागरुक नागरिकको भूमिकाका कारण उक्त अपराधमाथि ढाकछोप गर्ने वा त्यसलाई दबाउन विभिन्न चरणमा र योजनाबद्ध प्रकारले गरिएका प्रयत्न सफल हुन सकेनन् र अब त्यो राष्ट्रिय प्रश्न बनेको छ। देशका कैयौं भागमा महिला वा बालिकाको बलात्कार र हत्या हुने गर्छ। तिनीहरूबारे मेलमिलाप वा ढाकछोप गर्ने प्रयत्न पनि गरिन्छ। तर त्यसप्रतिको जनताको उदासीन व्यवहारका कारणले ती घटना छिटै सेलाएर जान्छ।

त्यसविपरीत निर्मला हत्या र बलात्कारविरुद्ध स्थानीय जनताले उच्च प्रकारको जागरुकता र सतर्कता देखाएर देशमा एउटा नयाँ र गौरवपूर्ण इतिहास निर्माण गरेका छन्। त्यसबाट सम्पूर्ण देश र जनताले शिक्षा र प्रेरणा लिनुपर्छ। खालि बलात्कार र हत्याका विषयमा मात्र होइन, समाजमा हुने सबै अन्यायपूर्ण व्यवहारको विरुद्धमा जनतामा त्यस प्रकारको जागरुकता र सतर्कता देखापर्‍यो भने हाम्रो देशले छिटै कोल्टे फर्नेमा शंका छैन। निर्मलाकी आमा दुर्गा र बाबु यज्ञराजलाई पनि धन्यवाद दिन चाहन्छौं, जसले आफ्नो छोरीमाथि भएको घृणित, क्रूर, अमानवीय र बर्बर अत्याचारविरुद्ध अग्रिम पंक्तिमा रहेर न्यायका लागि आफ्नो आवाज बुलन्द गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.