'कञ्चनपुर घटनाको परिणाम चाँडै'
काठमाडौं : देशमा बलियो सरकार रहेका बेला दण्डहीनता र शान्ति सुरक्षा दयनीय भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सोमबार गृहमन्त्री रामबहादुर थापालाई बोलाएर सोधपुछ गरेको छ। अनुगमनमा पछिल्लो समय हत्या, बलात्कार, अपहरण र आक्रमणका घटना बढेको भन्दै ‘ल एन्ड अर्डर’ र शान्ति सुरक्षामा सरकार चुकेको भन्दै आयोगले गृहमन्त्रीसँग गम्भीर चासो व्यक्त गरेको छ।
आयोग पदाधिकारी र गृहमन्त्री थापाबीच आयोगमा झण्डै सवा घण्टा दोहोरो छलफल भएको थियो। पौने ४ बजे सुरु छलफल सवा ५ बजे टुंगिएको थियो। आयोग अध्यक्ष अनुपराज शर्मा, सदस्यहरू प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र सचिव वेद भट्टराई र गृहमन्त्री थापाबीच छलफल भएको थियो। आयोग अध्यक्ष शर्माले देशमा ‘ल एण्ड अर्डर’ को स्थिति खस्कँदै गएको र सुरक्षाकर्मी नै अपराधीसँग मिल्ने दुर्भाग्यपूर्ण स्थितिबारे गृहमन्त्रीसँग सरोकार राखिएको बताए।
‘कञ्चनपुर घटनामा प्रहरीले नै अपराधीसँग मिलेमतो गरेको देखियो। ५४ दिन बितिसक्दा पनि निर्मलाको हत्यारा पत्ता लाग्न नसक्नुले दण्डहीनताको चुनौती देखिएको छलफल भयो’, आयोग अध्यक्ष शर्माले भने, ‘गृहमन्त्रीसँग रक्षक नै भक्षक भएपछि सर्वसाधारण नागरिकले न्याय र सुरक्षा खोज्न कहाँ जाने ? भनेर पनि कुरो राख्यौं। उहाँले दण्डहीनता र कानुन उल्लंघनको अवस्था निमिट्यान्न पार्छौं, गुण्डा र अपराधी नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।’ आयोगका तर्फबाट दण्डहीनता र सुशासनप्रति गम्भीर सरोकार व्यक्त भएपछि गृहमन्त्री थापाले कञ्चनपुर घटनाको परिणाम चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए।
गृहमन्त्री थापाले परिणामबाटै काम देखाउन चाहेको भनाइ राखेका थिए। भेटमा सहभागी आयोग सदस्य एवं प्रवक्ता अन्सारीका अनुसार गृहमन्त्रीले अपराधीलाई चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याई आयोगमा जानकारी दिइने प्रतिबद्धता जनाए। ‘गृहमन्त्रीले अपराधीलाई कानुनको दायरामा ल्याउने सन्दर्भमा केही डाटा पनि पेस गर्नुभयो’, उनले भनिन्, ‘ल एन्ड अर्डर कायम गर्न लागिपरेको जानकारी पनि गराउनुभयो।’
आयोगले कानुनहीनताको स्थिति रहन नदिन उचित कदम चाल्न सुझाव दिँदै पीडितका उजुरीमा सरकारसमक्ष आयोगले गरेका सिफारिस कार्यान्वयन नभएकोमा समेत चासो व्यक्त गरेको छ। यसअघि कञ्चनपुर घटना र नागरिक सुरक्षासम्बन्धमा जानकारी लिन आइतबार डाकेको भए पनि समय अभाव दर्शाउँदै गृहमन्त्री थापा आयोगमा उपस्थित भएका थिएनन्।