समन्वय प्रमुखको घरमा तोडफोड
प्यूठान : जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको घरमा निरन्तर तोडफोड भएको छ । ऐरावती गाउँपालिका–२ बरौला निवासी आचार्यको घरमा कोही नभएको मौका छोपेर दिउँसो तोडफोड भएको आचार्यले जानकारी दिए । ‘भदौ २० र २४ गते ताल्चा फोरेर घरका सामान छरपरस्ट थिए’,आचार्यले भने,‘पूनः असोज १ गते पनि तोडफोड भयो ।’
सुरुको बेला घरमा भएको दुई हजार रुपैयाँ नगद चोरी भएको उनले बताए । आफू जिल्लामा हुने र श्रीमती पोखराचौर प्रावि उदिकमा पढाउन गएको मौका हेरेर घरमा निरन्तर तोडफोडको श्रृखंला बढ्दै गएको उनले जानकारी गराए । आचार्यले घरमा भएको सुनचाँदी अन्यत्रै राखेको बताए । समन्वय प्रमुख आचार्य सोही वडाको वडा अध्यक्ष समेत हुन् ।
तेस्रो पटक घर तोडफोड गर्ने क्रममा प्रहरीले सोही गाउँपालिका ६ विजुली लादम निवासी १६ वर्षीय एक बालकलाई रंगेहात प्रक्राउ गरेको छ । ‘थप अनुसन्धान गर्ने काम भइरहेको छ’,जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले भने,‘पीडितसँग सल्लाह गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउछौँ ।’ प्रहरीको नियन्त्रणमा रहेका बालक मोती मावी वरौलामा ८ कक्षामा अध्ययनरत छन् ।