मकर गुरुको माइक्रोबस
आजको लेख अर्कै थियो। शीर्षक अर्कै। विषय अर्कै। हिजो दिउँसो लेखिरहेको थिएँ। मकर श्रेष्ठको फोन आयो। मकर माइक्रोबसका चालक हुन्। काठमाडौं–धरान रुटमा दैनिक आउजाउ गर्छन्। एक दिन यताबाट, अर्को दिन उताबाट। कहिले बाटामा केही हुन्न, बेलैमा गन्तव्यमा पुग्छन्। कहिले जाममा पर्छन्। इन्जिन न हो, कहिले गाडी बिग्रिएर अलमल्याउँछ। कहिले सडकमा नानाथरी अवरोध हुन्छन्। छिचोल्नै घन्टौं लाग्छ। हरेक साँझ वर्कसपमा गाडी जचाउँछन्। भोक र थकानले लखतरान भएर अबेला बासमा पुग्छन्। घुप्लुक्क सुत्छन्। ब्युझिँदा कुद्न ढिला भइसकेको हुन्छ। बिहान तीन बजे मुख धोएपछि विस्तारै उनको ड्राइभिङ जिन्दगी सुरु हुन्छ। चोक–चोकमा यात्रु उभ्याएका हुन्छन्। फोन गर्दै, टिप्दै–टिप्दै अघि बढ्छन्। साँझ कतिबेला, कुन हालतमा गन्तव्यमा पुगिने हो, कहिल्यै अनुमान लगाउन सक्दैनन्।
तर पनि मकरका सेता दाँत सधैं टल्किइरहेका हुन्छन्। उनी कोहीसँग रिसाउँदैनन्। थाकेजस्ता कहिल्यै देखिँदैनन्।
हो, उनै मकरको मलाई फोन आयो। त्यही फोनले लेख बदल्यो।
०००
काठमाडौं–धरानको पालो थियो हिजो। मुलुकी संहिताको विरोधमा चालकहरूको संघले मंगलबारबाटै अनिश्चितकालीन बन्द आह्वान गरेको छ भन्ने गाइँगुइँ उनले नसुनेका होइनन्। तर बन्दले मुखै बन्द गर्ने भएकाले चुपचाप घरमा बस्न सकेनन्। कोटेश्वर पुग्दा एक सयभन्दा बढी माइक्रोबस जिल्ला–जिल्लातिर जान आइपुगेका थिए। अरू थपिँदै थिए। पूर्वतिरै तीन सयभन्दा बढी छुटे। मकर पनि ढुक्क भए। अघि बढे।
‘सिन्धुलीसम्म हल्का चलेकै थिए। बर्दिबास आएपछि सडक ठप्पै देखियो’, फोनमा उनले सुनाए, ‘केही माइक्रोबस र मोटरसाइकलबाहेक सडक चकमन्न छ। माइक्रोलाई पनि बन्दका आयोजकले ठाउँ–ठाउँमा रोकेर सोधीखोजी गरिरहेका छन्। आज चलाइहाल्नुभयो, भोलिदेखि नचलाउनुहोस् भन्दै मुस्किलले छोड्दैछन्।’
अचानक बन्दले विलखबन्दमा परे उनी। न अघि जानु, न पछि सर्नु। न बीचमै अलपत्र पर्नु। अलपत्र आफू मात्रै परेर भएन, गाडीभरि यात्रु छन्। तिनका आफ्नै योजना छन्। आफ्नै गन्तव्य छन्। भरे धरान पुगेर कसैले साँझै पहाड चढ्नुपर्ने होला। कतिका जरुरी बैठक होलान्। कतिका अन्य व्यस्तता। केही बित्दो नहुनेका लागि बेलैमा पुग्नु त छँदैछ। विदेशमा भए तोकिएको समयमा नपुर्याउँदा क्षतिपूर्तिसम्म लिन मिल्छ। नियम–कानुनभन्दा मान्छे ठूला भएको हाम्रो देशचाहिँ यस्तो छ, जहाँ जसलाई जतिखेर रोकेर अलपत्र पारिदिन मिल्छ। तर मकर त्यसो गर्न चाहँदैनन्। यात्रुलाई पुर्याउने वचन दिएका उनी धोका दिन रुचाउँदैनन्।
हिम्मत गरेर अघि बढिरहे उनी। रोक्नेलाई सम्झाउँदै गाडी गुडाइरहे। ‘लहान पुग्न लागें, त्यहाँ अलि कडा छ भन्ने सुन्दैछु’, उनी फोनमा अपडेट गराइरहन्थे। उनको मन भने डराइरहेको थियो। कहाँ अचानक केही पो हुन्छ कि भन्ने तनाव थियो। तनाव नहुनु पनि कसरी ? धरापमा छ– आफ्नो ज्यान। त्यो ज्यान र सिंगै परिवारको ज्यान पाल्ने माइक्रोबसको ज्यान। अनि त्यसमा यात्रारत एक दर्जनभन्दा बढी निर्दोष यात्रुको ज्यान। सम्भावित दुःखद घटनाबाट यति धेरै ज्यान जोगाउनु थियो उनले। हिजो मात्र होइन, हरेक दिन त्यही नियति भोग्नुपर्छ। कहिले, कसले, किन, कति बेला बन्द गर्छ– चालकको सिटमा बसेपछि तर्सिनैपर्छ। नचल्नु, पेटमा हात। चल्नु, टाउकामा हात।
उनलाई त्रास अर्को पनि थियो। ‘हामी नै विरोधमा उत्रिएजस्तो भयो। बन्दलाई चुनौती दिएजस्तो देखियो’, उनको मुखबाट निर्दोष बोली फुत्कियो, ‘जबर्जस्ती त हामी पनि कहाँ आउँथ्यौं र ? प्रस्ट भनिदिएको भए बरु सुरुमै रोकिने थियौं।’ तैपनि निरन्तर भोगिरहनुपर्ने बन्दका आयोजकलाई उनको सुझाव छ, ‘निमुखाका मुखमा माडै बन्द हुने गरी यस्ता बन्द कृपया नगरिदिनुहोस्। आन्दोलनका अरू उपाय अपनाउनुहोस्। सरकारसँग लड्ने भए सरकारलाई नै सताउनुहोस्। सर्वसाधारणलाई सताएको सरकारले कहिल्यै देख्दैन।’
०००
रामेछापको एउटा ठिटो २० वर्षअघि कामको खोजीमा राजधानी छिर्यो। ड्राइभिङ सिक्यो। हजार जनाभन्दा बढी कर्मचारी भएको नाम चलेको कम्पनीमा चालकको काम पायो। त्यस दिन ऊ खुब रमायो। अब जिन्दगीले काँचुली फेर्यो भनेर फुर्किनु फुर्कियो। तिनै व्यक्ति थिए मकर।
प्रायः राति कर्मचारी छोड्ने ड्युटी पथ्र्यो उनको। राजधानीका गल्ली–गल्ली हरेक रात कम्तीमा चार फन्का लाउँथे। न आँखा झिमिक्क पार्ने समय हुन्थ्यो, न जीउ टुसुक्क अड्याउने। तर पनि कम्पनी गतिलो। जागिर स्थायी। श्रमको सुरक्षा देखेका थिए उनले। रमाएर जागिर खाइरहेका थिए। दिउँसो केही घन्टा सुत्थे, खुसीसाथ रात कटाउँथे।
संविधान कलिलै छ, त्यससँगै जन्मिएको मकरको माइक्रो थोत्रो भइसक्यो। तल्लो वर्गको हितमा छ भनिएको संविधानले मकर र मकरजस्ताका पेसाको सुरक्षा, खोई अझै दिन सकेन।
अचानक कम्पनीमा मजदुर आन्दोलन चल्यो। निम्न पदीयहरूको हितमा आवाज गुन्जियो। त्यसको पछिल्लो लाइनमा मकर पनि देखिए। मालिक–मजदुर द्वन्द्व बढ्यो। आन्दोलनको नेतृत्व गर्नेहरू कोही मालिकसँग भिडेर, कोही मिलेर झन् माथि पुगे। मकर र मकरजस्ता केही पछौटेचाहिँ बलिका बोका बनाइए।
पत्नी सिकिस्त बिरामी थिइन्। शल्यक्रिया गरिएको थियो। त्यही ‘मौका’ प्रयोग गरेर कम्पनीले उनलाई जिल्लातिर सरुवा गरिदियो। पुग्दो ड्राइभर भए ठाउँमै उनलाई खटाउनुकै एउटै नियत थियो पक्कै छोड्छ भनेर। परिवार लिएर जान पनि नसक्ने, छोडेर जान पनि नमिल्ने बाध्यता थियो उनको। केही दिन गए पनि। पत्नी स्याहार्ने कोही भएन। अन्ततः राजीनामा दिए। आफूले जानेको सीप मिल्दो व्यवसाय ट्याक्सी चलाउन थाले।
काठमाडौंमा ट्याक्सी पेसा झन् ‘दुःखी’ देखे। दिनभरि कुदायो, कहिले त सुको नबच्ने। कुनै–कुनै ट्याक्सीले यात्रुलाई सताएर त्यसमाथि इज्जत बिगारेका। दुई वर्ष टिक्न हम्मे पर्यो उनलाई।
अनि, किने माइक्रोबस।
०००
हो, त्यही माइक्रोबसको स्टेरिङमा हात र जोखिमतिर मन घुमिरहेको थियो हिजो उनको। हिजो त उदाहरण मात्र हो। यसैगरी त्रस्त यात्रा निरन्तर गरिरहेको तीन वर्ष पुग्यो। देशमा नयाँ संविधान आएको त्यति नै वर्ष पुग्यो। संविधान कलिलै छ, त्यससँगै जन्मिएको मकरको माइक्रो थोत्रो भइसक्यो। तल्लो वर्गको हितमा छ भनिएको संविधानले मकर र मकरजस्ताका पेसाको सुरक्षा, खोइ अझै दिन सकेन।
‘सिन्धुलीमा सप्तकोसी यातायातको माइक्रो सिसा फुटाइएको अवस्था देखें’, हिजोको बन्दको दृष्टान्त कहे उनले, ‘त्यसले मलाई पनि चस्स गर्यो। जब–जब चोक पुग्थें, भीडभाड देख्थें, त्यही फुटेको सिसा तर्साउन आइपुग्थ्यो।’
माइक्रोबस मकरको परिवारको प्यारो सदस्य हो। जागिर यही। व्यापार यही। चामल यही। ग्यास यही। बालबच्चाको पढाइ धान्ने साथी यही। जब यो माइक्रो थचक्क बस्छ, घरमा ग्यास बल्दैन। स्कुलबाट शुल्कको लामो बिल आइपुग्छ। किन अरू बुझ्दैनन्– उनलाई बाँच्न उनको माइक्रोबस चलिरहन दिनुपर्छ। के बिगार्यो त्यसले र बेलाबेला अवरोध झेलिरहनुपर्छ ? कि मकरले केही बिगारे कसैको ?
तर पनि उनी कसैसँग चित्त दुखाउँदैनन्। कष्टको प्रतिबिम्ब काममा उतार्दैनन्। अरूको रिस यात्रुसँग फेर्दैनन्। सधैं हाँसेर बोल्छन्। त्यही गुनका कमाइ हुन् उनका यात्रु। न उनको कार्यालय छ। सम्पर्ककै भरमा भरिन्छ दैनिक गाडी।
तर समस्या एउटै छ– कति बेला, कसले, कहाँ रोकिदिने हो ?
०००
साँझ ५:३९ मा उनको फोन आयो। खुसीको सास फेर्दै भने, ‘ल, सर म सकुशल धरान आइपुगें।’
अनि मेरो लेख टुंगियो।