मेसीको कीर्तिमानी ह्याट्रिक
लन्डन : युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको आफ्नो पहिलो खेलमै फ्रान्सेली पावर हाउस पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिभरपुलसँग र इङ्लिस क्लब टोट्टनहामले इन्टर मिलानसँग झिनोअन्तरको पराजय बेहोरेका छन्। त्यसबाहेक मंगलबार रातिबाट सुरु भएको च्याम्पियन्स लिगको समूहगत चरणका अन्य खेलमा युरोपका ठूला क्लबहरूले स्वाभाविक जित हात पारेका छन्।
फ्रान्सेली लिग च्याम्पियन पीएसजी साबिक उपविजेता लिभरपुलसँग ३–२ गोलले पराजित हुन पुग्यो। टोट्टनहामले भने इटालियन टोली इन्टरसँग २–१ गोलको पराजय व्यहो¥यो। लिभरपुलको मैदानमा भएको खेलमा नेमार, केलियन एमबाप्पे, एडिन्सन काभानीजस्ता सशक्त खेलाडी लिएर उत्रिएको पीएसजीले आफ्नो प्रभाव देखाउन सकेन। टोलीको पराजयमा एमबाप्पेले गरेको एउटा गल्ती पनि घातक बन्यो।
खेल २–२ को बराबरीमा रहेको अवस्थामा एमबाप्पेकै गल्तीको फाइदा उठाउँदै लिभरपुलले निर्णायक गोल गरेको थियो। एमबाप्पेले बलमाथिको नियन्त्रण गुमाउँदा लिभरपुलका कप्तान जेम्स मिल्नरले सोही बल खोसेर भिर्जिल भान डिकलाई पास दिएका थिए। त्यसपछि भिर्जिलले सो बल अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्टो फर्मिनोलाई गोलका लागि उपलब्ध गराएका थिए। जितसँगै लिभरपुल आफ्नो पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक सुरक्षित गर्न सफल भयो।
त्यसअघि एमबाप्पेले टोलीलाई २–२ को बराबरीमा फर्काएका थिए। नेमारको छोटो पासमा गोल गर्दै एमबाप्पेले खेलको ८३औं मिनेटमा टोलीलाई बराबरीमा फर्काएका थिए। गत वर्षमात्रै क्लबमा ‘डेब्यु’ गरेका एमबाप्पेका लागि यो च्याम्पियन्स लिगको ११औं गोल बन्न पुग्यो। खेल सुरु भएको ३६औं मिनेटमै २–० ले पछि परेको पीएसजीका लागि खेलको ४०औं मिनेटमा थोमस मुनियरले पहिलो गोल फर्काएका थिए। त्यसअघि डानियल स्टुरिजले हेडमार्फत गरेको आकर्षक गोल र मिल्नरले पेनाल्टीको अवसर सदुपयोग गर्दै गरेको गोलमार्फत लिभरपुलले आफूलाई खेलको सुरुमै २–० ले अघि राखेको थियो।
यसैगरी इन्टर मिलानले आफ्नो मैदानमा भएको खेलको अन्तिम ६ मिनेटमा दुई गोल गर्दै बलियो प्रतिद्वन्द्वी टोट्टनहामसँग महत्वपूर्ण तीन अंक खोस्यो। १–० ले पछि परेको अवस्थामा कप्तान माउरो इकार्डीले भली सट्मार्फत आकर्षक गोल गर्दै इन्टरलाई १–१ को बराबरीमा फर्काउँदा ६४ हजारभन्दा बढी घरेलु दर्शकले खुसीयाली मनाएका थिए।
त्यसपछि खेल सकिन मात्रै केही सेकेन्ड बाँकी रहँदा माटियस भेसिनोले हेडिङ गोल गर्दै टोलीको जित २–१ ले पक्का बनाएका थिए। खेलको अन्तिम केही सेकेन्ड सम्हालिन नसकेको टोट्टनहामका लागि भने पराजय निकै पीडादायी रह्यो। खेलमा टोट्टनहामले ५३औं मिनेटमै १–० को अग्रता बनाएको थियो। क्रिस्टियन इरिक्सनले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडसहित जर्मन क्लब बोरुसिया डर्टमन्ड र टर्किस क्लब गालातसारेले पनि जित हात पारेका छन्। लियोनल मेसीको कीर्तिमान ह्याट्रिक गोलमा बार्सिलोनाले नेदरल्यान्ड्सको टोली पीएसभी आइन्डओभनलाई ४–० ले हरायो। घरेलु मैदान क्याम्प नोऊमा टोलीलाई महत्वपूर्ण जित दिलाउने क्रममा मेसीले च्याम्पियन्स लिगमा करिअरकै आठौं ह्याट्रिक पूर गरे। बाँकी एक गोल ओस्मान डेम्बेलले गरेका थिए।
एट्लेटिको म्याड्रिडले भने फ्रान्सेली क्लब मोनाकोमाथि २–१ गोलको जित हात पा¥यो। जर्मन क्लब डर्टमन्डले बेल्जियमको टोली क्लब ब्रुगलाई १–० र गालातसारेले रुसी क्लब लोकोमोतीभ मस्कोलाई ३–० गोलले हराए। इटालियन क्लब नापोली भने सर्बियाको टोली क्रेभ्ना भेज्दासँग गोलरहित बराबरीमा रोकियो। जर्मन क्लब साल्के र पोर्चुगलको एफसी पोर्टोले १–१ गोलको बराबरी खेले।