ओलम्पिक आयोजनामा दुई कोरियाको संयुक्त दाबी
सोल : राजनीतिक कारणले लामो समयदेखि आपसमा मिठासपूर्ण सम्बन्ध रहन नसकेको दक्षिण र उत्तर कोरियाले सन् २०३२ को ओलम्पिक खेलकुद आयोजनाका लागि संयुक्त रूपमा दाबी प्रस्तुत गर्ने भएका छन्। पछिल्लो समय यी दुई कोरिया खेलकुदको माध्यमबाट आपसी सम्बन्ध समधुर बनाउने प्रयासमा छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जी इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच प्योङयाङमा सम्पन्न बैठकमा दुवै कोरियाले संयुक्त रूपमा ओलम्पिक खेलकुद आयोजनाका लागि प्रस्ताव राख्ने सहमति भएको हो।
यसअघि गत अगस्टमा इन्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुद (एसियाड) मा यी दुवै कोरियाले आफ्नो संयुक्त खेल टोली पठाएको थियो। उक्त एसियाडमा दुवै कोरियाले आआफ्नो छुट्टाछुट्टै टोली र एउटा संयुक्त टोली सहभागी गराएको थियो। प्रतियोगिताको उद्घाटन र समापन समारोहमा भने दुवै कोरियाका खेलाडी र पदाधिकारीले संयुक्त रूपमा मार्चपास्ट गरेका थिए।
एसियाली खेलकुदमा दुवै कोरियाको संयुक्त टोलीले स्वर्ण पदक पनि जितेको थियो। सन् २०३२ को ओलम्पिक खेलकुद आयोजनाका लागि अन्य एसियाली राष्ट्रले पनि इच्छा व्यक्त गरेका छन्। उक्त ओलम्पिक आयोजनाका लागि चीन र भारतसँगै इन्डोनेसियाले पनि दाबी प्रस्तुत गर्ने भएको छ। यसैगरी अस्ट्रेलियाले पनि सन् २०३२ को ओलम्पिक आयोजनाका लागि दाबी गर्ने भएको छ।
दक्षिण कोरियाले यसै वर्ष शीतकालीन ओलम्पिक खेलकुद सफलतापूर्वक आयोजना गरेको थियो। यसअघि सन् १९८८ को गृष्मकालीन ओलम्पिक खेलकुद पनि दक्षिण कोरियाको सोलमा आयोजना भएको थियो। उत्तर कोरियाको एक लाख ५० हजार दर्शक क्षमताको ‘मे डे’ रंगशाला पनि विश्वकै सबैभन्दा ठूलो रंगशाला मानिन्छ। त्यसैले सन् २०३२ को ओलम्पिक आयोजनाका लागि यी दुवै कोरियासँग भौतिक पूर्वाधारको कुनै समस्या हुने छैन।
यसै वर्ष दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि यी दुवै कोरियाका खेलाडी र खेल पदाधिकारीले संयुक्त रूपमा मार्चपास्ट् गरेका थिए। उक्त ओलम्पिकमा यी दुवै कोरियाले आइस हकीको संयुक्त टोलीलाई मैदानमा उतारेका थिए।