एसिया कप क्रिकेट : भारतसँग हार्दै बाहिरियो हङकङ
दुबई : भारतसँगको पराजयसँगै हङकङ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। समूहगत चरणको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको हङकङ मंगलबार राति भएको खेलमा भारतसँग पनि २६ रनले हार्यो। हङकङ बाहिरिएसँगै समूह ‘ए’ बाट भारत र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८५ रन बनायो।
जवाफमा हङकङले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५९ रनमात्र बटुल्न सक्यो। जित सम्भव नभए पनि हङकङले यही प्रदर्शनमार्फत आफूसँग विश्व क्रिकेटका ठूला टोलीलाई समेत चुनौती दिन सक्ने क्षमता रहेको प्रमाणित गरेको छ। आफूभन्दा निकै अनुभवी टोली भारतविरुद्ध हङकङले बल, ब्याट र फिल्डिङ तीनै पक्षमा सशक्त प्रदर्शन गरेको थियो। यद्यपि भारतका लागि ब्याटिङतर्फ शिखर धवन तथा बलिङतर्फ युजभेन्द्र चाहल र खलिल अहमदको प्रदर्शन हङकङको पराजयमा मुख्य कारण बन्यो।
धवन एक्लैले एक सय २७ रनको शतकीय योगदान पुर्याए भने बलिङतर्फ युजभेन्द्र र खलिलले तीन÷तीन विकेट लिए। धवनले एक सय २० बलमा दुई छक्का र १५ चौकाको मद्दतमा शतकीय पाली खेलेको थिए। त्यसबाहेक अम्बाटी रायदुले ६० रनको जोडेका थिए। हङकङका लागि भने ब्याटिङतर्फ प्रारम्भिक ब्याट्सम्यान निजाकत खानले ९२ र र कप्तान अंशुमन रथले ७३ रनको योगदान गरेका थिए।
निजाकत र अंशुमनले अनुभवी टोलीविरुद्ध पनि टिकेर जिम्मेवारीपूर्ण ब्याटिङ प्रदर्शन गरेका थिए। उनीहरूले पहिलो विकेटका लागि एक सय ७४ रनको साझेदारी गर्दा हङकङ महत्वपूर्ण जिततर्फ अग्रसर देखिएको थियो। यद्यपि उनीहरू आउट भएपछि अन्य खेलाडीले हङकङको पाली सम्हाल्न सकेनन्। बाँकी खेलाडीले भारतका युजभेन्द्र र खलिलको बलिङ झेल्न नसक्दा हङकङ जित नजिक पुगेर रोकियो। त्यसअघि हङकङका किञ्चित शाहले पनि भारतको तीन विकेट लिएका थिए।