गोली प्रहारबाट सुनसरीमा एकको हत्या
इटहरी : सुनसरीको भुटाहामा गोली प्रहारबाट एकजनाको हत्या भएको छ। अज्ञात समूहको गोली प्रहारबाट खुर्सिद आलमको मृत्यु भएको हो। आलममाथि भारतीय समूहले गोली प्रहार गरेको स्थानीयले दावी गरेका छन्।
भुटाहा गाउँपालिकामा भारतबाट आएका चारजनाको समूहले बिहान करिब साढे ११ बजे शिक्षकमाथि गोली प्रहार गरेको स्थानीयले बताएका हुन्। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको कार्यालयले जानकारी दिएको छ।
गोली प्रहारबाट मृत्यु भएका ४५ वर्षीय आलम रैयान पब्लिक स्कुलका सञ्चालक हुन्।
घटनालगत्तै आइपुगेको प्रहरीले गोली प्रहार गर्नेहरूलाई पछ्याएको थियो। १० किलोमिटर पर बन्दुकधारीहरूले प्रहरीमाथि नै गोली प्रहार गरेर भागेका थिए। गोली चलाउने आदेश नभएको भन्दै प्रहरीले उनीहरूमाथि गोली प्रहार नगरेको बताइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।