सुनसरी गोली काण्ड : सुरक्षा दिन पुगेका प्रहरीलाई नै गोली लागेपछि..
धरान : सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा बिहीबार दिउँसो गोली चल्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते छन्।
भारतीय अपराधिले प्रहार गरेको गोली लागि स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको मृत्यु भएको हो । भारतीय नम्बर प्लेटको मोटर साइकलमा नेपाल आएका भारतीयले भुटाहा बजारमा आलमलाई तोकेर गोली प्रहार गरेका हुन्।
गोली लागि ढलेका आलमको घटना स्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।
गोलीको आवाज सुनेर घटनास्थल पुगेको भुटाहा प्रहरी चौकीको प्रहरी टोलीलाई समेत अपराधिक समूहले गोली प्रहार गरेको छ । भारतीय समूहको गोली लागेर प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन्। उनको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइराखेको छ ।
स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका संचालकसमेत रहेका आलम नेकपाका कार्यकर्ता हुन्। उनी गाउँमा भएको झैझगडा मिलाउन तथा सामाजिक काममा समेत अग्रसर भएर हिँड्ने भएकाले कसैले रिसिबि साँध्न हत्या गरेको आशंका गरिएको छ।
आलमका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले माग गरेका छन्। गोली हानी मोटरसाइकलमा भारतीय सीमातर्फ भाग्दै गरेका दुबैजना सुटरलाई घुस्कीमा रहेका प्रहरीले पक्रन खोज्दा प्रहरीलाई समेत गोली हानी उनीहरु भारततर्फ भागेको स्थानीयको भनाइ छ।
हतियार धारीको समूह भारतको सपौल जिल्लास्थित घुर्ना बजारतर्फ भागेका छन्। घटनापश्चात सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी नेतृत्वको टोली घटना स्थल पुगेको छ।
सीमा क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी हतियार धारीको समूहको खोजी भैरहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले घट्ना दुखद भएको बताउँदै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको बताएका छन्।