लीलाको त्यो प्रेम पत्र

लीलाको त्यो प्रेम पत्र

आजभोलि कसैको अगाडि प्रेमपत्रको कुरा गरियो भने कि त आश्चर्य मान्छन् कि त हाँसेर उडाउँछन्। अझ नयाँ पुस्ताको अगाडि त हाँसोको पात्र नै बनिन्छ। मोबाइल फोन, फेसबुक, म्यासेन्जर, भिडियो कलजस्ता माध्यमले प्रेमपत्र लेख्ने चलनलाई विस्थापित गरिदिएको छ। तर कुनै जमानामा प्रेमपत्रको ठूलो महत्व थियो। त्यस्तै बेलामा म पनि हुर्केकी हुँ। आजभन्दा लगभग २५ वर्ष अगाडिको कुरा सम्झिन्छु। त्यतिबेला म लगभग १२ वर्षकी थिएँ। गाउँकै स्कुलमा कक्षा ६ मा पढ्दैथिएँ। पढाइ सँगसँगै घर व्यवहार र खेतको पनि काम गर्थें। मेरो खेतमा काम गर्ने एकजना युवती थिइन्, लीला पासवान। उमेरले मभन्दा २—३ वर्षको जेठी थिइन्। तर दलित परिवारको भएकोले उनी कमै उमेरमा ज्याला मजदुरीको काम गर्थिन्। म पनि खेतमा काम गर्न जाँदा ऊसँग राम्रो दोस्ती भएको थियो।

एक दिन दिउँसोको घटना सम्झिन्छु।

उनी दौड्दै म कहाँ आइन्। अलिअलि डराएको र आत्तिएकी थिइन्।

मैले सोधें, ‘के भयो लीला ? किन यसरी आत्तिएकी ? ’

‘यहाँ होइन टालतिर जाऊँ, अनि भनुँला,’ उनले भनिन्।

मधेसमा परालको अग्लो थुप्रोलाई टाल भनिन्छ। गाईगोरुलाई खुवाउन घरभन्दा अलिक पर टाल जतन गरेर राखिएको हुन्छ। हाम्रो परिवारको टाल पनि यस्तै सुनसान ठाउँमा थियो। त्यतिबेला गाउँघरका महिलाहरूको लागि टाल एक प्रकारले सुरक्षित ठाउँ हुन्थ्यो। महिलाहरू सार्वजनिक ठाउँमा धक फुलाएर कुरा गर्ने अवस्था थिएन, खास गरेर नवदुलहीहरूलाई। त्यस्तोमा किसान परिवारका नवदुलहीहरूलाई छिमेकी महिलाहरूसँग भलाकुसारी गर्ने ठाउँ टाल सजिलो हुन्थ्यो। कतिपय युवायुवतीको लागि लुकिछिपी भेट्ने र प्रेमलाप गर्ने थलो पनि हुन्थ्यो टाल।

लीला र म टाल भएको ठाउँमा पुग्यौं। उनी यताउति हेरेर आपूmले लगाएको पेटिकोटको कुनाबाट एउटा कागजको खोस्टो निकालिन्। त्यतिबेला हाम्रो गाउँतिर दलित परिवारका अविवाहित युवतीहरू छोटो साइजको पेटिकोट र ब्लाउज लगाउथे। सायद मूल्यको हिसाबले सस्तो पर्ने भएर पनि होला। अलिक हुनेखाने घरका युवतीहरू कुर्तासुरुवाल लगाउँथे।

मैले सोधे, ‘के हो ? ’

‘चिठी।’

‘हिजो एउटा नातेदार मेरो घरमा पाहुना आएका थिए। उसैले ल्याइदिएको हो। आमाबुवाको डरले रातभरि कोठीमा लुकाएर राखेकी थिएँ। मलाई पढ्न आउँदैन, त्यसैले तिमी कहाँ आएकी हुँ। के लेखेको छ, पढेर सुनाइदेऊ न !’

घरभित्र चामल, गहुँ वा धान राख्ने माटोको भकारीलाई कोठी भनिन्छ। हरेक परिवारमा दुईचार वटा कोठी अवश्य नै हुन्थ्यो। घरको त्यस्तै कोठीमा लीलाले रातभर त्यो चिठी लुकाएर राखेकी थिइन्।

मलाई चिठी पढ्न आग्रह गरिरहँदा लीलाको आँखामा कौतुहल, आशा र त्रासको मि श्रण देख्न सकिन्थ्यो। उनी डराएकी र लजाएकी पनि थिइन्।

मैले सोधेँ, ‘यो चिठी कसले पठाएको हो ? ’

त्यसपछि उसले यसरी बेलिविस्तार लगाई। जेठ महिना मेरो फुपूको घरमा बिहे थियो। बिहेमा म पनि गएकी थिएँ। त्यहाँ आएको जन्तीमा एकजना सुनसरीको केटा पनि थियो। ऊ दुहबीको चकलेट फ्याक्ट्रीमा काम गर्छ रे। पैसा पनि रामै्र कमाउने गरेको सुनेकी छु। उसले मलाई मन पराए। मलाई पनि ऊ धेरै राम्रो लागेको छ। जन्ती फर्की सकेपछि पनि ऊ दुई दिनसम्म त्यहीँ गाउँमा बसेको थियो। हामीबीच दुई तीन पटक भेटघाट भयो। उसले मसँग बिहेको प्रस्ताव गरेको छ। म त लाजले बोल्नै सकिनँ। केही नबोली टाउको निहुर्‍याइँ मात्र रहेँ। फेरि सोचेँ हाम्रो जात पनि मिल्छ। ऊ पढेलेखेको पनि छ, जागिर पनि गर्छ। मलाई रामै्रसँग पाल्न सक्छ होला। अनि मैले पनि हुन्छ भनिदिएँ तर घरमा बुवाआमाले मानेको खण्डमा मात्र हाम्रो बिहे हुन सक्छ पनि भनिदिएँ। हामीबीचको प्रेमबारे मेरो फुपूलाई मात्रै थाहा छ। मेरो घरमा चिठी आएको कुरा थाहा पाए भने मेरो बुवाले मलाई मारेर फालिदिन्छन्। त्यसैले लुकीलुकी तिमीकहाँ आएँ।

चिठी खोलेँ। चिठी हिन्दी भाषामा लेखिएको थियो। यसअघि मैले कहिल्यै प्रेमपत्र पढेको थिइनँ। सलमान खानको ‘मैने प्यार किया’ फिल्ममा कबुतर जा जा भन्दै चिठी पठाएको एउटा गीत हेरेकी थिएँ। मैले उसको चिठी पढेर सुनाइदिएँ। ऊ पत्र सुन्दै मुस्कुराई रही।

लीला म कहाँ आफ्नो गोप्य चिठी लिएर आउनु उसको आफ्नै विवशता थियो। मेरो गाउँमा त्यतिबेला छोरीलाई पढाउने चलन थिएन। कसैकसैले नाम, ठेगाना लेख्न र चिठी लेख्न÷पढ्न सक्नेसम्म बनाउन मात्रै पढाउँथे। त्यो पनि उच्च जातको र धनी परिवारकाले। त्यस्तो बेलामा एउटा गरिब र दलित परिवारको युवती स्कुल जाने कल्पनाभन्दा परको कुरा थियो। खाने खेल्ने उमेरमै दैनिक गुजाराको लागि खेतमा काम गर्नुपर्ने बाध्यता थियो।

लीलाको चिठी पढेर सुनाएपछि उसले त्यसको जवाफ लेखिदिन आग्रह गरी। मैले प्रेमपत्र कहिले लेखेकी थिइनँ। तै पनि उसको आग्रहलाई स्वीकार गरी लेख्ने प्रयास गर्ने वाचा गरेँ। चिठी भोलिसम्मै लेख्नुपर्ने थियो। किनभने उसको नातेदार भोलि नै जानेवाला थियो, जसले उसको चिठी लिएर जान्थे। म घरमा गएर चिठी लेख्ने प्रयास गर्न थालँे। मलाई चिठी लेख्न धेरै गाह्रो भएको थियो। धेरै समय लाग्यो। जसोतसो एक पाना हिन्दीमा लेखिदिएँ।

भोलिपल्ट लीला फेरि आई। हामी फेरि टालमा गयौँ। उसलाई चिठी पढेर सुनाइदिएँ। उसले भनी, ‘म अनपढ के जान्नु ? तिमीले ठीकै त लेखेकी होला,’ भन्दै चिठी लुकाएर पेटिकोटको कुनामा चेप्दै घरतिर लागी।

यो क्रम लगभग ६ महिना जति चल्यो। अर्को वर्ष लीलाको त्यही केटासँग बिहे भयो। उसको बिहेको लगभग १० वर्षपछि सुनसरीको दुहवीमा एक दिन अचानक लीलासँग भेट हुन पुग्यो। दुहवीको तरकारी बजारमा तरकारी किन्न जाँदा कसैले ‘दिदी’ भनेर बोलाएको जस्तो लाग्यो। फर्केर हेर्दा त उही लीला रहिछे। त्यतिबेला म पनि दुहवी अस्पतालमा नर्सको जागिरे थिएँ। लीला दुई बच्चाकी आमा बनी सकेकी रहिछ। श्रीमान्सँगै ऊ पनि त्यही फ्याक्ट्रीमा काम गर्न थालेकी सुनाइ। हामी पुरानो चिठीको कुरा सम्झेर एकछिन मज्जाले हाँस्यो।

लीलाको त्यो प्रसंग अहिले सम्झँदा आश्चर्य लाग्छ। गाउँकी एउटा अशिक्षित दलित युवतीले त्यो बेला प्रेम गर्ने र विवाह गर्ने आँट कसरी गरेकी होली ? त्यतिबेला ग्रामीण समाजमा पुरुषलाई पनि प्रेम गर्ने वा आफ्नो इच्छाअनुसारको बिहे गर्ने हत्तपटि आँट हुँदैथ्यो। मधेसी समुदायका अन्य जातमा पनि बिरलै कुनै युवायुवती स्वेच्छाले विवाह गर्थे। कसैले यस्तो प्रयास गरेमा ग्रामीण समाजमा कठोर सजाय दिइन्थ्यो। गाउँमा ठूलाबडाहरूले पञ्चैती गर्थे। जातीय मान्यजनदेखि भद्र भलादमीहरूको ठूलो जमघट हुन्थ्यो।

तर आज गाउँघरमा पनि कति धेरै परिवर्तन आइसकेको छ। गत वर्ष म आफ्नो गाउँ जाँदा दलित बस्तीमा पनि पसेकी थिएँ, जहाँ कुनै समय लीला बस्थिन्। त्यस बस्तीका युवतीहरूको हातहातमा मोबाइल देखेँ। घरघरमा टेलिभिजन सेट थियो। त्यहाँ बालबालिकाहरू उल्लेख्य संख्यामा स्कुल जान थालेका छन्। अब कुनै लीलालाई आफ्नो गोप्य चिठी अरूसँग पढाउने बाध्यता छैन मेरो गाउँमा। निश्चय पनि पत्रको ठाउँ मोबाइल, इमेल, फेसबुक वा म्यासेन्जरले लिएको छ। अचेल त गाउँघरका युवायुवतीहरू पनि फेसबुकबाट जोडी खोजेर प्रेमविवाह गरेको सुन्छु। हरेक गाउँ, हरेक जातमा प्रेमविवाह गर्नेको संख्या दिनानुदिन बढ्दो छ। समय कति चाँडै परिवर्तन भएको !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.