यसरी बदलिँदै छ राउटेको जीवनशैली
जंगलको बस्तीभन्दा केही माथि उक्लिँदै थिए उनी। बाटामा भेटिएका स्थानीयवासीसँग गाउँपालिका अध्यक्षलाई फोन लगाइदिन आग्रह गरे। फोनमा भने, ‘हेला ! म महामुखिया बोलेको, मेरा जनताको सबै व्यवस्था गर्नुपर्छ। यहाँ बस्तीमा चामलसमेत छैन, अब तपाईंले सहयोग गरिदिनु पर्यो।’
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेका महामुखिया सूर्यनारायण शाहीले फोनबाटै थपे, ‘मेरो जनतालाई भोकै मर्न दिनुभएन, अब हजुरले चामल र खानेकुरा सहयोग गर्नुपर्यो।’ हाल दैलेखको गुराँस गाउँपालिका–८ स्थित जंगलमा बस्दै आएको राउटे बस्तीमा जब कुनै समस्या पर्छ, तब महामुखिया सूर्यनारायण शाही यसरी नै फोनमार्फत सहयोगको खोजी गर्छन्।
त्यतिमात्र होइन, उनी गाउँलेसँगै मोबाइल मागेर आफूहरूले पाउने सामाजिक सुरक्षा भत्ताका बारेमा पनि बारम्बार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग जानकारी लिन्छन्।
केही वर्ष अघिसम्म राउटेहरू पैसा छुँदा पनि पाप लाग्छ, भन्ने मान्यता राख्थे। समुदायमा घुलमिल हुँदैनथे। तर, कर्णाली प्रदेशका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सोच अहिले बदलिएको छ। समुदायमा घुलमिल हुने मात्र होइन, उनीहरूले आधुनिक प्रविधि प्रयोग गरेर आफूलाई रुपान्तरण गर्न थालेका छन्।
जंगली जनावरको सिकार र काठका सामग्री बनाएर गुजारा चलाउने यो समुदाय विस्तारै पशुपक्षी पालनमा समेत जुट्दै छ। कुखुरा र बाख्रा पालन उनीहरूको रोजाइमा परेको छ। अपरिचित मान्छेसँग बोल्नु हुँदैन भन्ने मान्यता राख्ने राउटेहरू हिजोआज फोनबाटै जनप्रतिनिधि र सामाजिक अगुवासँग आफ्ना समस्या निर्धक्क राख्न थालेका छन्। सामाजिक सुरक्षा भत्ता समयमै वितरण नहुँदा पनि हिसाब खोज्न थालेका छन्।
‘परिवर्तन विस्तारै हुँदै जान्छ। मेरा जनताले पनि बुझ्न थालेका छन्’, महामुखिया सूर्यनारायण शाही भन्छन्, ‘अहिले नै गर भन्दा जनता रिसाउँछन्, उनीहरूलाई विस्तारै बुझाउँदै जानुपर्छ। पहिला भन्दा त फेरिएको छ नि, राउटे समुदायमा हरेक विषयको अन्तिम निर्णय मुखियाले नै गर्छन्। राउटेका पूर्वमुखिया महिनबहादुर शाही भन्छन्, ‘अब समय पहिलेजस्तो छैन, पुरानै अवस्थामा रहन मुस्किल छ। हामीले अब समाजमा मिलेर बस्नुपर्ने हुन्छ।’ उनले अब नयाँ पुस्तालाई शिक्षाको व्यवस्था गर्नुपर्नेसमेत बताए। उनी भन्छन्, ‘एकैचोटि स्कुल जान पनि सम्भव छैन, बिस्तारै बानी पर्दै जान्छ।’
सामाजिक रुपान्तरणमा राउटेले छलाङ मार्न थालेका छन्। बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गराउन थालेका छन्। चोटपटक लाग्दा घाउमा माटो हाल्ने उनीहरू औषधिमा विश्वास गर्न थालेका छन्। ‘विस्तारै परिवर्तन हुँदै जाला’, शिरको टोपी मिलाउँदै राउटे युवा दिशबहादुर शाहीले भने, ‘मुखियाले चप्पल पनि लगाउन दिँदैनथे। अहिले चप्पल लगाउन थालेका छौं। अब स्कुल जाने दिन पनि आउला।’ आफ्नै मातृभाषा मात्र बोल्दै आएका उनीहरूले पछिल्ला दिनमा नेपालीसमेत बोल्न थालेका छन्। त्यतिमात्र होइन, गाउँलेसँगै नाच्न पनि थालेका हुन्।
सरकारी परिचयपत्र स्वीकार
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र स्वीकार गरेका छन्। हालसम्म कुनै पनि सरकारी परिचयपत्र लिन नमानेका उनीहरूले स्थायी बासिन्दाको परिचयपत्र भने ग्रहण गरेका हुन्।
राउटेले अबदेखि जंगलमा फिरन्ते जीवन नबिताउने र स्थायी रूपमा बस्ने प्रतिबद्धता जनाएपछि दैलेखको गुराँस गाउँपालिकाले उनीहरूको पहिचान खुल्ने गरी स्थायी बासिन्दाको परिचयपत्र दिएको छ। हाल गुराँसमा ४२ घरका एक सय ४९ जना राउटे बसोबास गर्दै आएका छन्। उनीहरूलाई स्थायी ठेगाना, जन्ममिति र परिवारका सदस्यसमेत खुलाइएको सरकारी परिचयपत्र उपलब्ध गराइएको छ। यही परिचयपत्रका आधारमा उनीहरूलाई सेवासुविधा उपलब्ध गराइने छ।
नयाँ पुस्ताको पढ्ने रहर
राउटे समुदायमा हालसम्म कसैले पनि औपचारिक शिक्षा लिएका छैनन्। यद्यपि पछिल्लो पुस्ताले भने पढाइप्रति रहर गर्न थालेको छ। बस्तीमा भेटिएका २० वर्षीय राउटे दीपक शाहीले भने, ‘जंगलमा बस्ने मान्छे कसरी स्कुल जानु ? अब नपढेको मान्छेलाई जागिर पनि मिल्दैन।’ दीपकले आफ्नो पढ्ने रहर सुनाइरहँदा उनका बाबु भने नि:शब्द थिए। छोराको पढ्ने रहर पूरा गरिदिने सामथ्र्य उनीसँग थिएन।
दीपक प्रतिनिधि पात्र मात्र हुन्। राउटे समुदायमा पछिल्लो पुस्ताले पढ्ने रहर गर्न थालेको छ। पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान नपाएका दीपकले थपे, ‘अब हामीले पनि पढ्नुपर्छ, नपढे जागिर पनि पाइँदैन।’ दीपकले आफ्नो मुखिया बन्ने योजनासमेत सुनाए। उनले भने, ‘रहर भएर मात्र के गर्नु ? मुखियाले नमानेपछि कसैको केही चल्दैन। अब विस्तारै मुखिया बन्नेछु, म मुखिया बनेर बस्तीका सबैलाई पढाउनेछु।’
एकीकृत बस्तीको योजना
राउटेहरू रुपान्तरणको पक्षमा देखिएपछि प्रदेश सरकारले उनीहरूलाई एकीकृत बस्ती बसाल्ने तयारी गरेको छ। राउटेहरू स्थायी रूपमा बस्ने विषयमा नरम बनेपछि प्रदेश सरकारले एकीकृत बस्ती बसाल्ने योजना अगाडि सारेको हो। सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले राउटेका लागि विस्तारै एकीकृत बस्ती बसाल्ने योजनामा प्रदेश सरकार रहेको बताइन्। उनले भनिन्, ‘राउटेमा रुपान्तरणको तीव्र चाहना छ, राउटेहरू परिवर्तन हुन तयार छन्, हामी अब एकीकृत बस्ती बसाल्ने तयारीमा छौं।’
राउटेलाई राज्यको मूलधारमा ल्याउन आफूहरू लागिपरेको बताउँदै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने, ‘राउटेहरू पहिले जस्ता छैनन्, रुपान्तरण हुँदैछन्। हामीले स्थायी बासिन्दाको प्रमाण दिएका छौं, अब उनीहरू फिरन्ते रहेनन्।’ राउटेको निगरानी र शिक्षाका लागि गाउँपालिकाले तीन कर्मचारी खटाएको छ। असुरक्षित बसोबास, खाद्य संकट र उपचार नपाएर राउटेको संख्या घट्दै गएको छ। उनीहरूको संरक्षण र रुपान्तरणका लागि प्रयास जारी राख्ने अध्यक्ष वलीले जनाए।