‘पूर्णबहादुरको सारंगी’मा भेटिएकी आमा

‘पूर्णबहादुरको सारंगी’मा भेटिएकी आमा

धेरैले आँसु खसालेका भिडियो सामाजिक सञ्जालमा देखेकाले हलमा जानुअघि नै चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पक्कै असरदार छ भन्ने लागेको थियो। त्यसैले हलसम्म डोहोर्‍यायो पनि। चलचित्र हेर्न हलमा पुगेपछि धेरैले झैं मैले आँसु त खसालिनँ तर जीवन्त अभिनय पाएँ। कथाजस्तै तर कथामा नसमेटिएको आफ्नै जीवनसँग जोडिएका केही घटनाक्रमले भने अहिलेसम्म प्रभाव छाड्न सफल भएको पाएँ। यसैले लेख्न झक्झक्यायो।

चलचित्रको कथा प्रभावशाली भएकै कारण पनि हुनसक्छ, यसले सबैलाई लोभलाग्ने व्यापार पाउन पनि सफलता पायो। तर, प्रभावशाली भनिए पनि चलचित्रको कथाले उजागर नगरेको एउटा पाटो पूर्णबहादुरकी पत्नीको भूमिका किन गौण बन्यो भनेर आलोचना पनि भएको छ। नेपालमा बालबच्चाको जन्मदेखि लालनपालन र शिक्षादीक्षामा अझ बढी भारी बोक्ने व्यक्ति आमा नै हुन्। तर, त्यसबारे चलचित्रले केही बोलेको छैन। पूर्णबहादुरकी पत्नी दृश्यमा नदेख्दा कतिपय दर्शकमा खल्लोपन हुनु अस्वाभाविक होइन। हुन त कथा हेर्दा अर्को सिक्वेलमा ती विषय अटाउने हुन् कि जस्तो पनि लाग्छ।

चलचित्रले घटनाको कुनै पाटोलाई मात्र देखाउने पनि गरेका पाइन्छ। सायद त्यो पनि कारण हुन सक्छ। खैर त्यतातिर म लागिनँ। अब भने कथाले नबोलेको कथाजस्तै गरी महिला पात्रले भोगेको अनि आफूले देखेको कथाबारे लेख्ने जमर्को गर्दैछु। जसरी चलचित्रमा मुख्य पात्रले छोराको शिक्षामा उज्यालो भविष्य देखें। त्यसका लागि असह्य व्यक्तिगत कष्ट, सास्ती र खप्की सुनें अनि भोगें, त्यसैगरी जीवनमा अथाह गोता खेपेकी एक महिला पात्रबारे लेख्दैछु। धेरैको मन मुटु छोएर आँसु खसाल्न सफल पूर्णबहादुरले जस्तै सन्तानको शिक्षादीक्षा र उन्नतिका खातिर उर्वर जीवनका सबैथोक त्याग गरेकी पात्र मेरी आमा हुन्।

जसरी पूर्णबहादुरले पारिवारिक सुख र सहज जीवन त्याग्दै आफू रित्तो बनेर पनि सन्तानमा उज्यालो छर्नमा जीवन समर्पित गरे, त्यसैगरी मेरी आमा एक्लैले आफू, समाज, अभाव अनि संघर्षसँग जुधेरै कठिन मेहनतको बलमा एउटा युद्ध जितिन्। यो कथा चलचित्र पूर्णबहादुरको सारंगीभन्दा कम छैन। आफ्नै अभाव र कठिनाइबीच पनि एकल महिलाकै रूपमा बाँचेकी मेरी आमाले पूर्णबहादुरले जस्तै दुःखजिलो गरेर सारंगी रेटेर बगाएको पसिनाको कमाइले कष्टसाथ छोरालाई डाक्टर बनाएजस्तै गरी उनका दुई सन्तान छोरालाई अहिलेको अधिकांश मध्यमवर्गीय परिवारले दिनसक्ने स्तरको शिक्षाको ज्योति छर्न सकिन्।

तनहुँ गुणादीमा जन्मिएकी बसुन्धरा तत्कालीन धेरै नेपाली महिलाजस्तै पढ्ने उमेरमै बिहे गरी कसैको पत्नी र बुहारी बनेर लमजुङ जिता नयाँ घरमा प्रवेश गरिन्। माइतीमा छँदा धेरै पारिवारिक सदस्य भएका कारण भोगेको अभाव अनि छोरीलाई पढाउनु नपर्ने तत्कालीन सामाजिक मान्यता विद्यालय शिक्षाको मुखसमेत देख्न पाइनन्।

तर, माइतीमै बालसुलभ सुख भोग्न नपाएकी उनले थरसमेत बदलेर नयाँ घर प्रवेश गरे पछि झनै बढी कष्ट भोग्नुपर्‍यो। कसैकी पत्नी वा बुहारी त नाम मात्र हो, उनले आफूलाई त्यसको आवरणमा बँधुवा श्रमिकका रूपमा पाइन्। जसरी पनि पति र परिवारलाई खुसी बनाउनुपर्ने सामाजिक बन्धनबाट उनले विद्रोह गर्न सकिनन्। र, पनि भोक भोकै बगाएको पसिनाले भकारी भरिए पनि उनको त्यो योगदान परिवारका लागि पर्याप्त भएन। सासुको बुहार्तन र त्यसैको आडमा पतिको बदलिँदो व्यवहारपछि नातामा सबैभन्दा तीतो लाग्ने सौता उनले केही वर्षमै उपहार पाइन्।

एक्लो बुहारी हुँदा त बेखुस परिवार नयाँ कान्छी बुहारी पाएपछि उनीसँग झन् खुसी हुने कुरै भएन। तब उनले अब बँधुवा मजदुर नबन्ने निर्णय गरेर विद्रोह गरिन्, घर छाडिन्। आफूलाई जन्म दिएको घर माइती आइन्, सहारा खोज्दै। तर, एकातिर पराइकी भइसकेकी छोरीलाई बास दिँदा आइपर्ने अबगालका कारण माइती पहिलेको उनको घरजस्तो बनेन। एउटा विद्रोह थालेकी उनले अब अर्को विद्रोह पनि गर्ने अठोट गरिन्। उनले आफू आर्थिक रूपमा स्वतन्त्र नबन्दासम्म सामाजिक मान्यतालाई चुनौती दिन नसक्ने ठान्दै सीपबाट खार्ने अभियानमा कति भौंतारिइन्। माइतीमा बसेर भकारी भरिदिँदै गर्दा उनले आफ्ना लागि एउटा बाटो आफ्नै बर्कतले खोज्न सकिनँ किनभने उनी पति वा माइतीभन्दा बेग्लै स्वतन्त्र अस्तित्व प्रमाणित गर्न चाहन्थिन्।

अनेकौं ठक्कर खाएपछि उनले सरकारले भर्खरै थालेको महिला सीप विकास कार्यक्रमबाट सुइटर बुन्ने तालिम पाइन्। केही उदाहरणीय महिलाका लागि दिइने निःशुल्क मेसिन उनले तालिमका क्रममा देखाएको लगाव, मेहनत अनि सीपकौशलबाट प्रमाणित गरेपछि प्राप्त गरिन्। त्यसपछि उनले घर, माइती अनि आफन्तबाट त्यो विद्रोहको उपहारस्वरूप खेपेको तमाम वचन, खप्की, अपमानको मूल्य चुक्ता गर्ने अवसर पाइन्। आफूलाई प्रमाणित गर्न उनले फेरि पनि घर सम्हाल्दाजस्तै रातबिहान नभनी कर्म गरिरहिन्। त्यसैको बलमा आर्थिक सबलता प्राप्त गर्न थालेपछि उनको माइतीको मन फर्कियो। तर त्योभन्दा बढी आफूलाई सौतारूपी उपहार दिने पतिको।

बुहारी बनेर घर खाने परम्परामा ठक्कर खाँदा एउटा विद्रोह गरे पनि उनले माइतीले खेप्नुपर्ने अबगालबाट बचाउन भरमग्दुर प्रयास गरिरहेकै थिइन्। आर्थिक सबलताले उनलाई फेरि घरकै बाटो डोहोर्‍यायो। त्यसबीचमा उनले दुई छोरालाई जन्म दिइन्। तर, घर नजिकैको पृथक् अस्तित्व उनको कर्मका लागि बाधक नबने पनि दुई परिवार र नबदलिएका परिवारका कारण फेरि उनले घरको सेरोफेरोसमेत छाड्नुपर्ने अवस्था आयो।

तर, आफ्नो कर्मको नतिजाले विस्तारै दिएको आर्थिक स्वतन्त्रता अनि सामाजिक सम्मानका कारण उनलाई भर्खरै सहरको रूप पाउँदै गरेको ठाउँ दमौलीमा गएर व्यवसाय निरन्तरता दिने हिम्मत दियो। त्यसमा पूर्णबहादुरले छोराको भविष्य शिक्षामा देखेजस्तै उनले पनि आफ्ना दुई छोराको भविष्य पनि शिक्षामै देखिन्। अपठित भए पनि कष्टसाथ आफ्ना लागि चाहिने हिसाबकिताब राखेर त्यसैको बलमा आफ्नै कमाइमा बजारमा बिस्तारै जग्गा जोडिन्। तर, आफ्नै घर नहुँदा अस्तित्वमै आएको खतरा पनि उनले राम्रैसँग भोगिन्। निरन्तरको कर्मले कठिनाका साथ उनलाई बजारमा सम्मानित र सफल व्यावसायिक जीवन त दियो। तर उनको कमाइ सहरी आधुनिकता देखेका सन्तानलाई दिन पर्याप्त भने थिएन।

स्कुले पढाइ अभावमा आफूले भोगेको दुःख कम्तीमा सन्तानले नपाऊन् भन्नेमा सजग बसुन्धराले भोक लुकाएर, निद्रा हराएर भए पनि दुई छोरालाई गच्छेअनुसारको शिक्षादीक्षाका लागि धेरै गोता खाइन्। उनका संघर्षका यी कथाहरू सुन्ने धेरैको मन पक्कै भारी हुन्छ। सरकारी भए पनि दमौलीका त्यसबेलाको अंग्रेजी माध्यमको विद्यालय बालमन्दिर प्राविमा पोसाक अनि जुत्ताको कडा नियम थियो। जुत्ता फाट्दा चप्पल लगाएर गएको छोरा विद्यालय जान नपाएर घर फर्केपछि उनले उधारो मागेर छाकै कटाएरसमेत तिरिन्। उधारो किताब कापी दिने ठाउँमा बाबुले तिर्दिनँ भनेको छ, आमाले कसरी तिर्छे भन्ने साहुको वचनपछि आँसु टिलपिल गर्दै छोरो घर फर्केका उनको मन पक्कै भारी थियो होला। तर, लालनपालन र शिक्षादीक्षामा पतिको कुनै सहारा नपाए पनि हिम्मत हारेर होइन, जितेर उनले ती सबै बाधाहरू पार गरिन्। यसरी गन्तव्यको एउटा खुटकलोसम्म आफ्नै बलमा पुर्‍याउन सफल भइन्।

खर्च जोगाएर घरको ऋण तिर्न उनले बजारमै भए पनि खोलाको दाउराको सहारामा भोक मेटथन्। दाउरा खोज्दै गर्दा एकपटक मादीको भेलले बगाउँदा भगवान्ले किनारा नलगाएको भए सायद उनको कथाले पूर्णबहादुरजस्तै मोड सायद लिने थिएन होला। निष्ठासाथ मेहनत गर्‍यो भने भगवान्ले हेर्छन् भन्ने कुरामा विश्वास गर्ने उनले चलचित्रको अन्त्यमा पूर्णबहादुरको जस्तै नियति त भोग्नु परेको छैन। तर, आफूले पालेको सपनाको एउटा चरणले भने आकार पाएको छ। अनि चलचित्रकार नबने पनि उनका संघर्ष र भोगाइका किस्साहरू पूर्णबहादुर पात्रसरी नपाए पनि बसुन्धराले पनि आफू र आफ्ना वरपर सुन्ने र जान्नेबाट सम्मानभाव भने प्रशस्तै आर्जन गरेकी छन्। र, उनको संघर्ष भविष्यमा ‘बसुन्धराको सुइटर’ चलचित्रका लागि प्रेरक कथा भने अवश्य बन्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.