स्मृतिबिम्बमा संघर्षपूर्ण गाथाहरू

समीक्षा

स्मृतिबिम्बमा संघर्षपूर्ण गाथाहरू
सुन्नुहोस्

हरेक व्यक्तिका जीवनमा विगतका धेरै यादगर पल हुन्छन्। उद्धव सापकोटाले पनि आफ्ना विगत उजागर गरेर संस्मरणमा जीवनयात्रा पाठकसामु ल्याएका छन्। यो उनको जीवनीपरक निबन्ध संग्रह हो। यसैले होला यो भावनात्मक छ र सामाजिक विविधता उधिनेर लेखिएको छ। भोगाइका विभिन्न उल्लेख्य पल बाहिर्‍याइएको छ। यो झट्ट हेर्दा संस्मरण जस्तो पनि लाग्छ। सापकोटाको आत्मकथा पनि हो यो। उनले यसमा आफ्नो बाल्यकालदेखिको पारिवारिक अवस्था, आफू हुर्के, पढेको समाज, त्यहाँका प्रचलित मूल्यमान्यतालगायत भोगाइका यावत् शृंखला पाठकमाझ पस्केका छन्।

संस्मरणमा होस् या जीवनीपरक निबन्धमा होस्, आफूलाई ढाँट्ने छुट लेखकलाई हुँदैन, जुन भूमिका लेखकले निर्वाह गरेका छन्। बढाइचढाइ कतै केही छैन। आद्योपान्त सत्यताको सन्निकट भएर लेखेका छन् उनले। उतिबेलाको बत्तीमुनिको गाउँ परिवेशबारे जानकारी पर्याप्त दिएका छन्। आफू जन्मिएको गाउँ नेपालका ग्रामीण परिवेशको प्रतिनिधि गाउँ हो भन्ने बुझ्न पाठकलाई सहज पारिएको छ। बाँच्ने एउटा जिन्दगीमा पनि जीजिविषाले साथ छाड्दैनन्, पछ्याइरहन्छन्। यो गर्नुपर्छ, त्यो गर्नुपर्छ नत्र बाँच्न कठिन छ, त्यो हिजोको अभावले छ्याप्छ्याप्ती पारेको गाउँ दुःखद् दैनिकीको पृष्ठभूमि र त्यही पृष्ठभूमि झेल्दै तिनै अभाव र कठिनाइसँग जुध्दै आएको एउटा सकारात्मक भाव भएको उद्धव सापकोटाको केही समयका दैनिन्दिनीका कहानीको फेहरिस्त हो– संस्मरणमा जीवनयात्रा। 

१६ शीर्षकृत संस्मरण यस कृतिभित्र समावेश गरिएका छन्। २० वर्षको लेखकको उमेरमा आमा बितेको भन्दै भावुक भएर आमाको स्मरण गरेका छन्। म्याक्सिम गोर्कीको आमा उपन्यासकी पावेलकी आमासँग आफ्नी आमालाई तुलना गरेका लेखकले आमाको अभावमा परिवारले बेहोर्नुपरेका दुःखद् अवस्थाको चित्रण ‘आमा’मा गरेका छन्। मामाघर, गाईगोठ, घर र घरवरिपरिको वातावरणको सुन्दर चित्रण पनि उनले गरेका छन्। पहिलोपटक रेडियो सुन्दा अचम्मित भएको रमाइलो अनुभूति पनि बाँड्न लेखक कञ्जुस गर्दैनन्। तीन दाजुभाइ र चार दिदीबहिनीका धनी उनी धुलिमाटीमा आफ्नो जीवन कसरी बितेको थियो भन्ने रोचक अनुभव पनि राख्छन्।

आफू जन्मिएको थातथलोको भौगोलिक परिचय पनि दिएका छन्। वनझाँक्रीको कथा, उतिबेलाको बालमृत्युदरको डरलाग्दो अवस्था, आफ्ना वरिपरिका वनजंगल र त्यहाँ पाइने विभिन्न महत्वपूर्ण जडीबुटीबारे जानकारी, त्यहाँ बस्ने चराचुरुंगी र जनावर, जंगली फसल खाँदाको मज्जासमेत पाठकलाई बाँडेका छन् लेखकले। घरवरिपरि जुका लाग्ने हिजोआजको पुस्तालाई सुन्दा अनौठो लाग्ने कुरा बताउँछन्। खाना खाँदा धोतीपाटा फेर्ने, औसानी हाल्ने कुरा आजको पुस्तालाई अनौठो लाग्छ। उतिबेला समाजमा हुने श्रम संस्कृति, विषादीरहित अर्गानिक खानाको चर्चासमेत लेखकले गरेका छन्। हिजो र आजको तुलना उनको संस्मरणमा पाइन्छ।

आफू पढेको विद्यालय सम्झेर नोस्टाल्जिक हुने लेखक २० गाउँ बिहाबरका बालबालिका पढ्न आउने विद्यालय र आफूलाई पढाउने गुरु सम्झेर श्रद्धा गर्छन्। काठमाडौं सहर, कलेज पढ्ने रहरमा एसएलसी पास गरेपछिका कलेज जीवनका अनुभव सुनाउँछन्। आर्थिक दुरवस्थाले रुचिको विषय पढ्ने रहर मार्नु परेको थाहा पाइन्छ। कलेज पढ्दा पनि विभिन्न प्राइभेट काम गरेर पढेको उतिबेलाका ग्रामीण विद्यार्थीकै कथा यहाँ छ। भाउजू र आमाको एक महिनाको फरकमा निधन भएपछि पढाइ बन्द गर्नु परेको दुःखद् पाटोलाई पनि उनले भावुक भएर प्रस्तुत गरेका छन्। लेखकले नेपाली सेनामा भर्ती हुनु र जीवनसाथी चयन हुनुलाई जीवनको महत्वपूर्ण घुम्तीका रूपमा मानेका छन्। यसमा उनले कठोर अनुशासनसहित सेनाका क्याम्पभित्रका विभिन्न कुरा पाठकलाई जानकारी दिएका छन्। यसैबीच उनी २०५३ सालमा पहिलोपटक शान्ति मिसन लेबनान गएको विषय पनि पाठकसमक्ष प्रस्तुत गरेका छन्। मिसन जानुअघिका तयारी र लेबनानमा मिसनमा हुँदाका यावत् घटनाक्रम रोचक ढंगले पस्कन उनी सफल छन्।

उनल २०५२–२०६३ सालबीचको समयावधिलाई कालो अवधिको उपमा दिँदै तत्कालीन माओवादी सशस्त्र द्वन्द्व, सेना परिचालन, माओवादीभित्र हुने भौतिक कारबाहीका पक्ष र चन्दाआतंक, ठाउँठाउँमा विस्फोट, युवा पलायनताजस्ता कुरा उजागर गरेका छन्। यसैगरी राजवंश विनाश भएको रातमा तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरेको विषय आफूलाई पत्यार नलागेको र यो अफवाह रहेकोमा भ्रम नभएको आम नेपालीको भावना अभिव्यक्त गरेका छन्।

यसैगरी लेखकले सेनामा हुँदा भारतमा तालिम लिन जाँदा त्यहाँको रेडलाइट एरियामा पुगेको भोगाइलाई भन्दै रोचक ढंगले प्रस्तुत गरेका छन्। नेपाली मूलका मानिस भेट हुँदाका कुरा पनि बताएका छन्। भारतमा रेल्वेको विकास देखेर चकित परेका लेखक २०६४ सालमा शान्ति मिसनमा सुडान जाँदा त्यहाँ विश्व साइकलयात्री पुष्कर शाहसँग भेटेको प्रसंगलाई पनि महत्वका साथ प्रस्तुत गरेका छन्। पस्ने सहर, बस्ने रहरमा २०७२ सालको महाभूकम्प र त्यसको असरलाई तथ्यांकमा फेहरिस्त पेस गरेका छन्। यसमा महत्वपूर्ण डाटा समावेश गरेका छन्। शिक्षक पदिकको अनुभवमा उनले सेनामा तालिम दिने मौका पाएको जानकारी दिएका छन्। सुबेदार मेजर भएकोमा गर्व गर्ने उनले खाने मुखलाई जुँगाले छेक्दैन भन्दै पढ्ने चाहनालाई निरन्तरता दिएको बताएका छन्। यसमा कलेज मेटहरूसँग घोडेपानीसम्मको यात्रा गरेको रोचक यात्रा वृत्तान्त राखेका छन्। 

यसैगरी सेनाबाट अवकाश पाएपछि राजनीतिमा आकर्षित भएको, कुनै दलको जिल्लाको जिम्मेवारी निर्वाह गरेको र त्यहाँभित्रका गतिविधिबाट वितृष्णा पैदा भई थोरै समयमा बाहिरिएको प्रसंगलाई पनि यहाँ प्रस्तुत गरेका छन्। सेनामा झन्डै २० वर्ष सेवा गरेका लेखकले जीवन एक भोगाइ अनेक शीर्षक संस्मरणमा कसरी एसएलसी पास गरियो, यसअघि पनि परिवारबाट सेनामै जागिर गरेको विषयलाई पनि यहाँ प्रस्तुत गरिएको छ। उनले वर्निङ डिजायर्समा उल्लेख भएका कुरा पनि यहाँ राखेका छन्। 

गीतकारसमेत रहेका लेखकले नेपाली सेनाको अनुशासन र मर्यादामा रहेर सचेततापूर्वक कृति लेखेका छन्। लेखकले आफ्नो कृतिमा उतिबेलाको ग्रामीण नेपाली समाजको हुँदाखाने र हुनेखाने बीचको स्पष्ट विभाजन रेखा औंल्याएका छन्। स्मृतिबिम्बको आवश्यक प्रयोगले ४० को दशको ग्रामीण परिवेशको चित्र उतारिएको छ। आत्मश्लाघा प्रदर्शनदेखि कोसौं दूर छन् रचना। लेखकको जीवनको संघर्षपूर्ण गाथाहरू दिलले लेखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.