मैदानमा स्पेन, मनमा मेस्सी

विश्वकप २०२६

मैदानमा स्पेन, मनमा मेस्सी

सन् २०२६ को विश्वकपले फुटबलको शक्ति सन्तुलनमा युरोप र दक्षिण अमेरिकाबाहेकका महादेशहरूको उपस्थिति बलियो बन्दै गएको स्पष्ट संकेत दिएको छ।

अन्तर्राष्ट्रिय खेलकुदको कुम्भमेला फिफा विश्वकप २०२६ ले फुटबलको इतिहासमा नयाँ अध्याय कोर्दै विश्राम लिएको छ। पहिलो पटक ४८ राष्ट्र सहभागी यस महासंग्राममा कुल १०४ खेल सम्पन्न भए, जसले विश्व फुटबलको आयामलाई पूर्णतः फराकिलो बनाइदियो। उत्तर अमेरिकाका तीन राष्ट्र—अमेरिका, क्यानडा र मेक्सिकोका १६ भव्य सहरहरूमा आयोजित यो प्रतियोगिता केवल खेलकुदमा मात्र सीमित रहेन, जसले करिब ११ अर्ब डलरभन्दा बढीको कीर्तिमानी आर्थिक कारोबारसमेत गर्न सफल भएको प्रारम्भिक तथ्यांक छ।

अघिल्ला संस्करणभन्दा बढी टोली र धेरै खेल भएका कारण ५० लाखभन्दा बढी दर्शकले रंगशालामै पुगेर प्रत्यक्ष खेलको मज्जा लिए, जुन सन् १९९४ को विश्वकपपछिको सबैभन्दा ठूलो उपस्थिति हो। यसपटकको विश्वकपले केवल विजेताको मुकुट मात्र स्पेनलाई पहिराएन, बरु एसिया र अफ्रिकी राष्ट्रहरूको उदय, प्राविधिक विवाद र स्थापित स्टारहरूको बिदाइको साक्षीसमेत बन्न पुग्यो। यो प्रतियोगिता नतिजाका दृष्टिकोणले जति रोमाञ्चक रह्यो, सम्झना र विवादका हिसाबले त्यति नै अविस्मरणीय बनेको छ।

पहिलो खेलमै नवप्रवेशी केप भर्डेको झट्का

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमध्ये सबैभन्दा लामो खेलकुद प्रतियोगिताका रूपमा फिफा विश्वकप २०२६ हालै सम्पन्न भएको हो। तुलनात्मक रूपमा मेस्सी समर्थक नेपालीहरू असंख्य भएका कारण धेरैका लागि यो पटकको विश्वकप केही बेस्वादिलो महसुस भयो। खासमा फकल्यान्ड टापुको विषयलाई लिएर अर्जेन्टिना र इंग्ल्यान्डबीच लामो समयदेखि राजनीतिक चिसोपन छ। तर, नामुद इंग्लिस फुटबलर डेभिड बेकह्यामले नै मेस्सीलाई फकाइफुल्याइ मेजर सकर लिगमा आबद्ध गराइरहेको वर्तमान परिस्थितिमा नेपालीहरूले अर्जेन्टिनाको समर्थन गर्न हुन्न भन्ने तर्कमा कुनै तुक छैन।

यस विश्वकपमा स्पेनलाई सम्भावित दाबेदारका रूपमा मानिएको भए पनि त्यति प्रबल मानिएको थिएन। त्यसमाथि पहिलो खेलमै नवप्रवेशी केप भर्डेले बराबरीमा रोकेपछि त स्पेनले विश्वकप जितिहाल्ला भनेर कमैले सोचेका थिए। यद्यपि, कतार विश्वकप २०२२ मा पनि अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको थियो र आखिरमा मेस्सीकै नेतृत्वमा विश्वविजेता बनेको थियो भन्ने तथ्यलाई यहाँ बिर्सन मिल्दैन।

‘अन टार्गेट’ भर्सेस ‘जिरो एटेम्प्ट’

सन् २००८ देखि २०१२ सम्म भिसेन्टे डेल बोस्केले सफल बनाएको ‘टिकीटाका’ शैलीलाई लुइस डे ला फुएन्तेले परिमार्जित रूपमा अपनाएर यसपटक विश्वकप स्पेनको पोल्टामा पारे। यो उपलब्धिसँगै उनी युरो र विश्वकप दुवै जिताउने प्रशिक्षकहरू हेल्मुट सोन र भिसेन्टे डेल बोस्केको विशिष्ट सूचीमा समाहित भए। यस्तै, कीर्तिमान दक्षिण अमेरिकी कप (कोपा अमेरिका) र विश्वकप दुवै जित्ने प्रशिक्षकहरू मारियो जगालो, कार्लोस अल्बर्टो परेइरा र लियोनेल स्कालोनीको नाममा छ। 

त्यसो त फुएन्तेले यो उपलब्धि एकाएक प्राप्त गरेका भने होइनन्। उनले अधिकतर यिनै स्पेनी खेलाडीहरूको साथ लिएर लगभग प्रत्येक वर्षजस्तो उपाधि (२०१५ मा अन्डर–१९ युरो च्याम्पियनसिप, २०१९ मा अन्डर–२१ च्याम्पियनसिप, २०२३ मा यूइएफा नेसन्स लिग र २०२४ मा युरोकप) जित्दै आएका थिए। तर, यो पटकको अनौठो संयोग चाहिँ के रह्यो भने, फुएन्तेले स्पेनी जायन्ट क्लब रियल म्याड्रिडका एकजना खेलाडीलाई पनि टोलीमा राखेका थिएनन्। जबकि, कुनै समय यस्तो थियो— स्पेनी टोलीमा रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीहरूको हिस्सा आधा–आधा जस्तो हुन्थ्यो।

फुटबल समर्थकहरूले अपेक्षा गर्ने भनेको ‘हाइस्कोरिङ गेम’ वा दुवै टोलीले आक्रामक एवं ‘काउन्टर एट्याक’ युक्त प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरून् भन्ने हो। यो पटक स्पेनले उपाधि जित्दा धेरैलाई चित्त नबुझ्नुको एउटा कारण यो पनि हो। स्पेनले सेमिफाइनलमा फ्रान्सका केलियन एमबाप्पेलाई ६७ मिनेटसम्म बल छुनै दिएको थिएन। धन्न फाइनलमा मेस्सीको हालत त्यस्तो भएन। तथ्यांककै कुरा गर्ने हो भने स्पेनले फाइनलमा २० पोस्ट एटेम्प्ट गर्दा १२ वटा ‘अन टार्गेट’ थिए, जबकि अर्जेन्टिनाको ‘जिरो एटेम्प्ट’ र ‘जिरो अन टार्गेट’ रह्यो। स्पेनी गोलकिपर उनाई सिमोनको प्रदर्शन पनि उस्तै अभेद्य रह्यो। उनले सन् १९९० को विश्वकपमा इटालियन वाल्टर जेंगाले बनाएको ५१७ मिनेटको कीर्तिमानमात्र भंग गरेनन्, प्रतियोगिताभरिका ८ मध्ये ७ खेलमा ‘क्लिनसिट’ राख्न सफल भए। स्पेनले प्रतियोगिताभर खाएको एउटै मात्र गोल क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध थियो।

  • आप्रवासी खेलाडीहरूको जादु, युवा प्रतिभाहरूको उदय र ‘भीएआर’जस्ता प्रविधिको निर्णायक प्रभावले आधुनिक फुटबल अब केवल कला र रणनीतिमा मात्र सीमित छैन, यो तथ्यांक र प्रविधिमा पनि उत्तिाकै निर्भर छ भन्ने प्रमाणित गरेको छ।
  • फिफाले दाबी गरे झैं ‘फुटबलले विश्वलाई जोड्छ’ भन्ने भाष्य एक हदसम्म प्रमाणित भए पनि, भूराजनीतिक द्वन्द्व र बढ्दो व्यापारीकरणले खेलको मूल मर्मलाई भने चुनौती दिइरहेकै छ।
  • अन्ततः स्पेनको च्याम्पियन यात्रासँगै सकिएको यस संस्करणले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता दिग्गजहरूको स्वर्णिम युगलाई ससम्मान बिट मार्दै, लामिन यामालजस्ता नयाँ पुस्तालाई विश्व फुटबलको बागडोर औपचारिक रूपमै सुम्पिएको छ।

जब धेरै कीर्तिमान तोडेका मेस्सीले सिल्भर बलमै चित्त बुझाए

प्रत्येक ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा कीर्तिमान खडा हुने र तोडिने शृंखला चलिरहन्छ, तर यसपटक यो क्रम अचाक्ली नै भयो। जर्मन फुटबलर मिरोस्लाभ क्लोजको रेकर्ड भंग गर्नेमात्र होइन, मेस्सी र एमबाप्पेमध्ये कसले गोल्डेन बुट जित्ला भन्ने निर्णयका लागि अन्तिम खेलसम्मै पर्खिनुपर्यो। तेस्रो स्थानका लागि भएको हाइस्कोरिङ खेलकै कारण मेस्सीलाई केही अन्याय महसुस भयो। दोस्रो सर्वाधिक गोल, दोस्रो सर्वाधिक असिस्ट गर्ने, सर्वाधिक खेल खेल्ने, लगातार ९ गोल गर्नेमात्र नभई अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्‍याउने मेस्सीलाई उछिन्दै स्पेनी मिडफिल्डर रोड्रीले गोल्डेन बल हात पारे। यति धेरै कीर्तिमानहरू तोडेका मेस्सीले सिल्भर बलमै चित्त बुझाउनु पर्‍यो। यति भन्दै गर्दा रोड्री पनि जिउसेप्पे मेअज्जा, ओब्दुलियो भारेला, फ्रिट्ज वाल्टर, डिएगो म्याराडोना, लोथार म्याथ्युज, डुंगा र डिडिएर डेस्च्याम्पजस्तै विश्वकप जित्ने मिडफिल्डर कप्तान बनेका छन्।

अब एकछिन गोलको कुरा गरौं। यसपटक १०४ खेल भएका कारण कुल गोल संख्या (२९२) पनि बढी नै भयो। यसका अलावा सन् १९७० को विश्वकपपछिको सर्वाधिक औसत गोल (२.९६ प्रति खेल) यसैपटक सम्भव भयो। एकथरी फुटबल पण्डितहरूको कथन छ— यसपटक ३२ बाट ४८ टिम पुर्‍याइएका कारण बढी गोल हुन सफल भएको हो। यदि त्यसो हो भने, सन् २०३० को विश्वकपमा सहभागी टोली झन् धेरै हुँदा के होला ? यसपटक स्पेन र अर्जेन्टिनालाई केप भर्डेले, इंग्ल्यान्डलाई कंगोले र सेनेगलले बेल्जियमलाई आछुआछु पारेका थिए। इंग्ल्यान्ड र फ्रान्सबीच तेस्रो स्थानका लागि भएको खेल सन् १९५८ को विश्वकप (फ्रान्स र पश्चिम जर्मनीबीचको ६–३ गोल) पछिकै सबैभन्दा ‘हाइस्कोरिङ’ भयो।

जहाँ एकाएक गोल्डेन गोललगत्तै खेल...

एकै प्रतियोगितामा गर्ड मुलर (१९५८ मा १३ गोल) र सान्दोर कोसिस (१९५४ मा ११ गोल) ले जस्तै यो पटक एमबाप्पे (१० गोल) र मेस्सी (८ गोल)ले कीर्तिमान तोड्लान् कि भन्ने झल्को भने पक्कै देखाए। यस प्रतियोगितामा टर्कीविरुद्ध पाराग्वेका माथियास गार्सियाले खेल सुरु भएको केवल ५४ सेकेन्डमै निर्णायक गोल गरे। जोनाथन डेभिड, मेस्सी, ओसमाने डेम्बेले र बुकायो साकाले ह्याट्रिक गर्न सफल भए। चारवटा खेल गोलरहित बराबरीमा टुंगिए भने राउन्ड अफ १६ को स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेलमा १२० मिनेटसम्म पनि गोल ननिस्केपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको थियो।

सन् २०१० को विश्वकपमा स्पेनका आन्द्रेस इनिएस्टाले अतिरिक्त समय (११६औं मिनेट) मा गोल गरेजस्तै यसपटक फेरान टोरेसले १०६औं मिनेटमा गोल गरी स्पेनलाई दोस्रो पटक विश्वकपको ट्रफी उठाउन मद्दत गरे। विश्वकपका नकआउट चरणका खेलहरूभन्दा फाइनल खेल अतिरिक्त समयमा गएर टुंगिँदा पराजित टोली र त्यसका समर्थकहरूलाई कम्ता पीडादायी हुँदैन। सन् १९३४, १९६६, १९७८, २०१० र २०१४ का विश्वकप अतिरिक्त समयमा पुगेर तथा १९९४, २००६ र २०२२ का विश्वकप अतिरिक्त समयपछिको टाइब्रेकरबाट निर्णय भएका थिए। धन्न, फिफाले गोल्डेन गोलको नियम बेलैमा हटायो! नत्र युरो १९९६ मा जर्मनीविरुद्ध चेक रिपब्लिक र युरो २००० मा फ्रान्सविरुद्ध इटालीजस्तै विस्मात हुनुपथ्र्यो, जहाँ एकाएक गोल्डेन गोललगत्तै खेल सकिन्थ्यो।

यो प्रतियोगिताभरि ५७ जना प्रतिस्थापन खेलाडीले मैदानमा छिरेलगत्तै नतिजा उलटफेर पारिदिए। त्यसमा पनि पोर्चुगलविरुद्ध स्पेनका मिकेल मेरिनो र क्रोएसियाविरुद्ध पोर्चुगलका गोन्जालो रामोसले त खेल बराबरीमा जान लागेको अर्थात् हार्ने निश्चित भइसकेको बेला गोल गरी नतिजा आफ्नो अनुकूल बनाए। उमेर र फिटनेसका अलावा नयाँ पुस्ताका खेलाडीहरूको आगमनका कारण लामो समयदेखि चलिरहेको मेस्सी र रोनाल्डोको एकाधिकार अब तोडिएको छ। यो विश्वकपपछि मेस्सी र रोनाल्डो मात्र होइन, युरोपियन लिगहरूमा चर्चित धेरै फुटबलरहरूको लर्को नै पाखा लाग्ने निश्चित भएको छ। ह्यारी केन, हामेस रोड्रिग्वेज, केभिन डी ब्रुयन, रोमेलु लुकाकु, म्यानुएल नोएर, लुका मोड्रिच, साडियो माने, मोहम्मद सलाह आदि यसका उदाहरण हुन्।

विवाद ‘भीएआर’, ‘हाइड्रेसन ब्रेक’देखि अन्य राजनीतिक मुद्दामा
यस्तै व्यथा प्रशिक्षकहरूको पनि छ। पराजय वा प्रतियोगिताबाट आउट हुनेबित्तिकै जागिर चट् ! ट्युनिसियाले प्रतियोगिता दौरान नै आफ्ना प्रशिक्षक साब्री लामोचीलाई हटाई हार्भे रेनार्डलाई ल्याए पनि केही सीप लागेन। पराजयलगत्तै प्रशिक्षक पदबाट राजीनामा दिने शृंखला होङ म्युङ बो (दक्षिण कोरिया), रोबर्टो मार्टिनेज (पोर्चुगल), मार्सेलो बियल्सा (उरुग्वे), रुडी गार्सिया (बेल्जियम) हुँदै डिडियर डेस्च्याम्प (फ्रान्स) सम्म फैलियो। यद्यपि, इजिप्ट, अस्ट्रेलिया र स्पेनका साबिक प्रशिक्षकलाई भने अर्को विश्वकप वा क्षेत्रीय प्रतियोगितासम्म कायम राख्ने सुखद समाचार पनि आए।

२०२६ को विश्वकप यति कारणले मात्र होइन, ‘भीएआर’, ‘हाइड्रेसन ब्रेक’देखि अन्य राजनीतिक मुद्दाहरूका कारण पनि विवादास्पद बन्यो। मध्यपूर्वमा इरान र अमेरिकाबीचको राजनीतिक द्वन्द्वको बाछिटा खेल मैदानसम्मै पुग्यो। इरानी टोलीले प्रत्येक खेल अवधिका लागि मात्र अमेरिका प्रवेश अनुमति पाई क्यानडा नै फर्किनुपर्ने बाध्यता भोग्नुपर्यो। भीएआरमा आधारित विवादास्पद निर्णयका कारण इरान नकआउट चरण पुग्न पाएन। यस्ता मुद्दाका साथै बालोगनको रातो कार्ड फिर्ता गर्ने निर्णयमा आयोजक अमेरिकाको प्रभाव स्पष्ट देखियो। त्यसो त आयोजक देशहरू क्यानडा, मेक्सिको र अमेरिका राउन्ड अफ १६ बाटै बाहिरिनु प¥यो। विगतमा युरोपियन र दक्षिण अमेरिकी जायन्टहरूलाई छोड्ने हो भने मेक्सिको (१९७०, १९८६, २०२६), अमेरिका (१९९४, २०२६), जापान (२००२) र क्यानडा (२०२६) अधिकतम प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलसम्म पुगेका छन् भने दक्षिण कोरिया (२००२) ले चौथो स्थान हासिल गरेर सनसनी मच्चाएको थियो।

मेस्सी र शिशु अवस्थाका लामिन यामालबीचको पुरानो तस्बिरको चर्चा

यसपटक सकारात्मक पक्षहरू पनि देखिए। स्पेनसँगको पहिलो खेलमै केप भर्डेका गोलकिपर भोजिन्हाले ८ बचाउ तथा अर्जेन्टिनाविरुद्ध ७ बचाउ गरेर एकाएक भाइरल भए। त्यसो त फाइनल खेलमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले पनि ११ उत्कृष्ट सेभ गरेका थिए। तर, स्पेनका फेरान टोरेसले यसलाई ‘वन मिस्टेक गेम फिनिस’ बनाइदिए। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले तीन आयोजक देशमा सम्पन्न १०४ खेलमध्ये ४४ खेल प्रत्यक्ष हेर्ने क्रममा विश्वलाई नै साढे दुई फन्को मार्न मिल्ने हवाईयात्रा गरेर अर्को अनौठो कीर्तिमान राखे। इन्फान्टिनो नै फिफा अध्यक्ष रहिरहे वा कुनै नयाँ व्यक्ति आए पनि, सन् २०३० को विश्वकप दौरान तीनवटा महादेशका ६ वटा देशमा आयोजना हुने फुटबल प्रतियोगितामा व्यवस्थापनको हाल के होला भन्ने प्रश्न खडा भएको छ। उता, मेस्सी र शिशु अवस्थाका लामिन यामालबीचको पुरानो तस्बिरले भने यसपटक सामाजिक सञ्जालमा राम्रै चर्चा पायो।

आप्रवासी खेलाडीहरूकै कारण कतिपय टोलीको प्रदर्शनको रूपरेखा नै फरक पर्न गयो। अधिकतर युरोपेली टोलीहरूमा आप्रवासी अफ्रिकन खेलाडीहरूकै बाहुल्य र उम्दा प्रदर्शन देखियो। यस मामिलामा फ्रान्स सबैभन्दा अग्रपंक्तिमा आउँछ। फाइनल खेलमै पनि खेलको ७४औं मिनेटमा प्रतिस्थापन खेलाडीका रूपमा मैदान छिरेका निको विलियम्सले उत्कृष्ट ‘हेड असिस्ट’ बल निकालिदिएकै कारण फेरान टोरेसले गोल गर्ने अवसर पाए र स्पेन विजेता बन्यो।

२७ मार्च २०२६ मा तय भएको युरो विजेता र कोपा अमेरिका विजेताबीच हुने ‘फाइनलिसिमा’ अमेरिका र इरान युद्धका कारण स्थगन भयो। त्यसकै पुनरावृत्ति खेल झैं यसपटकको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले सन् १९८६ मा अर्जेन्टिना, १९९८ मा ब्राजिल र २०२२ मा फ्रान्सले जस्तै आफ्नो उपाधि रक्षा गर्न सकेन। यसरी विश्व विजेताहरूको सूचीमा दक्षिण अमेरिकी 
देशहरूको (१० पटक) तुलनामा युरोपेली देशहरूको पल्ला थप भारी (१३ पटक) बन्न पुगेको छ।

अब सन् २०३० को शतवार्षिकी विश्वकप

सन् २०२६ को विश्वकपले फुटबलको शक्ति सन्तुलनमा युरोप र दक्षिण अमेरिका बाहेकका महादेशहरूको उपस्थिति बलियो बन्दै गएको स्पष्ट संकेत दिएको छ। आप्रवासी खेलाडीहरूको जादु, युवा प्रतिभाहरूको उदय र ‘भीएआर’ जस्ता प्रविधिको निर्णायक प्रभावले आधुनिक फुटबल अब केवल कला र रणनीतिमा मात्र सीमित छैन, यो तथ्यांक र प्रविधिमा पनि उत्तिकै निर्भर छ भन्ने प्रमाणित गरेको छ।

अब विश्व फुटबलको ध्यान सन् २०३० को शतवार्षिकी विश्वकपमा केन्द्रित भएको छ, जुन फिफाको इतिहासमै पहिलो पटक युरोप, अफ्रिका र दक्षिण अमेरिका गरी तीन फरक महादेशका ६ राष्ट्रहरूमा आयोजना हुँदैछ। जसले खेलाडीको थकानदेखि लजिस्टिक व्यवस्थापनसम्मका नयाँ चुनौतीहरू थप्ने निश्चित छ। फिफाले दाबी गरे झैं ‘फुटबलले विश्वलाई जोड्छ’ भन्ने भाष्य एक हदसम्म प्रमाणित भए पनि, भूराजनीतिक द्वन्द्व र बढ्दो व्यापारीकरणले खेलको मूल मर्मलाई भने चुनौती दिइरहेकै छ।

अन्ततः स्पेनको च्याम्पियन यात्रासँगै सकिएको यस संस्करणले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता दिग्गजहरूको स्वर्णिम युगलाई ससम्मान बिट मार्दै, लामिन यामालजस्ता नयाँ पुस्तालाई विश्व फुटबलको बागडोर औपचारिक रूपमै सुम्पिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.