कालीको धोक्किन्या माछो कर्णालीका भेल,
दुःखारीलाई निन् लाग्दैन जनबुड्या बेल।
माथिको गीत काली र कर्णाली नदीबीचको ऐतिहासिक सम्बन्धसँग जोडिएको छ। भाषा, संस्कृति, सभ्यता र लोकपरम्पराले मात्र होइन, प्रकृतिले पनि महाकाली, सेती र कर्णालीवासीलाई एक बनाएको छ। पश्चिम नेपालको सिमानाको गीतसँग जोडिएको महाकाली नदीको कर्णाली नदीसँगको सम्बन्ध कति गाढा छ भन्ने यो सुन्दर दृष्टान्त हो। महाकाली नदीमा देखिने माछो कर्णाली नदीमा कसरी पौडी खेलिरहेछ ? देउडागीतका आँसुकविले यसरी नै कल्पना गरिरहेछन्।
साउन महिना प्रकृतिको वरदानको महिना पनि हो। यतिबेला जताततै हरियाली देखिन्छ। तर, नदी र गाड (साना नदी) मा आएको पानीको उर्लंदो भेलले मानव जीवनलाई अस्तव्यस्त पनि बनाएको हुन्छ। नदीकिनाराका बस्तीमा बाढी पसेर मानव जीवनलाई नै तहसनहस पारेका दुःखद् घटनाहरू देखिरहेका छौं। त्यसैले पनि दुःखारी मनहरू र बाढीपीडित मानिसहरू बेल (सूर्य) सँग प्रार्थना गर्छन्। उनीहरूको तर्क छ, ‘हामीलाई राति निद्रा लाग्दैन, त्यसैले हे सूर्य! तिमी छिटो नअस्ताउनू।’
देउडागीतलाई ‘भैनी गीत’ पनि भनिन्छ। भाइबहिनीबीचको सम्बन्धलाई ताजगी गराउने, भलो चिताउने र भए–गरेका घटनाहरूलाई जस्ताको तस्तै उतार्ने भएकाले पनि देउडागीतलाई भैनी गीत भनिएको हो। भैनी गीतमा कुनै फरकपन छैन, यो देउडाकै अर्को नाम मात्र हो। ‘भैनी’ शब्द तद्भव शब्द हो। कसैको भलो चाहनु र भएका कुरालाई सम्झेर राख्नुलाई पनि भैनी शब्दमा प्रयोग गरिन्छ। कर्णाली नदीकिनाराका बस्तीहरूमा ‘भैनी’ शब्द चलनचल्तीमा छ।
कर्णालीमा लेदो बग्दो भेरी बग्दो फिन,
बालकालैका बौला दुःख कैको खायाँ रिन।
सेती, महाकाली, भेरी र कर्णाली नदीले मात्र नभएर बर्खायाममा कोशी र मेची नदीले पनि किनाराका मानव बस्तीलाई उस्तै दुःख दिइरहेका छन्। नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीले बर्खायाममा प्रत्येक वर्ष कटान गरेका र बस्ती बगाएका कारुणिक खबरहरू हामी सुनिरहन्छौं। बर्खायाममा नदीको त्यो वितण्डा देशभरि नै चलिरहने हुँदा भैनी गीतले सबैलाई सतर्क रहन पनि सन्देश दिन्छ। प्रकृतिमा शक्ति हुन्छ, प्रकृतिको पूजा गर, मास्ने काम कदापि नगर भनेर भैनी गीतले बारम्बार सन्देश (रैबार) दिइरहेको हामी पाउँछौं। माथिको गीतले भन्छ, कर्णाली र भेरीले रूप फे र्यो, लेदो बग्यो, फिँज आयो, अनि नदीको निर्मलपन हरायो। बाल्यकालदेखि नै नदीले बस्ती बगाएको देखियो, अहिले पनि लगाएको बालीनाली बगाइरहेछ, अब मैले के गरेर बाँच्ने ?यति दुःख पाउनुमा कसैको ऋण पो खाएको थिएँ कि ? गितांगे गीतैमार्फत यसरी प्रश्न गर्छ :–
कैलाश है बग्दै आयो ठण्डपानी सेती,
को सरकारले दिलाई देला यै जिल्लाको क्षति ।
२०५७ को असार नलाग्दै बझाङका धेरै जिउला (मलिला फाँट)मा सेती नदीमा आएको बाढीले बाली नष्ट ग¥यो। सदरमुकाम चैनपुर र नजिकका जिन्नाडी जिउला, रुइनाबगर र साइलाबगरका मलिला फाँटहरू बगायो। उर्वर कृषियोग्य जमिन छिनभरमै बगरमा परिणत भयो। सबैभन्दा बढी क्षति काप्रीकोट गाउँ निवासी शंखधारा जोशीको भयो। बाढीले उनको जमिन मात्र बगाएन, छोरीलाई समेत बगाएर बेपत्ता पार्यो। सदरमुकाम चैनपुरलाई नै क्षतविक्षत बनायो। बाउली गाड र सेती नदीको बीचमा अवस्थित बझाङ सदरमुकाम अहिले पनि निकै जोखिममा छ।
यसैगरी, बाजुराको सदरमुकाम मार्तडीलाई बाउलीखोला र बुढीगंगा, अछामको साँफेबगर, डोटीको सायल, जुम्लाबाट बग्दै आएकी तिला नदी र जाजरकोट जिल्लाबाट बग्दै आउने भेरी नदीले मटेलालगायत ठाउँठाउँमा पुर्याएको क्षतिको विवरण भैनी गीतले यसरी वर्णन गरेको छ :–
खाऊ भनी नदी छेउ गया पानी ताल पण्याको,
दिन् खुल्याको घाम् लाग्याको मखी रात् पण्याको ।
२०७८ असोजमा धान काट्ने बेला बझाङको छान्ना खोलामा आएको बाढी र थलारामा आएको पहिरोका कारण छान्ना र थलारामा मात्रै २७ जनाको दुःखद् निधन भयो। जसमा विद्वान् धनराज जोशीको पनि ज्यान गयो। यसै घटनालाई समेटेर कलाकर्मीले भैनी गीतको भाकामा यसरी स्वर दिए :–
घर छोड्या घरबार छोड्या पर्देशी हुनाले,
हेर बैनी यो गति भयो दिनरातै रुनाले ।
भैनी गीतका यस्ता विशिष्ट बिम्बहरू हुन्छन्, जसको प्रयोगले गीत अझ अर्थपूर्ण र सशक्त बन्दछ। माथिको गीतमा पानीको ताल पर्नु, परदेशी हुनु, दिनमा घाम लागे तापनि राति परेको जस्तो महसुस हुनुजस्ता भावलाई गीतका शब्द–शब्दमा बान्की मिलाइदिनु नै सफल आँसुकविका भैनी गीतहरूको विशेषता हो भन्न सकिन्छ। देउडाका पारखी धेरैलाई ‘भैनी’ शब्द थाहा नहुन पनि सक्छ। संस्कृति र संस्कारबाट केही पर भएका नवप्रतिभालाई यसबारे अझ अनभिज्ञता हुन सक्छ। पहिले–पहिले यस्ता गीतलाई भैनी, टेउणा (देउडा) र सिट्क्या पनि भन्ने गरिन्थ्यो। यी गीतहरू केवल जंगलमा मात्र गाइने हुँदा बुढापाकाहरूले यसलाई ‘वनगीत’ भने।
त्यसो भए ‘घरगीत’ के हुन् त ? मांगल नै घरगीत हुन्। गाउँमा बच्चा जन्मिँदा, व्रतबन्ध गर्दा र छोराछोरीको बिहे गर्दा मांगल गाइन्छ। यसैगरी खेतमा पोखो (ब्याड) राख्न घरमा धानको बिउ उमार्दा पनि मांगल गाइन्छ। यो चलन अहिले पनि सेती–महाकालीका बस्तीहरूमा भन्दा कर्णाली अञ्चलका जुम्ला, हुम्ला, कालीकोट र मुगुमा बढी प्रचलित छ। बझाङको दोस्रो व्यापारिक केन्द्र देउरा र आसपास, अझ विशेषगरी रेगम (रेग्मीहरूको पुख्र्यौली थलो) र पौडी (पौडेलको जन्मथलो) क्षेत्रमा आइरहने गाडले पुर्याएको क्षतिका बारेमा बझाङका आँसुकवि भीम धामीले यसरी गाएका छन् :–
रेगम जिउलो बगाई लैग्यो गण् छट्टया खोलाले,
क्या खानु हो काँ बस्नु हो मान्छेका चोलाले।
केवल काली–कर्णाली क्षेत्रमा मात्र होइन, देशभरका नदीकिनारामा बसोबास गर्ने हजारौं मानिसलाई साना–ठूला सबै नदीहरूले त्रासमा बाँचिरहन बाध्य बनाएका छन्। उचित तटबन्ध नगरिँदा बर्सेनि जनधनको व्यापक क्षति भएको देखिन्छ। यस्ता प्रकोपबाट बच्न र बचाउन सन्देशमूलक भैनी गीतहरू प्रसारण गरिनुपर्छ। भैनी गीत देउडाकै अर्को नाम भएकोले दुवैको भावार्थ एउटै हुन्छ।
नदीकिनाराका बासिन्दाले त्रासपूर्ण जीवन बिताउनुपर्ने भएकाले भैनी गीतहरू प्रायः करुण रसका हुन्छन्। मिलनका नभएर दुःख र वियोगका गीत भएकाले यी गीतहरू वेदनायुक्त हुन्छन्। ठाडी भाकामा पारखीहरूले कानमा हात राखी गाउने हुँदा भैनी गीतहरू करुण रसमा आधारित हुन्छन्। यस्ता गीतहरू रोपाइँको बेला बढी प्रचलनमा आउँछन्। सबाल–जवाफमा गाइने हुँदा यी गीतलाई ‘देउडा लोकदोहोरी भैनी गीत’ पनि भन्ने गरिन्छ।
प्रतिक्रिया दिनुहोस !