प्रायोजित लेखनविरुद्घको वृत्तान्त

समीक्षा

प्रायोजित लेखनविरुद्घको वृत्तान्त
सुन्नुहोस्

आजभोलि लेखनशिल्प विनिमयको वस्तु बन्दै गर्दा यस भेलमा माछा मार्न थुप्रै प्रकाशन गृह लागिपरेका छन्। यसै भेलमा समाहित भई लेखक बन्न रहर गर्ने नयाँ अनुहारहरू र थुप्रै व्यावसायिक घरानाका साहुजीहरूको आगमन भइरहेका बेला एकजना पुस्तकालयकर्मी तथा बालसाहित्यकार इन्द्रप्रसाद अधिकारी (आईपी अधिकारी) आफ्नो जीवनी, व्यक्तित्व र कृतित्वको दर्पणका रूपमा ‘अनुभूति र अभिव्यक्ति’ नामक नयाँ कृति लिएर पाठकसामु उपस्थित भएका छन्।

तीन सयभन्दा बढी पृष्ठ रहेको प्रस्तुत कृति बिस खण्डमा विभाजित छ। यो पुस्तक अधिकारी वंशको वंशावलीबाट सुरु भई नेपालको पुस्तकालय क्षेत्रको सर्वोच्च पद— त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयको प्रमुखबाट सेवानिवृत्त हुँदासम्म र त्यसपछिको उनको जीवनी, व्यक्तित्व र कृतित्वको सपाट बिम्ब बनेर उपस्थित छ। भारतको पश्चिम बंगालस्थित नक्सलबाडी क्षेत्रको बाल्यकालीन जीवन, झापाको बाहुनडाँगी क्षेत्रको किशोर जीवन र भद्रपुरको मेची क्याम्पसबाट उच्च शिक्षाको अध्ययनसँगै कृतिको कथा अघि बढ्छ। सिनेमाको ‘फ्ल्यासब्याक’ दृश्य झैं पाठकको ध्यान तान्न कृतिले सफलता हासिल गरेको छ। १८ वर्षको उमेरदेखि सुरु भएको उनको जागिरे यात्रा ६३ वर्षको उमेरमा अनिवार्य अवकाश पाउँदासम्मको कथालाई सुन्दर शैलीमा प्रस्तुत गरिएको यो कृतिले पाठकलाई सहजै आफूसँग एकाकार गराउने क्षमता राख्छ।

मेची क्याम्पसबाट सुरु भएको जागिरे यात्रा काठमाडौंका थापाथली क्याम्पस, त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय प्रमुख हुँदासम्म आइपुग्छ। यस क्रममा आफ्नो पारिवारिक स्थितिको विकास र पुस्तकालय विज्ञानको थप अध्ययनलगायत पेसागत उन्नयनसँगै कृति अघि बढ्छ। यसरी विगतलाई फर्केर हेर्दा लेखकलाई टाढा बसेर आफ्नै जीवनको अवलोकन गरेको अनुभूति हुँदो हो भने, पाठकलाई एउटा इमानदार पेसाकर्मीको वृत्तान्त सिनेमाको रिलमा झैं हेरेको भान हुन्छ। भोजपुर, भारतको पश्चिम बंगाल र काठमाडौं कृतिमा वर्णित मुख्य स्थानहरू हुन् भने यसको ठूलो हिस्सा काठमाडौंले ओगटेको छ।

पुस्तकालय विज्ञानप्रतिको समर्पण पुस्तकालय संस्कृतिको उन्नयनका लागि स्वदेशी तथा विदेशी संस्थाहरूसँग गरेको सहकार्य, नेपाली पुस्तकलाई अन्तर्राष्ट्रिय कोड नम्बर उपलब्ध गराउन अधिकारीले गरेको प्रयास र त्यसको व्यावहारिक प्रयोग एवं पहुँचका लागि उनले लिएको अडान पनि यस पुस्तकको महत्वपूर्ण विषय बनेको छ। डाटाबेस प्रणालीको समुचित व्यवस्थापन उनको पालामा पूर्ण रूपले हुन नसके पनि, उनले खनेको गोरेटोले मूर्तरूप लिएको अवस्थालाई पुस्तकले दर्शाएको छ।

कृतिमा पारिवारिक पृष्ठभूमि जोडिएर आए पनि यसले मूलतः पुस्तकालय विज्ञान, व्यवस्थापन, पुस्तकालय संस्कृतिको बढोत्तरीको प्रयास र पठन संस्कृतिमा पुस्तकालयको सार्थक व्यवस्थापनले पार्ने प्रभावबारे बोलेको छ; उद्देश्यमूलक लेखनको धर्म पनि यही हो। कृतिमा पारिवारिक तीर्थाटनका प्रसंगहरू पनि वर्णित छन्, तर सम्भव भएसम्म लेखकले ती यात्रामा आफ्नो पेसाप्रतिको समर्पण भावलाई त्यहाँ भेटिएका पुस्तकालयहरूको निरीक्षणसँग जोडेका छन्। 

सिक्किम विश्वविद्यालय र आसामको गौहाटी विश्वविद्यालयको पारिवारिक यात्राका क्रममा गरेको अवलोकन यसको सार्थक उदाहरण हो। यसबाहेक जनवादी गणतन्त्र चीन, कोरिया, भारत तथा पाकिस्तानलगायत देशका राजदूतहरूलाई आफू केन्द्रीय पुस्तकालय प्रमुख छँदा गराएको अवलोकनको प्रसंगले पनि कृतिमा स्थान पाएको छ। यो लेखकको पेसागत इमानदारीको एउटा बलियो पाटो हो। बालसाहित्य, लघुकथा लेखन, सम्पादन, अनुवाद तथा प्रकाशनका क्षेत्रमा पनि अधिकारीको उपस्थितिलाई १५औं खण्डमा उल्लेख गरिएको छ।

चुनौती र संघर्षको अभिलेखन प्रायः सरकारी जागिरमा संलग्न हुनेहरू सेवानिवृत्त जीवनलाई सामाजिक कामभन्दा पारिवारिक कार्यमा सीमित राख्छन्। तर, लेखक अझै पनि लेखन र पुस्तकालय विज्ञानको उन्नयनमा सक्रिय रहेको अवस्थालाई कृतिले वर्णन गरेको छ। लिमिसेक, नेपाल पुस्तकालय संघ, नेपाल लाइब्रेरी फाउन्डेसन, नेपाल बालसाहित्य समाज आदि संस्थाहरूसँग उनको आबद्धता, उठबस र त्यहाँ भोगेका तीतामीठा पलहरूको प्रस्तुतिले पाठकलाई तरंगित पार्छ।

लेखकले केन्द्रीय पुस्तकालयको प्रमुख छँदाका उपलब्धि मात्र होइन, २०७२ सालको विनाशकारी महाभूकम्पको सामना गर्दाका क्षण र त्यस प्रलयले पुस्तकालय तथा पुस्तकमा पुर्‍याएको क्षतिको समेत अभिलेखन गरेका छन्। यसका साथै, राजनीतिक दलका झोले विद्यार्थी संगठनको अनुचित दबाब झेल्दाको नमीठो अनुभवलाई पनि लिपिबद्ध गरेका छन्। समग्रमा, अधिकारीको यो कृति एउटा सानो आँखीझ्याल बनेको छ, जहाँबाट एउटा बृहत् संसारलाई चियाउन सकिन्छ।

निष्कर्ष एउटै कृतिबाट जीवनको समग्रतालाई चिनाउने साहित्यिक विधा हो, आत्मकथा। आत्मकथाले मूलतः लेखकका जीवनका सकारात्मक र नकारात्मक दुवै पक्ष, आफ्ना सबलता र दुर्बलता तथा कमीकमजोरीको खुलस्त चित्रण गर्नुपर्छ। आजभोलिको उपभोक्तावादी समाजको प्रायोजित लेखनमा फगत ‘साहुजी’ लेखकहरूको मपाइँत्वले राज गरिरहेको स्थितिमा अधिकारीको आत्मकथाले इमानदार बोली बोलेको छ। यस अर्थमा, आत्मकथा विधामाथि पूर्ण न्याय भएको छ।

ठूलाठूला प्रशासक, कूटनीतिज्ञ, साहुजी, पूर्वसत्ताधारी नेता तथा पूर्वहाकिमहरूको आत्मकथाका नाममा भइरहेको ‘घोस्ट लेखन’को बाढीमा इन्द्रप्रसाद अधिकारीको प्रस्तुत कृति ‘अनुभूति र अभिव्यक्ति’ ले आत्मकथाको धर्मलाई पूर्ण रूपमा निभाएको छ। यद्यपि, प्रस्तुतिगत कमी, कमजोरीबाट कृति पूर्ण रूपमा मुक्त छैन, तर लेखकको उद्देश्य र मनसाय भने अत्यन्तै निश्चल र निर्मल छ। यो अधिकारीको लेखनधर्मिताको अर्को सुन्दर पाटो हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.