अन्त्यमा, यो मञ्चबाट एउटा गम्भीर प्रश्न उठ्छ– हामी कहिलेसम्म हाम्रा अवोध छोराछोरीको रगत बगाएर यस्ता स्वार्थी, लोभी र भ्रष्ट सरकारलाई पालिरहने ? सत्य र न्यायको जित नभएसम्म यो क्रान्तिको आगो निभ्ने छैन।
समय आफ्नै लयमा बग्छ। दिनैपिच्छे सूर्य उदाउँछ र अस्ताउँछ। तर, इतिहासका पानाहरूमा कोरिएका केही सत्यहरू भने कहिल्यै अस्ताउँदैनन्। आज हामी इतिहासको त्यही गर्विलो र गह्रौं क्षणमा उभिएका छौं। महामना योगमायाको ८५औं स्मृति दिवस चलिरहेछ। यो दिन केवल भित्तेपात्रोको एउटा मितिमात्र होइन। यो त नेपाली माटोमा रोपिएको सत्य, न्याय र विद्रोहको सबैभन्दा पवित्र बीज हो। अरुण नदीको सुसेलीमा आज पनि उहाँको विद्रोहको त्यो सुमधुर तर विद्रोही धुन सुन्न सकिन्छ।
एक शताब्दी लामो राणाशासनको त्यो अँध्यारो युग थियो। जहाँ जनताका रहरहरू साँचोमै बन्दी थिए। राज्यमा भ्रष्टाचार, दमन र बेथितिको राज थियो। गरिबका आँसुको राज्यको नजरमा कुनै मूल्य थिएन। त्यस्तो कहालिलाग्दो र निस्सासिँदो समयमा, एउटी नारीले असामान्य विद्रोहको शंखनाद गरिन्। त्यो आवाज कुनै राजनीतिक दाउपेच थिएन। त्यो त सीमान्तकृत जनताको मुटुको स्पन्दन थियो।
नेपालको चेतनाको इतिहासमा त्यो क्षण स्वर्ण अक्षरले कुँदिएको छ। त्यसबेलाका शक्तिशाली प्रधानमन्त्री श्री ३ जुद्धशमशेर राणासँग पशुपतिको बज्रघरमा महामना योगमायाले प्रत्यक्ष भेट गरिन्। उहाँको हातमा कुनै हतियार थिएन, तर विचारको बज्रसामु सत्ता आफैं काँपेको थियो। योगमायाले सामाजिक न्याय मागिन्। ‘धर्मराज्य’को स्थापना हुनुपर्छ भन्दै २४ बुँदे माग अघि सारिन्। ती मागहरू समानता, सुशासन र मानवीय गरिमाका दस्तावेज थिए। शासकले सुरुमा आश्वासन दिए। धर्मराज्य र न्याय दिन्छु भनेर झुठो वाचा गरे। तर, सत्ताको नशामा डुबेका शासकले ती वाचाहरू सजिलै भुले। सत्य र न्यायको पक्षमा राणा सरकार उभिएन।
तत्कालीन समाज असमानताको गहिरो खाडलमा चुर्लुम्म डुबेको थियो। गाउँघरमा केही धनी साहु–महाजनहरूको रजगज र शोषण चरम सीमामा थियो। गरिब निमुखा किसानलाई अन्न पैंचो दिँदा उनीहरू सानो माना–पाथीले नापेर ठग्थे। तर, त्यही ऋण असुल गर्दा ठूलो माना–पाथीले भर्थे। मोहर र सुकामा हुने भ्रष्टाचारले सीमा नाघेको थियो। गरिबको एक मुठी अन्नमा हुने त्यो लुटतन्त्र र घुसखोरीले समाजको जरो धमिराले झैं खाइसकेको थियो। गरिबको भोकमाथि हुने यस्तो अमानवीय राजनीति देखेर योगमायाको मन छटपटायो। उहाँको कलम र कण्ठ दुवै आगो ओकल्न थाले।
अहिले गर्छौं भलादमी हो, आफ्ना खुसैले,
भित्री जरा हालिसक्यो, लोभी घूसैले।
अन्त्य कालमा त्यही घूसले, फुटाइदेला धाँदा,
बडो कष्ट मिलि जाला, त्यही घूस निक्ली जाँदा।
अहिले मात्र पचेको छ, भरे पच्ने छैन,
सम्झी राख सत्य वचन झूटो हुने छैन।
‘सर्वार्थ योगवाणी’ मार्फत् उहाँले आफ्ना कविताहरूमा यसरी गर्जिनुभयो– ‘अहिले गर्छौं भलादमी हो, आफ्ना खुसैले, भित्री जरा हालिसक्यो, लोभी घूसैले। अन्त्य कालमा त्यही घूसले, फुटाइदेला धाँदा, बडो कष्ट मिलि जाला, त्यही घूस निक्ली जाँदा। अहिले मात्र पचेको छ, भरे पच्ने छैन, सम्झी राख सत्य वचन झूटो हुने छैन।’
यी शब्दहरूमा लुकेको ताप आज पनि सूर्य जस्तै रापिलो छ। सत्य कहिल्यै मर्दैन भन्ने सन्देश यसमा गुञ्जित छ।
तर विडम्बना ! जब राज्यले नागरिकको चीत्कार सुन्दैन, तब विद्रोहले नयाँ स्वरूप लिन्छ। यदि न्याय, धर्म र नागरिकको सम्मान हुँदैन भने त्यस्तो राज्यमा जीवन जिउनुको कुनै अर्थ रहँदैन। यही अटल धारणासहित योगमायाले कठोर बाटो रोजिन्। राणा सरकारलाई चेतावनी स्वरूप इतिहासकै सबैभन्दा ठूलो झट्का दिने निर्णय भयो। १९९८ असार २२ गते। अरुण नदीको उर्लंदो भेल।
हिजो एउटा माना–पाथी र मोहर–सुकाको भ्रष्टाचारविरुद्ध योगमायाले आफ्ना ६७ जना अनुयायीसहित त्यही भेलमा इतिहासकै सबैभन्दा ठूलो जलसमाधि लिनुभयो। न्यायको लागि हाँसीहाँसी प्राणको आहुति दिनुभयो। सुशासन र सत्यका लागि जीवन त्याग्ने महात्मा गान्धीको सत्याग्रहसँग मात्र यसको तुलना गर्न सकिन्छ। यो केवल मृत्यु थिएन, यो त राज्यको निधारमा कोरिएको कलंकविरुद्धको अमर क्रान्ति थियो।
समयको चक्र घुमिरह्यो। १९९८ असार २२ देखि आजसम्म देशमा कति सरकारहरू फेरिए। कति व्यवस्थाहरू बदलिए। राणा शासन ढल्यो। पञ्चायत गयो। राजा फालिए। गणतन्त्र आयो। तर, के साँच्चै देश बदलियो त ? विडम्बना! शासकका अनुहार र कुर्सी मात्र बदलिए, जनताको अवस्था कहिल्यै बदलिएन। एउटा स्थिर, स्वच्छ र पारदर्शी प्रणालीमा चल्ने सरकार आजसम्म बन्नै सकेन। राणा शासकहरूको त्यही बेथिति आज अझै विकराल बनेर हाम्रासामु खडा छ। महामना योगमायाले त्यसबेलै देखेको विकृति आज झन् मौलाएको छ– ‘थितिदेखि बेथिति त भएकै छ अहिले, त्यही थिति बिग्रिनाले, बिन्ती गरें मैले।’ एउटा स्थिर र स्वच्छ प्रणालीमा चल्ने सरकार आजसम्म बन्नै सकेन। राणा शासकहरूको त्यही बेथिति देखेर महामना योगमाया भन्नुहुन्थ्यो :–
थिति देखि बेथिति त भएकै छ अहिले,
त्यही थिति बिग्रिनाले, बिन्ती गरें मैले।
आज ८५ वर्षपछि पनि देशको परिस्थिति ठ्याक्कै त्यही अवस्थामा छ। यही समय अन्तरालमा दक्षिण कोरिया, सिङ्गापुर जस्ता देशहरूले विकासको कुन उचाइ छोइसके। हाम्रा नेताहरूले बेलाबेला नेपाललाई पनि सिंगापुर र स्विट्जरल्यान्ड बनाउने मीठा भाषण गर्न कहिल्यै छुटाएनन्। तर आज यो देशमा त्यसबेलादेखि पञ्चायतकाल हुँदै बहुदलीय र संघीय गणतन्त्र व्यवस्थासम्म आइपुग्दा कत्रा–कत्रा महा–काण्डहरू भए! लाउडा काण्ड, एअरबस खरिद काण्ड, भुटानी शरणार्थी काण्डदेखि गिरीबन्धु चिया बगान, ललिता निवास र सहकारी ठगीजस्ता इतिहासकै लज्जास्पद काण्डहरू भए।
हिजो साहुले माना–पाथीमा थोरै ठग्थे, आजका शासकहरूले त सिंगो देश र गरिब जनताको भविष्य नै बेचेर अन्धकार बनाइरहेका छन्। यही चरम निराशाले गर्दा हाम्रा ऊर्जाशील नेपाली युवाहरू त्रिभुवन विमानस्थलमा आँसु खसाल्दै विदेश पलायन हुन बाध्य छन्। भ्रष्टाचार, नेताहरूको दम्भ र अदूरदर्शिताले देश तहसनहस भएको छ। न्याय माग्न जाँदा आज पनि अदालत र अड्डामा बस्नेहरूको चरित्र उस्तै छ। योगमायाकै शब्दमा भन्दा– ‘जागिरदार लोभी छन्, निया हेर्दैनन्, मर्नुपर्ने शरीर हो, विचार गर्दैनन् । महाराजा छन् दरबारमा, हेर्न आउँदैनन्, दुःखीजनले निया निसाफ, सिधा पाउँदैनन्।’ त्यसबेला न्याय माग्न जाँदा अदालत र अड्डामा बस्नेहरू कस्ता छन् ? योगमाया भन्नुहुन्थ्यो :–
जागिरदार लोभी छन्,
निँया हेर्दैनन्,मर्नुपर्ने शरीर हो,
विचार गर्दैनन्।महाराजा छन् दरबारमा, हेर्न आउँदैनन्,
दुःखीजनले निया निसाफ, सिधा पाउँदैनन्।
हिजो दरबारमा बस्ने महाराजा गरिबको दुःख हेर्न आउँदैनथे। आज सिंहदरबार र बालुवाटारमा बस्ने यी ‘नयाँ राजा’ भनाउँदाहरू पनि गरिबका आँसु हेर्न आउँदैनन्। उनीहरूलाई गरिबको चुलो निभेको पत्तो हुँदैन। त्यही भएर त आज इतिहास पुनः दोहोरिएको छ।
बेथिति बढेको कारण आजका युवाहरू पनि सडकमा ओर्लिन बाध्य भएका छन्। हिजोको योगमायाको क्रान्तिमा जलसमाधि लिने ती आत्माहरू कतै पुनर्जन्म भएर आजका ‘जेन—जी’ आन्दोलन बनेर सडकमा उत्रिएका त होइनन् ? यो प्रश्नले आज सबैको मन चिथोर्छ। यही व्यवस्था सुधार र महा–भ्रष्टाचारका विरुद्ध २०८२ भदौ २३ र २४ गते फेरि नेपाली आमाका वीर सन्तानहरूले सडकमा अन्यायका विरुद्ध लड्दै आफ्नो अमूल्य जीवन आहुति दिए।
१९९८ सालको त्यो अरुण नदीको किनारदेखि २०८२ भदौसम्मको सडकसम्म आइपुग्दा, देशले केवल वीर सहिदहरूको लास मात्र गनिरह्यो। शासकहरूले सत्ता र कुर्सीको घिनलाग्दो खेल मात्र खेलिरहे। तर, ती निर्दोष जनताले न्याय कहिल्यै पाएनन्। त्यतिबेला महामना योगमाया र उहाँका अनुयायीहरूले देखेको समतामूलक ‘धर्मराज्य’को सपना आज पनि हाम्रो मनमा अधुरै छ र जीवितै छ।
अन्त्यमा, यो मञ्चबाट एउटा गम्भीर प्रश्न उठ्छ– हामी कहिलेसम्म हाम्रा अवोध छोराछोरीको रगत बगाएर यस्ता स्वार्थी, लोभी र भ्रष्ट सरकारलाई पालिरहने ? जबसम्म योगमायाको जलसमाधि र सम्पूर्ण नेपाली सहिदहरूको रगतको अवमूल्यन गरिन्छ, तबसम्म यो देशले कहिल्यै शान्तिको श्वास फेर्न पाउने छैन। सत्य र न्यायको जित नभएसम्म यो क्रान्तिको आगो निभ्ने छैन।
प्रतिक्रिया दिनुहोस !