कुनै पनि मानिसको चेतना
कसैले अपहरण गर्दैन
चेतना मानिस स्वयं आफैं गुमाउँछ
चेतना गुमाएसँगै
उसले आफ्नो दृष्टि
कोमल, शान्त र रंगीन सपनाहरू उर्लिने मन
सही र गलत छुट्ट्याउने मस्तिष्क
पनि गुमाउँछ!
चेतना गुमाएको मानिस
एउटा कुनै तानाशाहका लागि
मर्न पनि तयार हुन्छ
उसले नांगो तानाशाहलाई
ईश्वर मानेर
आफ्नो संसार बलि चढाउन सक्छ
विवेक गुमाएको मानिसले
जे पनि गर्न सक्छ
जस्तो,
उसले देशमा आगो लगाएर
ठण्डी हटाएको दाबी गर्ने
सरकारलाई मट्टीतेल ओसारिरहेको हुन्छ!
गरिब नागरिक मारेर
गरिबी हटाएको जिकिर
गरिरहेको राज्यलाई
जल्लाद बनेर
सगर्व सहयोग गरिरहेको हुन्छ
हरेक प्रकारले देश नष्ट भएपछि
मारिनुपर्ने सबै मानिस मारिएपछि
चेतना गुमाएको मानिस बाँचेको रहेछ
भने ऊ स्वघोषित चेतनशील बन्नेछ
देश र जनताको कुरा गर्ने छ
राक्षसको उपमा दिएर
तानाशाहको रगत पिउँला जस्तो गर्ने छ!
तर उसका यी तथाकथित विवेकी उत्तेजनाहरू
कामयावी हुने छैनन्
आगोमा नपुगेसम्म काठ! काठ रहन्छ!
जलेपछि त अग्राठ पनि खरानी बन्छ!
प्रतिक्रिया दिनुहोस !