भरियाको विश्व कीर्तिमानी यात्रा

लाक्पा शेर्पाको संघर्ष

भरियाको विश्व कीर्तिमानी यात्रा

कीर्तिमान बनाउन आत्मविश्वास, अदम्य साहस, दृढ संकल्प अनि निरन्तरको मेहनत चाहिन्छ। उच्च जोखिम मोलेर गरिएको साहसिक कार्यले सफलता प्राप्त गरेपछि मात्रै इतिहास निर्माण हुन्छ। हो, उनको हकमा पनि यही कुरा मेल खायो। सुगम वा सहरी क्षेत्रमा भएको भए ११–१२ वर्षको कलिलो उमेरमा उनलाई पाठ्यपुस्तकको भारले थिच्थ्यो होला, तर उनलाई भने पर्यटकको गहकिलो झोला र भारीले थिच्यो। 

यद्यपि, उनी भागेनन्। लामो समय निरन्तर भारी बोकिरहे। अन्ततः त्यही क्षेत्रबाट परिष्कृत हुँदै उनले सफलता हासिल गरे। उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रख्याति मात्रै कमाएनन्, पृथक् विधामा विश्व कीर्तिमान नै कायम गरे। प्रसंग हो, आठ हजार मिटरभन्दा माथिको उचाइका हिमाल ३३ पटक, सगरमाथा ११ पटक र जम्मा १० दिन १८ घण्टा ३० मिनेटको समयावधिमा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका लाक्पादेण्डी शेर्पाको।

शेर्पाले सन् २०१८ को मे १३, १८ र २४ तारिखमा सबैभन्दा छोटो समयको इतिहास कायम गर्दै आधार शिविरबाट शिखरसम्मको यात्रा पूरा गरी विश्व रेकर्ड राखेर दुनियाँलाई चकित तुल्याए। यतिमात्रै होइन, सन् २०१८ मे २४ देखि जुलाई २२ सम्मको ५९ दिनभित्र उनी विश्वको सबैभन्दा अग्लो सगरमाथा र सबैभन्दा घातक मानिने के टु हिमालको चुचुरोसम्म पुगे। यस्तै, सन् २०१९ मा जम्मा १२ दिनको अवधिमा सगरमाथा र धवलागिरिजस्ता विशाल हिमाललाई जिते भने सन् २०२२ मा सगरमाथा, ल्होत्से र कञ्चनजंघा (विश्वका पहिलो, तेस्रो र चौथो अग्ला चुचुरा) को आरोहण आठ दिनमै पूरा गरे। लाक्पाको जन्म २०४४ माघ १५ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा भएको हो। 

बुवा पासाङ लाक्पा शेर्पा र आमा ह्रितापुटीका ६ छोरा तथा ३ छोरीमध्ये उनी चौथो सन्तान हुन्। जब प्राविसम्मको पढाइ पूरा भयो, तब उनको संघर्षको यात्रा सुरु भयो। प्रारम्भमा उनले हिमाल पर्वतारोहीको भारी बोक्ने ‘भरिया’को रूपमा काम थाले। लाक्पा आफ्नो विगत खोल्छन्, ‘त्यतिबेला घरनजिक प्राविमात्र थिए। फेरि, त्यति धेरै बच्चालाई पढाएर के साध्य ? त्यतातिरको चलन भनौं वा पेसागत रोजगारी, पर्यटकको भारी बोक्ने नै थियो। त्यो नियतिबाट म पनि टाढा रहन सकिनँ।’

सुरुवाती दिनमा लाक्पा हिमालको आधार शिविरसम्म पुर्‍याउने भारी बोक्न थाले। यो क्रम केही वर्ष चल्यो। त्यसपछि क्रमशः ‘रोप फिक्सिङ’ (डोरी टाँगेर हिमाल चढ्ने बाटो बनाउने) गर्ने, आरोहण टोलीको नेतृत्व गर्ने, उद्धार कार्यमा खटिने, नयाँ हिमचुचुरा पत्ता लगाउने र हिमाल चढ्ने हुँदै उनी विश्व कीर्तिमान बनाउनेसम्मको उचाइमा पुगे। सन् २०१४ मा उनी ८,१६३ मिटर उचाइमा रहेको मनास्लु हिमालमा ‘रोप फिक्सिङ’ साहसिक परामर्शदाताको रूपमा पुगे। यसैगरी, २०१६ मा अमेरिकी टोलीको नेतृत्व गर्दै सगरमाथा ‘रोप फिक्सिङ’ टोलीमा गए। 

यस्तै, २०१७ मा पनि डोरी टाँग्ने टोलीमा निर्णायक भूमिकासहित प्रारम्भिक शिखर आरोहण गरे। त्यो वर्ष उनी तीन पटकसम्म सगरमाथा पुगेका थिए।

निरन्तरको आरोहण र कीर्तिमान लाक्पाले आरोहण यात्राको विवरण यसरी सुनाउँछन्, ‘मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गर्दै विश्वका चर्चित हिमालहरूको सफल आरोहण गरेको छु।’ उनका प्रमुख आरोहण यस प्रकार छन् :–

  •  २०१७ : माउन्ट ल्होत्से (नर्वेली टोली) र माउन्ट धवलागिरि (स्पेनी टोली)।
  • २०१८ : माउन्ट एभरेस्ट (रोप फिक्सिङ, अमेरिकी र ब्रिटिस टोली), माउन्ट केटु (अमेरिकी टोली) र माउन्ट मनास्लु (चिनियाँ टोली)।
  •  २०१९ : माउन्ट धवलागिरि, सगरमाथा, नांगा पर्वत, के टु र मनास्लु (परियोजना सम्भावित टोली) र माउन्ट आमादब्लम (अन्तर्राष्ट्रिय टोली)।
  •  २०२० : माउन्ट अकोन्कागुआ (अन्तर्राष्ट्रिय टोली), माउन्ट मनास्लु (बहराइन प्रिन्स टोली) र माउन्ट आमादब्लम।
  • २०२२ : माउन्ट किलिमन्जारो (राष्ट्रिय टोली)।
  • २०२३ : माउन्ट डेनाली (राष्ट्रिय टोली, क्याम्प २ सम्म) र माउन्ट शिशापाङ्मा (अन्तर्राष्ट्रिय टोली, क्याम्प ३)।

‘रोप फिक्सिङ’ र नयाँ चुचुराको अन्वेषण ‘रोप फिक्सिङ’ (बाटो बनाउने कार्य) मा लाक्पाको विशेष दक्खल छ। उनले मनास्लु, केटु, अन्नपूर्ण, धवलागिरि, चो ओयु, कञ्चनजंघा, ब्रोड पिक, आमादब्लम र सगरमाथाजस्ता हिमालहरूमा विभिन्न वर्षहरूमा अन्तर्राष्ट्रिय टोलीका लागि सफल रूपमा डोरी टाँग्ने काम गरिसकेका छन्। सन् २०२२ को जाडो याममा नेपालबाट पहिलो पटक प्रयास गरिएको चो ओयु हिमालको क्याम्प ४ सम्मको रोप फिक्सिङ पनि उनैले गरेका थिए।

त्यसो त लाक्पालाई अज्ञात क्षेत्रका अन्वेषकसमेत मानिन्छ। उनले पहिले कहिल्यै आरोहण नगरिएका धेरै ‘कुमारी चुचुराहरू’को मार्ग खोलेका छन्। सन् २०१७ मा गोक्यो उपत्यकामा ‘थारके खाङ’को पहिलो मार्ग खोले भने २०१८ मा नेपाल–तिब्बत सीमामा रहेको ६,८६१ मिटर उचाइको ‘नुप्ला खाङ’को आरोहणको सफलतापूर्वक नेतृत्व गरे। यसैगरी, २०२४ मा कोरिया–नेपाल ५०औं वार्षिकोत्सव परियोजनाका लागि उच्च–उचाइको जुगल प्रथम हिमालको डोरी टाँग्ने र शिखर टोलीको नेतृत्व उनैले गरे। सन् २०१९ मा उनले मार्गदर्शन र डोरी फिक्सिङ गरेको परियोजनालाई प्रख्यात ‘नेटफ्लिक्स’ वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’मा समेत प्रस्तुत गरिएको छ।

तालिम, आबद्धता र दर्शन लाक्पाले परिचयात्मक रक–क्लाइम्बिङ (२०११), आधारभूत उद्धार कोर्स (२०१२), ट्रेकिङ गाइड तालिम (२०१४), प्राथमिक उपचार तालिम (२०१८) र प्याराग्लाइडिङ पाइलट (२०२१) लगायतका थुप्रै प्रशिक्षण लिएका छन्। ‘सबैभन्दा ठूलो प्रशिक्षण भनेको त व्यवहार र प्रयोग नै हो, तैपनि मैले केही सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण हासिल गरेको छु’, उनी भन्छन्। हाल उनी मुक्तिनाथ विकास बैंक र सिद्धि मेमोरियल फाउन्डेसनका सद्भावना दूत, प्रोजेक्टाइल क्रिएशन्स प्रालिका पर्वतविज्ञ, फुर्लिमा फाउन्डेसनका कार्यसमिति निर्देशक, नेपाल पर्वतारोहण संघ र सगरमाथा आरोही संघका सदस्यलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा आबद्ध छन्।

रोचक पक्ष त के भने, लाक्पा सन् २०२३ अप्रिलमा सार्वजनिक भएको ‘हिमालयन माभेरिक’ पुस्तकका लेखक समेत हुन्। पर्यटन उद्यमी उनी युवा पर्वतारोहीहरूलाई मार्गदर्शन गर्नुका साथै नेपालमा जिम्मेवार पर्वतीय पर्यटनलाई प्रवद्र्धन पनि गर्दछन्। उनी प्रस्ट्याउँछन्, ‘मेरो बुझाइमा पर्वतारोहण भनेको शिखरमा पुग्नुमात्रै होइन; नेतृत्व, सामूहिक कार्य, प्रकृतिप्रतिको सम्मान र अरूलाई साहस अनि दृढ संकल्पका साथ आफ्नो सपना पछ्याउन प्रेरित गर्नु पनि हो।’

यी सबै केका लागि गरिरहनुभएको छ त ? भन्ने प्रश्नमा लाक्पा गम्भीर बन्छन्, ‘मलाई लाग्छ– कोही मानिस बाँचेर मरिरहेका हुन्छन् त कोही मरेर पनि बाँचिरहन्छन्। मृत्यु त्यो हो, जसको शरीर छुट्नासाथ संसारमा अरू केही बाँकी रहँदैन। अनि जो धेरैको सम्झनामा जीवित रहने छाप छोडेर शारीरिक रूपमा बिदा हुन्छ, त्यो उसको मरण होइन– बरु अमरता हो। मानिस भएर जन्मिएपछि समाजमा केही न केही राम्रो काम गर्नुपर्छ, आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ। जीवन संयोग हो र मृत्यु शाश्वत हुन्छ। अस्थायी रूपमा आर्जित पद तथा सम्मानभन्दा
सिर्जना र इतिहास महत्वपूर्ण रहन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.