पसल तोडफोड गरी गहना चोर्ने चार पक्राउ
बर्दिबास : स्थानीय एक पसल तोडफोड गरी भागेकाे अाराेपमा चारजना पक्राउ परेका छन् । भंगहा नगरपालिका–७ गोरहन्ना बजारस्थित रामबाबु साहले संचालन गरेको शिवगंगा ज्वेलर्स एण्ड वस्त्रालयबाट गहना तथा कपडा चोरी भएपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेका भंगहा नगरपालिका- ७ का २२ वर्षीय राकेश पासमान, ३० वर्षीया किरण कुमारी साह, ४० वर्षीय बिजुली सादा मुसहर, ४२ वर्षीय अशोक सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट १४ प्रकारका सुन चाँदीका गरगहना, २ थान साडी, १ थान मोवाइल सेट र २ हजार रुपैयाँ बरामद गरेको छ । पसलले भने १० लाख बराबरको धनमाल चोरी भएको उजूरी दिएका छन् ।
साथै असुरक्षा बढेको भन्दै स्थानीयले गुनासो गरेपछि भंगहाको जमुनियाँ बजारमा अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ । केही दिनअघि डाँकाले गोली चलाएर जमुनियाँ बजारमा लुटपाट गरेपछि स्थानीय सुरक्षाको माग गर्दै आन्दोलित थिए । प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको टोली छ।