नगरपालिकाले समिति विघटन गरेपछि विरोध
इलाम : इलाम नगरपालिकाका धार्मिक स्थलको संरक्षणका लागि गठन भएका समितिहरु इलाम नगरपालिकाले थाहै नदिई विघटन गरिदिएपछि नगरपालिकाको कार्यशैलीको ब्यापक आलोचना भएको छ ।
नगरपालिकाले निरंकुश शैली अपनाएको भन्दै समितिहरुले गुनासो गर्न थालेका छन् ।
इलाम नगरपालिकाले भने असार ७ गते स्विकृत गरेको इलाम नगरपालिका धार्मिक तथा साँस्कृतिक क्षेत्र विकास समिति गठन तथा सञ्चालन निर्देशिका अनुसार समिति परिवर्तन गरेको बताएको छ ।
इलाम नगरपालिकाको ऐतिहासिक महत्वको माइस्थान मन्दिरको समिति विना जानकारी परिवर्तन गरेपछि एक वर्ष कार्यावधी रहेको समितिका कतिपय काम अवरुद्ध बनेको माइस्थान धार्मिक क्षेत्र विकास समितिका सहसचिव टेक प्रसाद रंजितकारको गुनासो छ ।
समितिका सचिव केदार श्रेष्ठले खण्डहर बन्न लागेको मन्दिरको छानोमा तामाको पाता लगाउने लगायतका सौन्दरीकरणको काम भइरहेको अवस्थामा नगरपालिकाका आसपासका नागरिक र सरोकारवालाहरुलाई पनि नसुनाई समिति परिवर्तन गरेको बताए ।
समितिका कोषाध्यक्ष गोविन्द कर्माचार्यले मन्दिर सञ्चालनमा बार्षिक ३ लाख २८ हजार खर्च आउने नगरपालिकालाई जानकारी गराउँदा पनि नगरपालिकाले चासो नदिएको बताए । नगरपालिकाले बार्षिक १ लाख अनुदान दिँदै आएको छ । कर्माचार्यले पुर्वाग्रहको आधारमा समिति गठन गरेको बताए । नगरपालिकाका सुचना अधिकारी राम शाहका अनुसार कार्यविधि अनुसार नै समिति परिवर्तन सुरु भएको हो ।
इलाम नगरपालिकामा माइस्थान, सिंहदेवी, सेतीदेवी, नारायण स्थान लगायतमा संरक्षण समिति छन् । शाहका अनुसार अहिले समिति गठनको प्रकृया सुरु भएको छ । माइस्थान संरक्षण समितिका अध्यक्ष गोपाल प्रसाद श्रेष्ठले समितिले ऐतीहासिक तोप फर्काउन समेत पहल गरिरहेको बताए । यसअघि समितिको पहलमा सेनाले स्थानान्तरण गरेको निशान फिर्ता गरेको थियो।