कर्मचारी सरुवाले सकस

कर्मचारी सरुवाले सकस

भोजपुर : कर्मचारी सरुवा हुँदै जान थालेपछि साल्पासिलिछो गाउँपालिकाको काम ठप्पजस्तै भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, प्रशासन हेर्ने खरिदार एकसाथ सरुवा भएर गएपछि गाउँपालिकाको काम प्रभावित भएको हो।

गत असार १० गते पहिलो गाउँसभा सम्पन्न भएपछि आर्थिक वर्ष २०७५/७६ को दोस्रो गाउँसभा साउनभित्र गर्नुपर्ने भन्दै हिँडेका प्रशासकीय अधिकृत भदौमा आएको जनाइएको छ। त्यसपछि एक साताजति बसेर आर्थिक लेखापरीक्षण तथा बैंक खाता सार्नुपर्ने भन्दै उनी हिँडेका थिए। गाउँपालिकाका ६ वटै वडाको सार्वजनिक सुनुवाइमा सहभागी भई प्रशासकीय अधिकृत, सहलेखापाल, प्रशासनका खरिदार र वडा ३ का सचिव गत भदौ २९ गते नै सरुवा लिएर हिँडेका हुन्। अहिले करारका कर्मचारीले कार्यालय खोल्ने मात्र काम गरिरहेको कार्यालय सहयोगी वीरबहादुर बुढाथोकीले सुनाए।

‘अहिले करारका कर्मचारीलाई कार्यालयमा आएर ढोका खोल्ने कामबाहेक केही छैन’, उनले भने, ‘मुख्य सरहरू सबै सरुवा जानुभएपछि अहिले खासै काम चलेको छैन।’

कर्मचारी हिँडेपछि दोस्रो गाउँसभा अन्योलमा परेको छ। मुख्य कर्मचारी नै नहुँदा करारका तलबभत्ता पनि निकासा हुन सकेको छैन। प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला पाँच महिना नबित्दै सरुवा भई काभ्रे गएको जनाइएको छ। सहलेखापाल दलबहादुर भट्टराई बढुवा भई सिराहा गएका हुन्। खरिदार सन्तोष लुइँटेल मोरङको सुन्दरहरैंचा पुगेका छन् भने वडासचिव पेमाध्वज तामाङ पनि सरुवा लिएर रामेछाप गइसकेका छन्।

गाउँपालिकामा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य शाखा संयोजक जगन्नाथप्रसाद साहलाई दिइएको छ। गाउँपालिकाका १ र २ वडा वडासचिवले धानिरहेका छन् भने वडा नम्बर ४ सचिवविहीन छ। करार नियुक्ति गरिएका १८ कर्मचारीले गाउँपालिकाको काम धानिरहेको जनाइएको छ।

कर्मचारी अभावले विकास बजेट विनियोजन तथा कर्मचारी, शिक्षकको तलब वितरणसमेत अन्योलमा परेको गाउँपालिकाका सूचना तथा सञ्चार–प्रविधि अधिकृत ईश्वरप्रसाद भट्टले बताए। ‘दसैं नजिकिएका बेला तलब आउने कुनै छाँट देखिँदैन, साह्रै बिजोग भएको छ’, उनले भने, ‘कर्मचारी नहुँदा अहिले गाउँपालिकाको काम धान्न गाह्रो भएको छ। केही अधिकार छैन। योजनाका काम र आर्थिक लेनदेन पूर्णरूपमा स्थगित नै छ।’

यही असोज २० गतेभित्र गाउँसभा गरिसक्ने लक्ष्यसहित कर्मचारी ल्याउन गाउँपालिका अध्यक्ष महेश राई मन्त्रालयको चक्कर काटिरहेका छन्। संघीय मामिला मन्त्रालयले स्वीकृति दिए समयमै गाउँसभा सम्पन्न गरेर सम्पूर्ण कर्मचारीलाई तलबभत्ता खुवाउन सहज हुने अध्यक्ष राईले बताए। ‘एकसाथ तीन जना कर्मचारी हिँडेपछि हामीलाई योजनाका काम चलाउन समस्या भएको छ। आर्थिक पाटो पूरै ठप्प छ’, उनले भने, ‘कर्मचारी नहुँदा जनताको गुनासो र कर्मचारीको तलबभत्ता वितरण गर्न समस्या भएको छ। त्यसैले कर्मचारीको माग गर्न मन्त्रालय आएको छु।’

कर्मचारी नहुँदा दैनिकजसो सयौंको संख्यामा सेवाग्राही रित्तै फर्किने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.