कांग्रेसको झण्डा बाेकेर नाराजुलुसमा शिक्षक
राजविराज : नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट आइतबार निस्केको जुलुसमा जिल्लाका दर्जन भन्दा बढी शिक्षक पनि सहभागी भएका छन् ।
उनीहरु पढाउन छाडेरै पार्टीले आह्वान गरेको आन्दोलनमा आएका हुन् । निर्मला पन्तको हत्यारालाई दण्डित गर्न माग गर्दै उनीहरु नेपाली कांग्रेसको झण्डा सहित जुलुसमा सहभागी थिए ।
कांग्रेसको भ्रात्रृ संगठन नेपाल शिक्षक संघ र ट्रेड युनियनको नेतृत्वमा उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।
कांग्रेसनिकट शिक्षक संघ र नेपाल ट्रेड युनियन संघ सप्तरीले निर्देशन गरेकाले जुलुसमा सहभागी हुन आएको राष्ट्रिय प्रावि राजविराज ८ का प्रधानाध्यापक रिता पाण्डेले बताइन् ।
जुलुसमा प्रअ पाण्डेसहित सोही विद्यालयका शिक्षक रन्जना यादव, राप्रावि रन्जितपुरकी शिक्षक जन्जिरादेवी यादव, जनता आधारभुत विद्यालयका शिक्षक मनोज मण्डललगायत एक दर्जन बढी शिक्षक आएका हुन् ।
उनीहरु अधिकांशले कांग्रेसको झण्डा बोकेरै नाराजुलुस गर्दै हत्यारालाई कारवाही गर्न र गृहमन्त्रीको राजिनामा माग्दै नारा लगाएका थिए ।
सप्तरी कांग्रेस सभापति दिनेश यादवको नेतृत्वमा निक्लिएको जुलुसमा २ नम्बर प्रदेशका सांसद गीतादेवी यादव, शम्भुनाथ नगरपालिका उपप्रमुख कविता सरदार, विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव, उपाध्यक्ष जन्जिरा यादव, राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवसँगै विभिन्न जनवर्गीय संगठनका पदाधिकारी थिए।