साहित्यकार शास्त्री, शुभेच्छु र शर्मा सम्मानित
काठमाडौं : नेपाल स्रष्टा समाजले तीन स्रष्टालाई पुरस्कृत गरेको छ। ११औं वार्षिक साधारण सभाको अवसरमा शनिबार राजधानीमा नारायणदत्त शास्त्री, रमेश शुभेच्छु र सिर्जना शर्मा पुरस्कृत भएका हुन्।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शास्त्रीलाई सुभद्रा विश्वराज साहित्य सम्मान, शुभेच्छुलाई प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान र शर्मालाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान प्रदान गरे।
तीनवटै सम्मानको राशी ११ हजार एक सय ११ रुपैयाँ छ। कार्यक्रममा जीवनाथ पोखरेलको नियात्रा संग्रह जीवनका यात्रा र शंकरकुमार राईको कविताकृति हामी केही होइनौं र केही हौं विमोचन भएको छ।
साधारण सभाले डा. विधान आचार्यको अध्यक्षतामा डा. गोविन्दमानसिंह कार्की, पुष्पा खनाल, नवराज तिमिल्सिना र जानु धिताललाई क्रमशः उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा सर्वसम्मत छनोट गरेको छ।
कार्यसमितिका सदस्यमा डा. विष्णु राई, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, तर्कना शर्मा, लेखजङ्ग खत्री, रश्मि रिमाल समेत निर्विरोध निर्वाचित भएका छन्।
संरक्षकको भूमिकामा मनोनित तत्कालीन अध्यक्ष पवन आलोकले समाजलाई एक लाखको चेक हस्तान्तरण गरे। आचार्यले नयाँ पदाधिकारीले साहित्यिक क्षेत्रमा विशेष काम गर्ने प्रतिवद्धता व्यक्त गरे।