सिरहामा स्थानीयले घेरे प्रहरी कार्यालय
सिरहा : गएको भदौ ३१ गते सिरहाको गोलबजार ३ पुरानोडिह स्थितका ३८ वर्षीय हेमबहादुर ब्लोन तामाङ्गलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।
त्यस घटनामा संग्लन रहेका अपराधीलाई पता लगाउन नसकेको गुनासो गर्दै आक्रोशित स्थानीयवासीले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गरेका छन्।
चाडो भन्दा चाडो हत्याराको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने स्थानीयले माग गरेका छन्। स्थानीयले दिउँसो एक घण्टा प्रहरीको मूल गेटमा नाराबाजी गर्दै कोणसभासमेत गरे।
गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामाको नेतृत्वमा आएका स्थानीयले नाराबाजी गर्नुका साथै आठ दिनसम्म पनि अपराधी पक्राउ पर्न नसक्ने प्रहरीको अनुसन्धान प्रकृयामाथि नै प्रश्न उठाए।
गोलबजार क्षेत्रका विभिन्न अपराधमा संलग्न व्यक्ति, तस्कर चिन्ने प्रहरीले हत्यारा चाहीँ किन चिन्न नसकेको स्थानीय प्रवेश लामाले गुनासो गरे। ‘हामीले प्रहरी कार्यालय घेराउ सांकेतिक रुपमा गरेका छौँ,’ उनले भने, ‘हत्यारा पता लागेन भन्ने आन्दोलन अझ बढ्छ।’ सोही कोणसभामा बोल्दै जमदहका पूर्व गाविस अध्यक्ष तथा स्थानीय समाजसेवी पुष्पलाल पाख्रिनले प्रहरीको अनुसन्धानका लागि राजनीतिक दल हत्याको विषयमा जुनसुकै हिसाबले सघाउन तयार हुँदाहुँदै पनि हत्यारा पत्ता लगाउन नसक्नुले स्थानीय त्रसित भएको सुनाए।
यहाँका स्थानीयले यस अघि असोज ४ गते हत्यारा पत्ता लगाउन माग गर्दै इलाका प्रहरी कार्यालय, नगर र वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापन पत्रमा प्रशासनले हत्यारा पत्ता लगाउन नसकेको, सूक्ष्म अनुसन्धान नगरिएको, अनुसन्धानका लागि खटिएको प्रहरीले घटनाको सुराक पत्ता लगाउन नसकेको लगायतका आरोपहरु उल्लेख गरेका थिए।
तामाङलाई भदौ ३१ गते राती श्रीमती र छोरासँगै आँगन छेउको खुल्ला घरमा सुतेको अवस्थामा हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरीले घटनासँग सम्बन्धित रहेको आशंकामा मृतककी श्रीमती र छोरीसहित ३० जना स्थानीयलाई नियन्त्रणमा लिइ उनीहरुसँग सोधपुछ गरेका छन्।
नियन्त्रणमा लिएकालाई रिहा गरिसकेको छ। अझ अपराधी पता लगाउन संदिग्ध व्यक्तिको मोबाइल कल डिटेलसमेत झिकाएर अनुसन्धान भइरहेको उनले जानकारी गराए।
केहीदिन अघि पनि गोलबजार १० स्थित पुरानो चोहर्वाका कारीदेवी यादवको अपहरण गरी हत्या गरिएको थियो। त्यस घटनामा पनि स्थानीयले हत्याका आरोपीलाई खोजेर प्रहरीलाई बुझाएको थियो।
यस घटनासँगै सिरहामा डेढ महिनाको अवधिमा ६ वटा हत्याका घटना भएका छन्। अधिकांश घटनामा प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन्।