सय वर्षको सलाम
काठमाडौं : असोज ७ गते आइतबार। राष्ट्रपति विद्यादेवी भण्डारी बिहानै लैनचौर पुगिन्, फूलगुच्छा बोकेर। कवि माधवप्रसाद घिमिरेप्रति सम्मान र शुभकामना प्रकट गर्न उनी घिमिरे निवास पुगेकी हुन्।
राष्ट्रप्रमुखलाई कविघर पुर्याउने अवसर थियो, कविवरको सय वर्ष प्रवेश। राष्ट्रपतिले कविको आगामी दिन सिर्जनशील र स्वस्थ रहोस् भनी कामना व्यक्त गरिन्। बिहान घरमा र दिनभरि लैनचौरस्थित ब्याङवेटमा राष्ट्रकवि घिमिरेलाई जन्मदिवसमा शुभकामना दिनेको लर्को लाग्यो।
कार्यवाहक प्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखरेल घिमिरेलाई दोसल्ला ओढाएर सुस्वाथ्य र दीर्घायुको कामना गरे। ‘राष्ट्रकविलाई शुभकामना दिन पाउनु मेरो अहोभाग्य हो’, उनले भने। प्रधान सेनापछि पूर्णचन्द्र थापा पनि पुगे। घिमिरेलाई नेपाली सेनाले अघिल्लो वर्ष मानार्थ सहायक रथी उपाधि दिएको छ। प्रधान सेनापति थापाको गृहजिल्ला र घिमिरेको जन्मस्थान एउटै लमजुङ जिल्ला हो। थापाका बुबा कविका विद्यार्थी पनि हुन्। ‘मेरो उहाँसँग विशेष सम्बन्ध छ’, प्रधानसेनापति थापाले बताए, ‘राष्ट्रकविको देशप्रतिको मायाममताले मलाई यस समारोहसम्म तानेको हो।’
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा महासचिव विष्णु पौडेल, कांग्रेस नेता अर्जुननरसिंह केसी, साहित्यकारहरू वैरागी काइँला, सत्यमोहन जोशी, गंगा उप्रेती, विष्णुविभु घिमिरे लगायतले पनि भेटेर उनको दीर्घायुको कामना गरे।
सय वर्ष प्रवेशमा कवि जति खुसी र उत्सवी मुद्रामा थिए, उनीप्रति शुभकामना दिन आउनेहरू उत्साहपूर्वक पंक्तिबद्ध थिए। मन्दिरमा फूल चढाउन बसेका भक्तजनझैं कसैलाई हतारो थिएन।
घिमिरे परिवारले आयोजना गरेको जन्मोत्सवमा आफन्त, नातागोतादेखि नेता, मन्त्री र उनका प्रशंसकहरूले दीर्घायुको शुभकामना दिए। शनिबारदेखि नै शुभेच्छा ग्रहणमा व्यस्त कविको अनुहारमा रत्तिभर थकान देखिन्नथ्यो। सँगै बसेकी धर्मपत्नी केही थाकेजस्तो देखिन्थिन् तर उनी हँसिला र फुर्तिला थिए।
सय वर्षे जन्मोत्सवमा शुभकामना दिन पुगेका म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले घिमिरेका सबै गीत आफूहरूले व्यवस्थापन गर्न लागेको जानकारी दिए। म्युजिक नेपालले उनीबारे बनाएको डकुमेन्ट्री आइतबार युट्युबमा राखेको छ।
आइतबार बिहान कवि निवासमा सय वर्षे जन्मोत्सव पूजा गरियो। साथै उनकी पत्नी महाकालीको ८४ वर्षे पूजा पनि सम्पन्न भयो। पूजामा महाकाली र गौरीतर्फका घिमिरेका ससुराली खलकको उपस्थिति थियो।
लम्जुङको पुस्तुनमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेका कविता पुस्तक, गीति नाटक, खण्डकाव्य प्रकाशित छन् भने थुप्रै लोकप्रिय गीत रेकर्ड भएका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा लामो समय सेवा गरेका उनलाई सरकारले २०६० सालमा राष्ट्रकवि उपाधिले सम्मानित गरेको थियो।