तीन बालबालिकाको मृत्यु प्रकरण : ‘दोषी लुकाउन खोजियो’

तीन बालबालिकाको मृत्यु प्रकरण : ‘दोषी लुकाउन खोजियो’

भोजपुर : अरुण गाउँपालिकाको प्याउली मर्याङ डाँडामा तीन बालबालिकाको मृत्यु कसरी भएको थियो भन्ने अझै खुल्न सकेको छैन। दोषी पत्ता नलाग्दा पीडित परिवारले एक वर्षसम्म पनि न्याय पाउन सकेका छैनन्।

स्थानीय ८ वर्षीय प्रदीप फुयाँल, १४ वर्षीया सुष्मा फुयाँल र १५ वर्षीय रञ्जित सापकोटाका परिवारले न्याय पाउन नसकेका हुन्। सरकारबाट घटनाका दोषी पत्ता लगाउने र राहत दिने आश्वासन पाए पनि पीडित परिवारले त्यसपछि आफूहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन्।

छोराछोरीको रहस्यमय हत्यापछि न्याय नपाउँदा गाउँबाट विस्थापित पीडित सुनसरीको इटहरीस्थित हलगडामा बस्दै आएका छन्। मृतक प्रदीप र सुष्माका बाबु चेतनाथ र आमा निर्मला फुयाँलले घटनाका दोषी लुकाउन खोजिएको आरोप लगाएका छन्। ‘वर्षदिन पुग्दासम्म न दोषी पत्ता लाग्यो न त घटना सुल्झियो, हामीले कुनै राहत पनि पाएनौं’, चेतनाथले भने, ‘घटनाको ठोस निर्णयसम्म मात्र थाहा पाए कमसेकम चित्त बुझ्थ्यो।’ घरजग्गा त्यसै छाडेर उनी श्रीमती निर्मला, १३ वर्षीया छोरी सुष्मितालाई लिएर हलगडामा बाबुआमासँगै बस्दै आएका छन्।

एक वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन गृहमन्त्री जनार्दन शर्माको ढोका घचघच्याउन पुगे पनि उनीहरूको आश्वासन पूरा नभएको पीडितको गुनासो छ। कान्छो छोरो रञ्जित गुमाएका रवीन्द्र सापकोटाले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले न्यायको पहल गरिरहने बताए पनि अहिलेसम्म कुनै पक्षले वास्ता नगरेको गुनासो पोखे। वर्षदिन बितिसक्दा पनि के हुँदै छ भन्ने अत्तोपत्तो नपाएको उनले सुनाए।

पीडित परिवारले घटनालाई चाँडो निष्कर्षमा पुर्‍याउन माग गरेका छन्। न्याय र राहतको प्रतीक्षामा बसेका उनीहरूले पटक–पटक सम्बन्धित निकायसम्म बिन्ती बिसाए पनि बेवास्ता गरिएको गुनासो गरेका छन्। अरुण गाउँपालिकाले पनि घटनाका विषयमा चुस्त ढंगबाट घटनाको निचोड निकाल्न माग गरेको छ। गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले घटनाको नयाँ ढंगबाट खोजी हुनुपर्ने बताएका छन्। ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार रहँदा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पीडित पक्षलाई न्याय र राहतका लागि हामीले केन्द्रमा ५–६ पटक दौडधूप गर्यौं’, उनले भने, ‘अहिलेसम्म सरकारी पक्षले यसमा चासो लिएको छैन।’

घटनाका मिसिलका आधारमा ६५ जनाको कल डिटेलसहित सोधपुछ, २–३ वटा लेखापढी गरिएको जिल्ला प्रहरी भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए। घटनास्थल पोखरीको पानी र मृतकको श्वासनलीमा अड्किएको पानीका कणको ल्याब टेस्ट चलिरहेको जनाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी नारायणसिंह खड्काले मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेकाले जिल्लाले नै फलोअप गरिरहने बताए। घटनाको प्रकृति हेरेर केन्द्रको आदेशमा आवश्यक परेको खण्डमा ब्युरोले प्राविधिक सहयोग गर्ने उनको भनाइ छ।

घटनाको अनुसन्धान गर्न तत्कालीन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी काजीकुमार आचार्य नेतृत्वको संयुक्त टोली खटिए पनि प्रमाण जुटाउन सकेको थिएन। पछि सीआईबीका डीएसपी दधिराम न्यौपानेको नेतृत्वमा ०७४ साउन १३ गते टोली खटाइएको थियो। २०७४ असार १० गते शनिबार बेपत्ता भएका तीन बालबालिका दुई दिनपछि स्थानीय तोरण कार्कीको पोखरीमा मृत फेला परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.