सीपले सम्मानित जीवन
धनकुटा : सहिदभूमि–६ आँखीसल्लाका दम्पती रविना र नीलकुमार राई २०६१ सालमा धनकुटा सदरमुकाम आइपुगे। उनीहरूले धनकुटा बसपार्कछेउको टहरामा चिया पसल थापे। त्यसले घर धान्न गाह्रो भएपछि नीलकुमार ऋण काँढेर विदेश गए। रविना छिमेकी तुलमान राईसँग बाँसका सामग्री बनाउने सीप सिक्न थालिन्।
उनको बसाइ धनकुटा बजार भए पनि सीप सिक्ने ठाउँ फलाँटे थियो। फलाँटे पुग्न धनकुटा बसपार्कबाट हिले, पाख्रिबास हुँदै करिब दुई घण्टा लाग्छ। बिहान सबेरै बस चढेर फलाँटे पुगी सीप सिकेर उनी बेलुका घर आइपुग्थिन्। ‘जीविकोपार्जनका लागि अन्य विकल्प थिएन’, उनले भनिन्, ‘सीप नै जीविकोपार्जनको अन्तिम विकल्प हो भन्ने अठोट लिएँ। तालिम गर्ने ठाउँ टाढा भए पनि दुःख गरेरै सीप सिकें।’
कडा परि श्रमपछि उनी अहिले उद्यमी बनेकी छन्। उनले बाँसका सामग्री बनाएरै धनकुटा बजारमा दुईतले पक्की घर बनाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिन सफल भएकी छन्। काठमाडौंको भृकुटीमण्डपमा २०७१ फागुनमा आयोजित २६ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा उनले उत्कृष्ट उद्यमी पुरस्कारसमेत पाइन्। त्यसपछि पनि उनले राष्ट्रिय र स्थानीयस्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाइसकेकी छन्। तालिमका बेला सिकेको सीपलाई व्यावसायिक रूप दिएको उनको भनाइ छ।
‘सीप सिकाउने तुलमान दाइले समस्या देखाउँदै सञ्चालन भइरहेको उद्योग बिक्री गर्ने कुरा सुनाउनुभयो’, उनले भनिन्, ‘सीप भएकै कारण ममा एक्लै उद्योग सञ्चालन गर्ने आँट आयो र आफैं उद्योग किनें।’ बजार व्यवस्थापनको ज्ञान नहुँदा सुरुमा उद्योग सञ्चालनमा समस्या आएको उनले बताइन्। ‘उत्पादित सामानले बजार नपाउँदा धेरै दुःख पाएँ’, उनले भनिन्, ‘बाँसका सामग्री बिक्री गर्न धनकुटाका विभिन्न ठाउँका साप्ताहिक हाटबजार चहार्थें। पछि बिस्तारै सामग्रीले बजार पाए।’
उनका पति नीलकुमार सोचेजस्तो आम्दानी नभएपछि स्वदेश फर्किए। करिब डेढ लाख रुपैयाँ ऋण काँढेर दुबई पुगेका उनी अढाई वर्ष त्यता बसे। विदेश जाँदा लागेको ऋणसमेत उनले तिर्न सकेनन्। ‘विदेश जाँदा झोला बोकेर गएको थिएँ’, उनले भने, ‘फर्किंदा रित्तै।’
उद्योगको बिक्री कक्षमा सामग्री मिलाउँदै उद्यमी रविना राई।
धनकुटा आएपछि उनले पत्नीको व्यवसायलाई साथ दिए। ‘बाँसका सामग्री बनाउने सीप पुर्ख्यौली भएकाले जानेको थिएँ’, उनले भने, ‘पछि त्यही सीप जीविकोपार्जनको आधार बन्यो।’ अहिले उद्योगको बजार व्यवस्थापन नीलकुमार आफैं हेर्छन्। उद्योगलाई आवश्यक सामग्री उनीहरू मिलेर उत्पादन गर्छन्।
उद्योग सञ्चालनको केही वर्षपछि रविनाले घरेलु तथा साना उद्योग विकास समितिको मुख्य शाखामा बाँस हस्तकला उद्योग दर्ता गरिन्। उद्योगमा अहिले डालो, नाङ्लो, मुढा, चिया छान्ने, ढाकी, टिबक्स, डोको, र्याक, आङ्ला, पेन होल्डर, दराज, टेबललगायत तीन दर्जनभन्दा बढी विभिन्न प्रकारका सामग्री बन्छन्। यस्ता सामग्रीको मूल्य ५० देखि दुई हजार रुपैयाँसम्म पर्छ। उत्पादित सामग्री पूर्वी तराईका बजारसँगै काठमाडौंसम्म पुग्ने गरेको छ। स्थानीय बजारमा पनि सामग्री खपत हुने गरेको उनले बताइन्।
उद्योग विस्तार गर्न उनीहरूले घरेलु तथा साना उद्योग विकास समितिमार्फत सहुलियत ऋण लिएका छन्। नीलकुमार जिल्लाका विभिन्न ठाउँमा हुने तालिममा प्रशिक्षण दिन्छन्। प्रशिक्षणमार्फत मासिक २५–३० हजार रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछन्। उनी प्रशिक्षण दिन धनकुटासँगै सिरहा, सप्तरी, सुनसरीलगायत स्थान पुगेका छन्। सबै लागत कटाएर उद्योगबाट मासिक २२ हजार रुपैयाँसम्म बचत हुने गरेको रविनाको भनाइ छ। बाँसबाट निर्मित सामग्रीमध्ये सबैभन्दा बढी टी–बक्सको माग आउने गरेको छ। कमाइ राम्रै भएकाले उनीहरूले यसैलाई अझ विस्तार गरी अघि बढ्ने सोच बनाएका छन्।