सम्झना अब सम्झनामा

सम्झना अब सम्झनामा

काठमाडौं  : कीर्तिपुर अस्पतालको आईसीयु रुम। एसिड पीडित सम्झना दासको मुटुको चाल अत्यन्तै न्युन गतिमा धड्किरहेको थियो। पूरै शरीर कपडाले ढाकेर एउटै पोको बनाएजस्तो। डढेर कालो भएको अनुहारको थोरै भाग देख्न सकिन्थ्यो। आँखा बन्द थिए।

रौतहटकी १८ वर्षीया सम्झना दास भेन्टिलेटरभित्र जीवन-मरणको संघारमा निर्जीव प्रायः थिइन्। उनको पीडा न शब्दमा न व्यक्त गर्न सकिन्थ्यो, न अनुमान गर्न नै सकिन्थ्यो। अचेत अवस्थामा बेडमा लडिरहेकी उनको अवस्था चिन्ताजनक थियो। रौतहट चन्द्रपुर ६ की सम्झना र उनकी बहिनी सुस्मितालार्ई मध्यरातमा घरमै एसिड आक्रमण भएको थियो।

राति नै उनको ब्लड प्रेसर न्यून हुँदै गएको थियो। डाक्टरहरू घरि ब्लड प्रेसर बढाउने औषधी थप्दै थिए, घरि कृत्रिम सास दिइरहेका थिए। सम्झना निकै सुस्त गतिमा बाँच्ने सपनासँग लडिरहेकी थिइन्। अन्ततः यो लडाइमा उनी हारिन्। राति साढे एघार बजे उनले अस्पतालमा अन्तिम सास फेरिन्। परिवारको कल्कलाउँदो फूल फक्रिन नपाइ निमोठियो।

सोमबार दिउँसो १२ बजे

कीर्तिपुर अस्पतालकै दोस्रो तल्ला। वरिपरि मान्छेहरूको भीड छ। सम्झना दासको निर्जीव शरीर भर्खरै मात्र अस्पतालबाट बाहिर निकालिएको छ। उनका आफन्त, बहिनी सुस्मिता र आमा धनमाया तामाङका आँसु रोकिएका छैनन्। केही व्यक्ति उनलाई सम्झाउने र ढाडस दिने प्रयासमा छन्। आँखाबाट अनवरत खसिरहेको आँसु रोक्ने प्रयास गर्दागर्दै उनी भक्कानिन्छिन्।

सम्झना दास र उनकी बहिनी सुस्मिता दास अन्य दिनजस्तै तिजको अघिल्लो दिन खाना खाएर घरमै सुतेका थिए। मध्यरातमा कसैले बाहिरैबाट ढोका खोल्यो र सुतिरहेकी सम्झनामाथि एसिड खन्याइदियो। सम्झनासँगै सुतेकी सुस्मिताको पनि घाँटी र हातमा एसिड पर्‍यो। एसिडले सम्झनाको छाती, मेरुदण्डको भाग र अनुहार ध्वस्त पार्‍यो।

उनीहरूलाई तिजको दिन भदौ २७ गते ११ बजे कीर्तिपुर अस्पताल ल्याइपुर्‍याइएको थियो। उपचारका सबै उपाय प्रयोग गर्दा पनि गम्भीर अवस्थाका कारण उनी बाँच्न सकिनन्।

अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतका अनुसार सम्झनाको अवस्था अत्यन्त जटिल थियो। शरीरको ३५ प्रतिशत भाग जलेर काम नलाग्ने भएको थियो। उनी गम्भीर जलेको ‐मेजर बर्न) अवस्थामा थिइन्। अत्यधिक सेप्सिस ‐संक्रमण)का कारण उनको मृत्यु भएको हो।

नेपालमा ४० प्रतिशतभन्दा बढी जलेको मान्छेलाई बचाउन गाह्रो पर्ने डाक्टर बस्नेतले जानकारी दिए। बच्चाहरूका हकमा भने १० प्रतिशतभन्दा बढी शरीर जल्नु खतरापूर्ण हुन्छ। बस्नेतका अनुसार बिहीबार नै सम्झनाको अप्रेसन गरिएको हो। जलेको ‘डिप’ छाला जति काटेर फाल्नुपर्ने हुन्छ। सम्झनाकोे अप्रेसनपछि नै निरन्तर ज्वरो आइरहेको थियो, जसलाई खतराजनक मानिन्छ।

जलेको अवस्थामा सुरुमा छाला मात्र जलेको देखिए पनि भित्री रूपमा असर गरिरहेको हुन्छ। किड्नीलाई असर गर्ने, खोकी लाग्ने, पिसाब बन्द हुने जस्ता समस्या देखिन थाल्छन्।

सुस्मिता र सम्झना दुवै जनज्योती माविमा ६ र ७ कक्षामा अध्ययन गर्दै थिए। सम्झना केही समयअघि काठमाडौंको बौद्धमा बसेर गाउँ फर्केकी थिइन्। उनकी आमा धनमाया तामाङ वैदेशिक रोजगारी क्रममा मलेसियामा थिइन्। बाबु जादोलाल, बहिनी र भाइ तथा कान्छी आमा परमशीलासँग उनी बस्दै आएकी थिइन्।

सम्झनाकै घर नजिककै छिमेकी हुन्, ५३ बर्से रामबाबु पासवान। सम्झनाका दिदीबहिनीले उनलाई ठूलोबुवा सम्बोधन गर्थे। छोरी भनेर माया गर्ने र दुःखसुखमा कहिलेकाहीं साथ पनि दिने गर्थे। यसरी बाबु सम्बोधन लगाएर हुर्केका छोरीमाथि उनैले यस्तो कुकर्म गर्ला भनेर कसले सोच्ने ? आखिर तिनै व्यक्ति सम्झनाका हत्यारा बने। आमा धनमाया भन्छिन्, ‘सानो छँदा त्यही छिमेकीकको काखमा खेलेरै हुर्केका हुन्, मेरा छोराछोरी।’

एसिड हान्नेप्रति आक्रोशित अभिभावकले दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

धनमाया आफ्नो विगत सुनाउँदै भन्छिन्, ‘बनिबुतो गरेर सारै दुःखले हुर्काएकी हँु मैले छोराछोरी। मेरो छोरी मार्नेलाई म पनि तेजाब खन्याउन चाहन्छु, के मलाई यसो गर्ने छुट छ ? ’

बहिनी सुस्मिता भावविह्वल मुद्रामा टोलाइरहेकी छन्। सँगै खेल्ने, रमाउने दिदी अब यो संसारमा छैनन् भन्दा उनका आँखा हिजोदेखि नै ओभाएका छैनन्। सुस्मिताको घाँटी र हातमा एसिड परेको छ। उनको पनि अप्रेसन गरिएको छ। करिब एक हप्तापछि उनलाई डिस्चार्ज गर्र्ने बताइएको छ। एसिडले जलेर हातमा बनेको कालोे दागले उनलाई जीवनभर दिदीको सम्झना गराइरहने छ।

सम्झनाको शव सोमबारै अस्पतालले परिवारको जिम्मा लगायो। टिचिङ अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरी गृह जिल्ला रौतहट लगिने बताइएको छ। भोलि उनको परिवारिक संस्कारअनुसार अन्तिम संस्कार गरिनेछ।

‘विदेश नगएको भए बचाउन सक्थें कि ? ’

२० वर्षअघि मैले जादोलालसँग प्रेम विवाह गरेकी हँु। प्रेमका अगाडि मैले केही देखिन। बाबुआमा, दाजुभाइ र आफन्त सबै त्यागें। तामाङकी छोरी दाससँग बिहे गरी भनेर आजसम्म पनि दाजुभाइ मसँग बोल्दैनन्। जादोलालको घरमा अत्यन्तै दुःख थियो। सम्पत्तिका नाममा केही थिएन। उसको कमाइ पनि केही थिएन। कहिले ज्यालादारी त कहिले तरकारी बेचेर भएपनि मैले छोराछोरी हुर्काएकी थिएँ।

छोराछोरी बढ्न थालेपछि भने खर्च धान्न गाह्रो हुन लाग्यो। खेती गरेर खाउँ भने जग्गाजमिन थिएन। बाध्य भएर विदेश गएँ। मलेसियाको भिसा हातमा परेपछि नै मैले छोराछोरीसँग माया बाँड्न पाइनँ। आत्मीयता साट्न पाइनँ। तीनतीन वटा छोराछोरी यही छाडेर विदेश जान बाध्य भएँ। म साथमा भएको भए सायद यस्तो घटना हुन्थेन होला। हरेक दिन पश्चातापमा बाँचिरहेकी छु। कमाएर छोराछोरीलाई सुख दिन्छु भनेर विदेशिएँ, बदलामा आज मैले मेरी फूलजस्ती छोरी अकालमै गुमाउनु पर्‍यो। अर्की छोरीले जिन्दगीभरि एसिडको दाग लिएर बाँच्नुपर्छ। यसको जिम्मेवार म हो।

विदेशमा तीन वर्ष बसेर आएँ। केही कमाएर १० धुर जग्गा पनि जोडेका थियौं। तर परिवारमा भने खटपट आउन थाल्यो। घरमा जादोलालसँग सम्बन्ध बिग्रँदै गयो। उनले वास्ता नगर्ने र गाली मात्रै गर्ने गर्थे। मैले डिभोर्स देऊ भनेर मुद्दा हालें। तर उसले मानेन। डेढ वर्षपछि म पुनः मलेसिया गएँ। छोराछोरीहरू सबै घरमै थिए। म विदेश गएको ५ दिनपछि उसले अर्को बिहे गरिसकेछ। छोरीहरू एसिड आक्रमणमा परेपछि पनि उसले जानकारी दिएन।

बिहीबार (भदौ ४) मात्र नेपाल आएकी हुँ। दुःखले कमाएको ५० हजार रूपैयाँ मैले श्रीमान्को नाममा पठाएकी थिएँ। घरमा आउने बेला टिकट काट्ने पैसा नभएर साथीसँंग चन्दा उठाएर आएकी हुँ। यहाँ आएको दिन सम्झना मसँग बोलेकी थिई। ‘ममी मैले तपाईलाई खुसी दिन सकिनँ भन्दै रोई। पानी र एउटा स्याउ काटेर खुवाएकी हुँ। बिस्तारै उसको अवस्था बिग्रँदै जान थाल्यो। अप्रेसनपछि ऊ तङ्ग्रिन सकिनँ। हिजो मलाई छाडेर गई।

एसिड हान्ने पासवान पहिले छिमेकी नै थियो। मलाई बेलाबेला छोराछोरीको खबर सुनाउँथ्यो। श्रीमान्ले अर्को बिहे गरेपछि मैले उसकै मोबाइलमा फोन गरेर छोराछोरीबारे जानकारी लिन्थें। उही छोरीको काल बनेर आयो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.