लय समात्दै रोनाल्डो
मिलान : क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा युभेन्टसले इटालियन सिरी ए लिगमा यो सिजन आफ्नो जितको यात्रालाई कायमै राखेको छ। युभेन्टसले आइतबार अबेर राति भएको खेलमा यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको फ्रोसिनोनमाथि २-० गोलको जित हात पारेको छ।
खेलमा युभेन्टसलाई विजयी बनाउन दुईमध्ये पहिलो गोल उनै रोनाल्डोले गरेका थिए। गत बुधबार युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलको क्रममा स्पेनिस क्लब भ्यालेन्सियाविरुद्ध पहिलो हाफमै रातो कार्ड बेहोरेपछि रोनाल्डो निक्कै दुःखी देखिएका थिए। नयाँ क्लब युभेन्टसमा अभ्यस्त हुन संघर्ष गरिरहेका रोनाल्डोमाथि बुधबारको रातो कार्डको घटनाले अझ बढी दबाब थपिने अनुमान गरिएको थियो।
यद्यपि त्यसपछिको पहिलो खेलमै गोल गर्दै रोनाल्डोले अन्य कुनै पनि आशंका र आलोचनालाई असफल पारिदिएका छन्। यसै सिजन स्पेनिस टोली रियल म्याड्रिड छाडेर युभेन्टससँग अनुबन्ध भएका रोनाल्डो नयाँ टोलीबाट सिजनको सुरुआती खेलमा गोल गर्न असफल देखिएका थिए। यद्यपि उनले घरेलु लिग सिजनको अन्तिम दुई खेलमा भने लगातार गोल गर्न सफल भएका छन्।
खेलको निर्धारित समय सकिनु मात्रै नौ मिनेट अघि गोल गर्दै रोनाल्डोले युभेन्टसलाई १-० ले अघि बढाएका थिए। मिरालेम पिजानिकले प्रहार गरेको बल रोनाल्डो भएतर्फ आएको थियो, जसलाई उनले गोलमा परिणत गराएका हुन्। यससँगै युभेन्टसका लागि उनको यो तेस्रो गोल बनेको छ। उनले अघिल्लो साता सोसुलोविरुद्ध भएको खेलमा समेत टोलीका लागि दुई गोल गरेका थिए।
त्यसपछि टोलीको दोस्रो गोलमा पनि उनको योगदान रह्यो। काउन्टर एट्याकमा उनको पनि योगदानमा फेडेरिको बर्नार्डेचीले अतिरिक्त समयमा गोल गरेपछि युभेन्टस २-० गोलले विजयी बनेको थियो।
रोनाल्डोको प्रदर्शनमा युभेन्टसका कप्तान जियोर्जियो चिलेनीले पनि खुसी व्यक्त गरे। ‘रोनाल्डोले अझै धेरै गोल गर्नेछन्। उनी कुनै पनि समस्याभन्दा माथि छन्’, जितपछि युभेन्टसका कप्तान चिलेनीले भनेका छन्, ‘गत बुधबारको खेलमा रातो कार्ड पाउनुमा उनको दुर्भाग्य रह्यो। तर, उनी हाम्रा सबै खेलमा निर्णायक बन्ने छन्।’ इटालियन सिरी ए लिगमा आइतबार पाँचांै खेलमा लगातार जित हात पारेको युभेन्टस १५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा आसीन छ। हालसम्म कुनै पनि टोलीविरुद्ध गोलसमेत गर्न नसकेको फ्रोसिनोन भने २० टोली सहभागी रहेको लिगको अन्तिमबाट दोस्रो स्थानमा पुगेको छ।