सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तकालय सुनसान

सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तकालय सुनसान

भद्रपुर : सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण झापाका अधिकांश पुस्तकालयमा पाठक जान छाडेका छन्। दिनमा कम्तीमा ५० जना आएर अध्ययन गर्ने पुस्तकालयमा हाल मुस्किलले चार–पाँच जना आउने गरेका छन्।

पुस्तकालय खोल्ने क्रम ठप्प छ भने खोलिएका पनि बन्द हुने क्रम बढ्दो रहेको जनाइएको छ। नयाँ किताब किन्नेको संख्या बढेको देखिए पनि पुस्तकालय गएर पढ्ने रुचि नदेखिएको प्राध्यापक रामनाथ शर्मा बताउँछन्। उनका अनुसार अहिले हात–हातमा इन्टरनेट हुन्छ। ‘जे चाहिएको हो, हातमै भेटिन्छ’ उनी भन्छन्, ‘अहिलेका युवा एउटै किताबमा घण्टौं घोत्लिएर बस्दैनन्।’

बिर्तामोडस्थित सीके चिन्तन प्रतिष्ठानको पुस्तकालय २०५३ सालमा स्थापना भए पनि २०६८ सालदेखि मात्र सञ्चालनमा आएको हो। पुस्तकालयका संस्थापक अध्यक्ष साहित्यकार कृष्ण धरावासी हुन्। अरूभन्दा राम्रो मानिएको यो पुस्तकालयको अवस्था पनि दयनीय नै रहेको जनाइएको छ। करिब ७० लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको पुस्तकालय एक वर्षदेखि अध्यावधिक गरिएको छैन।

पुस्तकालयमा ४० हजार किताब रहेको सञ्चालक समितिका अध्यक्ष लोकराज ढकालले सुनाए। फेसबुकलगायत सामाजिक सञ्जाल र हरेकसँग इन्टरनेटको सहज पहुँचका कारण पुस्तकालय धाएर सिंगो किताब अध्ययन गर्ने प्रवृत्ति घटेको उनको भनाइ छ। धरावासीसहित वैरागी काइँला, होमनाथ दाहाल, राजनीतिज्ञ कृष्णप्रसाद सिटौलालगायत साहित्यकारहरू आबद्ध उक्त पुस्तकालयको साख समय अनुसारका पुस्तकहरु अद्यावधिक गर्न सके मात्र रहने ढकालले अन्नपूर्ण सँग भने।

६७ वर्ष पुरानो भद्रपुर पुस्तकालय गुमनाम अवस्थामा छ। केही वर्षयता पुस्तक अध्यावधिक नगरिएकाले पुस्तकालय बन्द अवस्थामा छ। भाषाविद् महानन्द सापकोटाको पहलमा पुस्तकालय खोलिएको थियो।

भद्रपुर नगरपालिका–५ मा १० धुर जग्गामा दुईतले भवनमा रहेको पुस्तकालयको तल्लो तला अहिले तरकारी व्यापारीले उपयोग गरेका छन्। पुस्तकालयका किताब मुसाले नष्ट पारेको अवस्थामा रहेको पत्रकार गोविन्द चन्द क्षेत्रीले बताए। स्थानीय र सरोकारवालाले ध्यान दिन नसक्दा पुस्तकालयको बिजोग भएको उनको भनाइ छ।

गौरीगन्जस्थित त्रिभुवन आदर्श पुस्तकालयले पनि पाठक पाएको छैन। करिब १ हजार पुस्तक रहेको पुस्तकालयको एकतले पक्की भवन र गौरादह–९ मा तीन बिघा जग्गा छ। एक जना कर्मचारीले रेखदेख गर्दै आएको पुस्तकालयमा साहित्यकार दौलतविक्रम विष्टले २०४५ सालदेखि तीन वर्ष साहित्य साधनासमेत गरेको स्थानीय अग्रज बताउँछन्।

दमकस्थित पब्लिक लाइब्रेरी र भद्रपुरको लेखनाथ पुस्तकालय स्थानीय युवा साहित्यकारले खोलेका कारण पाठकको अभाव देखिँदैन। ‘किताब थोरै छन्, ठाउँ पनि सानो छ तर पाठकको रुचि के छ भन्नेमा हामी बढी ध्यान दिन्छौं’, लेखनाथ पुस्तकालयका देवीचरण भण्डारीले भने। उनका अनुसार ५ हजार किताबलाई व्यवस्थित गरी नयाँ पनि थप्ने गरिएकाले पाठकको अभाव नभएको हो।

२०६९ सालमा स्थापना भएको दमकस्थित पब्लिक लाइब्रेरीमा ६ हजार पुस्तक रहेको अध्यक्ष भेषराज न्यौपानेले बताए। ‘केटाकेटीदेखि वृद्धसम्मका पाठक लाइब्रेरीमा आउने गरेका छन्’, उनले भने। झापाका आठ पुस्तकालय विगतमा देशमै चर्चित थिए। हाल पाठक अभावमा अधिकांश बन्द हुने अवस्थामा पुगेका छन्।

मेचीनगरमा अवस्थित त्रिफला राष्ट्रिय पुस्तकालय र गौरादहको गौरादह सामुदायिक पुस्तकालयको अवस्था पनि उस्तै छ। जिल्लाकै सुविधासम्पन्न पुस्तकालयका रूपमा हेरिने त्रिफला पुस्तकालयको २ कट्ठा ५ धुर जग्गामा तीनतले भवन छ। ‘भवनमा कम्प्युटर, प्रिन्टर र इन्टरनेटजस्ता हरेक माध्यम हामीले उपलब्ध गराएका छौं तापनि पाठक आउँदैनन्’, पुस्तकालयका संस्थापक प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले भने। उनका अनुसार हाल ४५ हजार पुस्तक र पत्रपत्रिका छन् तर महिनामा ५० जना मात्र पाठक आउँछन्।

गौरादह सामुदायिक पुस्तकालयले केही वर्षअघि देशकै उत्कृष्ट नमुना पुस्तकालयका रूपमा सम्मान पाएको थियो। तर, दुई वर्षदेखि नयाँ पुस्तक थप्नै नसकिएको पुस्तकालय संस्थापक भोजराज दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.