एसिड उपलब्धतामा कडाइ चाहिन्छ
एसिड आक्रमणपछि मृत्युसँग जुधिरहेकी रौतहटकी किशोरी सम्झना दासको निधनले फेरि एकपटक प्रश्न उभ्याइदिएको छ– के यो देशमा महिला मारिनकै लागि जन्मिने गर्छन् ? महिलालाई हेर्ने दृष्टिकोण, त्यो दृष्टिकोण जन्माउने सामाजिक चिन्तन र राज्यको भूमिकासमेत हेर्दा एसिड आक्रमण केवल भौतिक मात्र होइन भन्ने बोध हुन्छ। यो घटनाअनुसार दुइटा विषयमा छलफल हुनुपर्छ। एक– एसिडलाई हतियारका रूपमा प्रयोग गर्नसक्ने सहजता कसरी उत्पन्न भयो ? दुई– एसिड आक्रमणपछाडि जोडिने मानसिकता कसरी बन्छ, बनाइन्छ ?
एसिडको सहज उपलब्धता संसारभरि नै बहसको विषय बनेको छ। खासगरी हाइड्रोक्लोरिक एसिड र सल्फ्युरिक एसिड (तेजाब) प्रचलनमा आउने गर्छ। धेरैजसो रासायनिक प्रतिक्रियामा भाग लिने भएकाले तेजाबलाई रसायनहरूको राजा भनिन्छ। औद्योगिक विकासमा तेजाब उत्पादन र उपलब्धता हुनुपर्छ भन्ने मान्यता छ। गाउँघरमा सुन खार्नदेखि उद्योगहरूमा प्रशोधन र उत्पादनमा आवश्यक पर्ने तेजाब मानव जीवनको सहजताका लागि निर्माण गरिएको हो। तर अपराधको मानसिकताले हरथोकलाई आपराधिक क्रियाको साधन बनाउन सक्छ। त्यसैले तेजाबलगायतका हानिकारक रसायनहरूको बिक्री वितरणको नियमनबारे छलफल चलिरहेको छ।
एसिड आक्रमणको बढ्दो प्रवृत्तिलाई मध्यनजर गरेरै अहिले धेरै देशले यसको बिक्री वितरणका लागि अनिवार्य लाइसेन्सको व्यवस्था गरेको छ। आवश्यकताको कारण पुष्टि गरेर तोकिएको कामका लागि तोकिएको कडापनको एसिड खरिदबिक्री गर्न पाइने गरी कानुन तर्जुमा गर्न आवश्यक छ। विडम्बना पटकपटक एसिड आक्रमणका कारण किशोरीहरूले ज्यान गुमाएको, शारीरिक रूपमा अंगभंग भएकोजस्ता घटना बारम्बार सार्वजनिक हुँदा पनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पुर्याएको छैन। आवश्यक कडा नियम र नियमन गर्न नसक्नु सरकारको कमजोरी हो। बजारमा पानी किनेजस्तो सहज तरिकाले एसिड पाउनु भनेको अपराधका निम्ति चरहरू खुला राख्नु हो। सरकार यसमा सचेत हुनैपर्छ।
सम्झना दासको घटना राज्यको निम्ति एक केश स्टडी हुन सक्छ। पितासरहका छिमेकी रामबाबु पासवानले सम्झनालाई आपूmले भनेको नमानेकै कारण आक्रमण गरेको खुलासा भएको छ। यसले देखाउँछ– आफूले भनेको महिलाले मान्नैपर्छ भन्ने मानसिकता पुरुषहरूमा हावी छ। भनेको नमानेपछि कुनै न कुनै तरिकाले बदला लिने प्रवृत्ति कसरी निर्माण भयो भन्नेबारे चिन्तनको आवश्यकता छैन र ?
यस्तो मानसिकता निर्माणमा केही कारणको भूमिका छ। सबैभन्दा प्रमुख कारण हो– समाजमा विद्यमान पुरुषवादी मानसिकता। पुरुष पहिलो हो, उसका सबै रहर जायज छन् भन्ने मानसिकताले अपराध बढाउँछ। यस्तो मानसिकताको विकासमा हाम्रा साहित्य र कलाकर्मीहरू पनि जिम्मेवार छन्। राज्य तहबाटै यस्तो मानसिकता न्यून गर्न पहलकदमीको आवश्यकता छ। त्यसका लागि सचेतना आवश्यक छ। महिला सशक्तीकरण जति आवश्यक छ, पुरुषलाई सचेतना पनि त्यत्ति नै आवश्यक छ।
अर्को कारण हो, दण्डहीनता। दण्ड र पुरस्कार समाजलाई नियमन गर्ने राज्यका प्रभावकारी हतियार हुन्। दण्डको डरले मानिसमा स्वविवेक निर्माण हुन्छ। ठूलाठूला अपराधका दोषी पनि विभिन्न निहुँमा छुट्ने गरेकाले समाजमा आपराधिक मानसिकता फैलिरहेको छ। राज्यले हर तहका र हरेक वर्गका जनताले न्याय पाउँछन् भन्ने बोध गराउन सकेको छैन। त्यसैले कमजोर सामाजिक पृष्ठभूमि र आर्थिक हैसियता भएका महिला बलात्कारदेखि एसिड आक्रमणको सिकार बनिरहेका छन्।