प्रदेश राजधानी माग्दै डोटीमा फेरि आन्दोलन
डोटी : प्रदेश नम्बर ७ को नाम र राजधानी सिफारिस गर्न गठित प्रदेश संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनविरुद्ध डोटीमा आन्दोलन सुरु भएको छ । बुधवार डोटीको सिलगढीमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनका कार्यक्रम तय गरेको छ ।
आन्दोलनको तालिका अनुसार बुधवार साँझ दिपायल सिलगढी नगरपालिकाका प्रत्येक घरमा कालो झण्डा राख्ने तय भएको छ । यस्तै डोटीको दिपायलमा समितिले दिएको प्रतिवेदन जलाउने कार्यक्रम तय भएको छ ।
आन्दोलन अन्तरगत बिहिवार बिहान ११ गते जुलुश प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोण सभा गर्ने, साँझ दिपायलमा विरोध प्रदर्शनसहित कोण सभा र साँझ मसाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै १२ गतेदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने निर्णय वैठकले गरेको छ । सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
प्रदेशको नामाकरण र राजधानीबारे सुझाव दिन साउन १५ गतेको प्रदेश सभा बैठकले प्रदेश सभा सदस्य तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय संसदीय बिशेष समिति गठन गरेको थियो ।
समितिले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीमा राख्नु पर्ने र प्रदेशको नाम सुदूरपश्चिम प्रदेश राख्नु पर्ने सिफारिस गरेको थियो । उक्त प्रतिवेदन मंगलवार प्रदेश सभामा पेश भएपछि डोटी आन्दोलति भएको हो ।
प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग राख्दै यस अघि डोटीमा ६४ दिनसम्म लगातार आन्दोलन भएको थियो । आफ्नो माग बेवास्ता गर्दै समितिले प्रदेशको राजधानी तोकेको भन्दै डोटी फेरि आन्दोलित भएको हो । आन्दोलनका कारण बुधवारदेखि हुने शिक्षक सेवा आयोगको परीक्षा समेत प्रभावित हुने भएको छ ।