खसीबोकाको व्यापार बढ्यो
तेह्रथुम : हिन्दूहरूको महान् चाड दसैं नजिकिएसँगै जिल्लाका बजारमा खसीबोकाको व्यापार बढ्न थालेको छ। दसैं खर्च जुटाउन पालिएका खसीबोका बिक्री गर्नेको ताँती बजारहरूमा देखिन थालेका छन्।
यतिबेला गाउँगाउँका बजारहरूमा खसी किन्न व्यापारीहरू पुग्ने गरेका छन्। दसैं नजिकिएसँगै पूर्वका बजारहरूमा खसीबोका खरिद–बिक्री ह्वात्तै बढेको छ। तेह्रथुम सदरमुकाम म्याङलुङका साथै क्षेत्रीयस्तरमा रहेको वसन्तपुर, शुक्रबारे, जिरीखिम्ती, औंसी बजार, संक्रान्ति मोराहाङ बजारलगायत स्थानमा व्यापारीहरू पसेका छन्।
हाटबजारमा खसीबोका बिक्री गरी चाड मनाउने सोच बनाएका म्याङलुङ नगरपालिका–७ का आइतबहादुर कार्कीले भने, ‘घरमा पाँच वटा खसी पालेको छु। दुई वटा बिक्री गरेर दसैं मनाउने सोचमा छु’, उनले भने, ‘छोरी ज्वाइँलगायत आफन्त टीका थाप्न आउँछन्। यसो मिठो मसिनो खुवाउनै पर्यो।’
ग्रामीण भेगका कृषकहरू चाडबाड खर्च जुटाउन आफूले पालेका खसीबोका बिक्री गर्न व्यस्त छन्। खसीबोका खरिदका लागि जिल्लाबाहिरबाट प्रशस्तै व्यापारी छिर्न थालेका म्याङलुङ–५ का रुद्र खड्काले बताए। भने, ‘पहिलेका वर्षभन्दा यसपटक व्यापारी धेरै भित्रिएका छन्।’
पहाडी क्षेत्रमा पालिएका खसीबोकाको मासु मीठो हुने भएकाले पनि खरिदका लागि तेह्रथुम आउने गरेका छन्। स्थानीय तथा उन्नत जातका खसीबोका ग्राहकहरूको रोजाइमा पर्ने गर्छ। अरूबेला दैनिक २० देखि २५ वटा खसीबोका बिक्री हुने स्थानीय बजारमा अहिले तीन सय वटासम्म बिक्री हुन थालेको छ।