चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ
बाँके : बाँकेमा चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–१ गाभरस्थित ६ नम्बर होमस्टेको कटेजबाट दुई वटा चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ परेका हुन् । पाँच नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिया बाँसगढी–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण बादी रहेका छन् ।
चन्दनको झोलाबाट चितुवाको जुँगा, नङ र खुरसहितको १ सय ४ इन्च लम्बाई भएको छाला तथा ६ वटा दाह्रा बरामद भएको छ । कृष्णको झोलाबाट जुँगा, नङ र खुरसहितको ९० इन्च लामो छाला बरामद भएको ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।
प्रहरी निरीक्षक पौडेलले दुवै चितुवा गोली प्रहार गरी मारिएको हुन सक्ने बताए। प्रहरी निरीक्षक पौडेलले भने, ‘दुई वटै छालामा बुलेट लागेको प्वाल भेटिएको छ । पक्राउ परेकाहरू पेशेवर चोर शिकारी हुन् वा बन्यजन्तुको अङ्ग÷प्रत्यङ्गका अवैध कारोबारी हुन् भन्ने अनुसन्धानपछि खुल्ला ।’
पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ । डिभिजन वन कार्यालयका रेन्जर रमेश बुढाथोकीका अनुसार बरामद छाला र दाह्रा थोप्ले चितुवाको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (३) अनुसार थोप्ले चितुवाको अङ्ग÷प्रत्यङ्गको चोरी शिकार गर्ने वा कारोबार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद वा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।