मेलम्ची आउन अझै तीन महिना

मेलम्ची आउन अझै तीन महिना

 काठमाडौं : दसैंमा काठमाडौंवासीका घरमा मेलम्चीको पानी आउने खानेपानी तथा सरसफाइमन्त्री बिना मगरको दाबी पूरा नहुने देखिएको छ । सुरुङ निर्माणमा भइरहेको ढिलाइले बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी काठमाडौं आउन अझै तीन महिना लाग्ने बताइएको छ ।

करिब २६ किलोमिटर लामो सुरुङमध्ये १० किलोमिटर सुरुङ निर्माण बाँकी रहेको मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले जानकारी दिए । बिहीबार राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई मेलम्ची आयोजनाबारे जानकारी दिँदै उनले भने, ‘दसैंमा पानी ल्याउन गाह्रो छ, हामीले अनुमान गरेअनुसार काम हुन ढिलाइ भयो ।’

१० हजार ५ सय ३३ मिटर सुरुङको फिनिसिङ गर्ने काम बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘६ फेजमा काम भइरहेको छ । दैनिक २ सयदेखि २ सय ५० मिटर खन्ने लक्ष्य हो, सोहीअनुसार काम भइरहेको छ, बढीमा ३ महिनाभित्र काठमाडौंमा पानी आइपुग्छ ।’ आयोजना निर्माण कम्पनीसँग कात्तिक पहिलो हप्ता (अक्टोबर २६) सम्म सुन्दरीजलमा पानी खसाल्ने सम्झौता भएको थियो । आवश्यक निर्माण सामग्री बाहिरबाट ढुवानी गर्नुपर्नेदेखि ठेकेदारसम्म सबै बाहिर भएकाले निर्माणमा ढिलाइ भएको आयोजनाको भनाइ छ ।

सुरुङ निर्माणसँगै सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण जारी छ । १७ करोड लिटर मेलम्चीको पानी आउने भए पनि सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको पानी ट्यांकी मात्र निर्माण सम्पन्न भएको आयोजना प्रमुख कँडेलले बताए । ‘ट्यांकी निर्माणसहित बाँकी सबै काम तीव्रताका साथ भइरहेको छ, निर्माणमा कुनै विवाद पनि छैन’, उनले भने, ‘१८ वर्ष मेलम्चीको पानी कुरेर बसेका उपत्यकावासीले अब बढीमा तीन महिना कुर्नुपर्ला ।’ सुरुङमा गेट बनाउनेदेखि पाइप बिछ्याउने काम पनि एकैसाथ भइरहेको बताए । सुन्दरीजलबाट काठमाडौं उपत्यकाका नौवटा ट्यांकीमा मेलम्चीको पानी खसालिनेछ ।

एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को आर्थिक सहयोगमा निर्माण भइरहेको बहुचर्चित मेलम्ची आयोजना सन् २००७ मा सम्पन्न गर्ने गरी २००१ मा सुरुवात भएको थियो । आयोजनाले पहिलो चरणमा १७ करोड पानी काठमाडौंमा ल्याउने काम सकिएपछि दोस्रो चरणको काम पनि सुरु हुने जनाएको छ । मन्त्रालयका अनुसार मेलम्चीबाट थप ३४ करोड लिटर पानी काठमाडौंमा ल्याउने गरी काम सुरु हुनेछ । ‘हाम्रा लागि यो प्रोजेक्ट नयाँ पनि हो, सिकाइ पनि भयो, यसैले धेरै समय लाग्यो, मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने, ‘दोस्रो प्रोजेक्ट तीन वर्षमा काम सक्ने गरी सरकारले तयारी अगाडि बढाएको छ ।’

समिति सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका सांसद खिमलाल भट्टराईले मेलम्चीको पानी काठमाडौं कहिले आउँछ भन्नेमा सबैको चासो रहेको बताएका थिए । उनले भने, ‘उपभोक्ताले प्राविधिक पक्षभन्दा पनि मेलम्चीको पानी कहिले आउँछ भनेर कुरेर बसेका छन्, सरकारले ढिला नगरी आयोजना सक्नेतर्फ ध्यान दिनुपर्छ ।’

अर्का समिति सदस्य एवं कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले आयोजना निर्माण सम्बन्धमा देखिएका विवाद मिलाएर कामलाई तीव्रता दिन सुझाव दिएका थिए । समिति सभापति दिलकुमारी रावल (थापा)ले वर्षाैंदेखि मेलम्ची आयोजनाको पर्खाइमा काठमाडौं उपत्यकावासी रहेको भन्दै जतिसक्दो छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिइन् । समितिले असोज १४ गते मेलम्चीको आयोजनाको स्थलगत निरीक्षण गर्ने भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.