ढुंगागिट्टी ढिलो ठेक्का लाग्दा समस्या
धनकुटा : स्थानीय तहले ठेक्का लगाउन ढिला गर्दा गिट्टी, ढुंगा, बालुवा निकासीमा लगाइएको प्रतिबन्ध फुकुवा भए पनि अझै नदीजन्य वस्तुको संकलन तथा बिक्री हुन सकेको छैन । सरकारले लगाएको तीनमहिने प्रतिबन्ध असोज १ गतेबाटै फुकुवा भए पनि स्थानीय तहले ठेक्का लगाउन ढिला गर्दा नदीजन्य वस्तु संकलन तथा बिक्री हुन नसकेको हो ।
जसले नदीजन्य वस्तु संकलनमा संलग्न मजदुर बेरोजगार भएका छन् । भने निर्माणको काममा असर पुगेको छ । विगतका वर्ष नदीजन्य वस्तुको ठेक्का जिल्ला समन्वय समितिले लगाउँदै आइरहेको थियो । तर यो वर्ष प्रदेश सरकारले आफैं कानुन बनाएर आर्थिक ऐन तयार पार्दै स्थानीय तहलाई ठेक्का लगाउने जिम्मा दिएको थियो ।
जिल्लाका सातमध्ये केही स्थानीय तहले बोलपत्र आह्वानको सूचना र केहीले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) तयार गरिरहेका छन् । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन बनाउन ढिलाइ हुँदा साँगुरीगढी गाउँपालिकाले लेउती खोलाको गिट्टी, ढुंगा र बालुवा बिक्रीसम्बन्धी आह्वानको सूचना गत भदौ १२ गते प्रकाशन गरेको थियो ।
आईईई प्रतिवेदन समयै नबन्दा र सूचना प्रकाशनमा ढिलाइ हुँदा ठेक्का प्रक्रिया केही ढिलो भएको गाउँपालिका सूचना अधिकारी नारायणप्रसाद खनालले बताए । उक्त गाउँपालिकाले न्यूनतम ४० लाख रुपैयाँमा ठेक्का खोलेको थियो । ‘प्रारम्भिक वातावरण परीक्षण हरेक दुई÷दुई वर्षमा तयार गर्नुपर्ने प्रावधान छ’, पुनः आईईई तयार गर्नुपर्ने भएकाले ठेक्का खोल्न समय लागेको बताउँदै उनले भने, ‘लेउती खोलाको आईईई गरेको दुई वर्ष पूरा भइसकेको रहेछ, आगामी १८–१९ गतेबाट खोला पूर्ण रूपमा ठेक्का लागिसक्छ ।’
महालक्ष्मी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बग्ने अरुण, लेगुवा, केवा र माङमाया खोलाको तोकिएको स्थानबाट ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेलसमेत संकलन तथा बिक्री गर्ने गरी भदौ २४ गते सूचना जारी गरिसकेको छ । आह्वान गरिएको ३० दिनभित्र आवेदन दिएका मध्येबाट छनोट गरी ठेक्का लगाइसक्ने प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले बताए ।
त्यस्तै चौबीसे गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने छरुवा र रगुवा खोलाबाट गिट्टी, ढुंगा, बालुवा बिक्री तथा संकलन गर्ने गरी ठेक्का लगाउन प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गरिरहेको योजना प्रमुख लीलाबहादुर कार्कीले बताए ।
मजदुर बेरोजगार
दसैं छेको नदीजन्य पदार्थको ठेक्का नलाग्दा मजदुर बेरोजगार भएका छन् । कोसी राजमार्गअन्तर्गत लेउती बगरमा नदीजन्य पदार्थ निकाल्न दैनिक ४ देखि ५ सय कामदार हुन्थे । अहिले ठेक्का नलाग्दा दसैं कसरी मान्ने भन्ने पिरलो हुन थालेको मजदुर पुष्पलाल राईले बताए । उनले भने, ‘दसैं खर्च जोहो गर्ने बेलामै ठेक्काको टुंगो नलाग्दा कसरी दसैं मनाउने भन्ने पिरलो लाग्न थालेको छ ।’
लेउती खोलामा नदीजन्य पदार्थ निकाल्ने काम गर्दै आइरहेका साँगुरीगढी गाउँपालिकाका स्थानीय होमबहादुर लिम्बूले ठेक्का टुंगो नलाग्दा दसैं कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको बताए । ‘तीनमहिने प्रतिबन्धले बेरोजगार थिएँ’, उनले भने, ‘झन् अहिले ठेक्काको टुंगो नलाग्दा पीर लाग्न थालेको छ ।’