फिडे चुनावमा निर्भर नेपाली चेसको भाग्य

फिडे चुनावमा निर्भर नेपाली चेसको भाग्य

जर्जिया : बुद्धिचाल खेलको महाकुम्भ ‘४३औं चेस ओलम्पियाड’ का कारण जर्जियाको पर्यटकीय नगरी बटुमी अहिले व्यस्त छ । एक सय ८५ देशका खेलाडी, अफिसियल र खेल पदाधिकारीको जमघटले यो सहरलाई थप चलायमान बनाएको हो । ओलम्पियाडमा खेल र खेलाडीको चर्चासँगै अक्टोबर ३ देखि ५ तारिखसम्म हुने विश्व बुद्धिचाल महासंघ (फिडे) को चुनावी माहोलले पनि बटुमीको पारो ताताएको छ ।

फिडेको नयाँ नेतृत्व चयनका लागि विभिन्न देशका बुद्धिचाल खेलका प्रतिनिधि र पदाधिकारी चासोका साथ लागिपरेका छन् । नेपाली प्रतिनिधिको ध्यान पनि खेलाडीको प्रदर्शनभन्दा फिडेको निर्वाचनमा बढी तानिएको छ । ‘फिडेको निर्वाचन र यसले पाउने नेतृत्वले नेपाल जस्तो देशका लागि धेरै फरक पर्छ । त्यसैले हामी यता लागेका हौं’, नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं एसियन बुद्धिचाल महासंघ जोनल ३.२ का अध्यक्ष राजेशहरि जोशीले अन्नपूर्ण पोस्ट्सँग भने ।

नेपालले यो निर्वाचनमा अध्यक्षका प्रत्याशी रुसका अर्कादी दिभोरकोभिचलाई सघाउने तयारी गरेको पनि जोशीले बताए । ‘अर्कादी विश्व राजनीति, फुटबल र बुद्धिचाल खेलका प्रभावशाली व्यक्तित्व हुन् । उनले जितेको खण्डमा नेपाली बुद्धिचालले धेरै फड्को मार्नेछ’, जोशीले थपे । रुसी राजनीतिज्ञ, त्यसमाथि फुटबलमा लागेका व्यक्ति, कसरी बुद्धिचालमा आए होलान् । जिज्ञासा लाग्नु स्वाभाविक हो । होटेलको लविमा बसिरहेको बेला अचानक अर्कादीसँग भेट भएपछि त्यो जिज्ञासा पनि शान्त भयो ।

रुस विश्वकप फुटबल आयोजनाको स्थानीय संयोजक, रुसका अर्थविद्, विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसमेत भइसकेका राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र रहेछन्, अर्कादी । उनी अहिले फिडेको अध्यक्ष पदका लागि चुनाव लड्दैछन् । अर्कादीले अन्नपूर्णसँगको कुराकानीमा चुनावका लागि आफ्नो तयारी बलियो रहेको बताए । उनी रुसी फुटबलको पनि कार्यकारी पदमा रहेछन् ।

‘विश्वकप फुटबल आयोजनाको अनुभवले पनि मलाई बुद्धिचालको विकास गर्ने बलियो आधार दिएको छ । नेपाललगायत दक्षिण एसियाली देशको बुद्धिचाल खेल विकासमा फिडेको सहयोग हुनेछ । हामी कमजोर देशहरूका लागि चारवर्षे आर्थिक योजना तयार गरेर अगाडि बढ्दैछौं । दीर्घकालीन विकासका लागि बुद्धिचाल एकेडेमी निर्माणमा सहयोग गर्नेछौं । फिडे एक्लेलै केही गर्न सक्दैन । स्थानीयसँगको हातेमालो पनि महत्वपूर्ण हुनेछ,’ अर्कादीले भने ।

अर्कादीले फुटबलमा धेरै पैसा भएकाले फुटबल र बुद्धिचाललाई सँगै अगाडि लैजाने नयाँ सोच बनाएको पनि बताए । उनी आफ्नो प्यानलले नै फिडेको चुनाव जित्नेमा समेत ढुक्क देखिए । विश्वभरको एक सय ८५ मतमा आफूले एक सय मत कटाएर छाड्ने उनको दाबी थियो । फिडेको नयाँ अध्यक्ष पदमा यिनै ४६ वर्षीय अर्कादी, ग्रिसका जर्जियोस माक्रोपाउलोस र बेलायतका निगेल सर्टबीच प्रतिस्पर्धा हुँदैछ ।

जर्जियोस र निगेल पनि ठूलो प्रोफाइनल भएका व्यक्ति हुन् । अर्कादीसँगको जस्तो सम्बन्ध नेपालको बुद्धिचालले जर्जियोस र निगेलसँग बनाउन सकेको छैन । अर्कादीले निर्वाचन जितेमा नेपाली बुद्धिचाललाई रुसबाट वार्षिक १० हजार युरो दिने सहमति भएको जोशी बताउँछन् । यसअघि नै नेपालको बुद्धिचाल खेल विकासका लागि रुसबाट ३० हजार युरो सहयोग प्राप्त भएको समेत नेपाल बुद्धिचाल संघले जनाएको छ । त्यसैले पनि नेपाली बुद्धिचालको आगामी भविष्य फिडे निर्वाचन र यसले पाउने नेतृत्वमा भर पर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.