निजगढ विमानस्थलमा हतार नगरौं

निजगढ विमानस्थलमा हतार नगरौं

काठमाडौं : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हतारो नगर्न सांसदले सरकारलाई सुझाएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यताप्राप्त निजगढ विमानस्थल निर्माणमा विवाद देखिएपछि सांसदले थप छलफल र अध्ययन गरेर मात्र आयोजना अघि बढाउन सुझाएका हुन्।

प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारूढ दल नेकपाका सांसद एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दीर्घकालीन सोचका साथ विमानस्थल निर्माण हुनुपर्नेमा जोड दिए। ‘हतारमा निर्णय गरेर पछि पछुताउनुपर्ने हाम्रो बानी छ, त्यस्तो नहोस्’, उनले भने, ‘वन मासेर सहर बनाउने कुरा राम्रो होइन। यसप्रति सरकारले ध्यान दिनुपर्छ।’

अन्तर्राष्ट्रिय विमानस्थल राजधानीबाट नजिकै हुनुपर्ने उनको भनाइ छ। ‘पर्यटकको आवागमन बढाउनकै लागिसमेत राजधानी नजिक अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ’, उनले भने, ‘हामीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको औचित्य कति छ, त्यसको सम्भाव्यताबारे ख्याल गर्नुपर्छ।’

नेकपाकै सांसद भीम रावलले विमानस्थल निर्माणका विषयमा कुनै विवाद नभएपछि सरकारले दीर्घकालीन हिसाबले सोचेर मात्र यसलाई अगाडि बढाउनुपर्ने बताए। विमानस्थल निर्माण क्रममा यसका प्रक्रियालाई लिएर प्रश्नहरू उठेको भन्दै त्यसको समाधान आवश्यक रहेको उनले उल्लेख गरे।

‘विमानस्थल बनाउन ढिलाइ हुनुहुन्न। तर पारदर्शी भने हुनुपर्छ, विमानस्थल बनाउने भन्दैमा जे पनि ठीक छ भन्नचाहिँ सकिन्न’, उनले भने, ‘पर्यावरण हेर्नुपर्छ, अरू सबै कुरा हेर्नुपर्छ। तर अहिले उठेको ठूलो प्रश्न पारदर्शिताको हो। यसमा आँखा चिम्लिन मिल्दैन।’

कांग्रेस सांसद नारायण खड्काले विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) मै समस्या देखिएकाले यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए। ‘ईआईए रिपोर्ट नै रिभ्यू गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘जहाँसम्म वन फँडानीको मात्रै धेरै कुरा उठेको छ, रूख कटानीसँगै रूख रोप्ने काम पनि सुरु गर्नुपर्छ।’

सांसद पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीले विमानस्थलको अध्ययन प्रतिवेदन उपलब्ध गराउन माग गरे। उनीहरूले वन विनाश कम हुने गरी निर्माण अघि बढाउन सुझाए। सांसद भुसालले निजगढ विमानस्थलसँग फास्ट ट्र्याकलाई जोड्नुपर्ने बताइन्।

अतिरञ्जना  भयो : पर्यटनमन्त्री

संस्कृत, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले निजगढ विमानस्थलबारे अनावश्यक भ्रम फैलाउने काम भइरहेको टिप्पणी गरे। समितिमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले विमानस्थल निर्माण हुन नदिन अतिरञ्जित कुरा गरिएको दाबी गरे।

‘आठ हजार हेक्टर क्षेत्रमा चार किल्ला तोकिएको हो र त्यहाँ २४ लाख रूख परेका हुन्। तर सबै रूख नै काट्न लागेको हो भन्ने विषय अतिरञ्जना हुन्, हामीलाई २५ हेक्टर मात्र आवश्यक हो’, उनले भने। दीर्घकालीन सोचका साथ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागेको बताए। ‘विमानस्थल एक हजार हेक्टर क्षेत्रफलमै बन्न सक्छ। तर अन्तर्राष्ट्रिय स्तरको बनाउन धेरै जग्गा चाहिएको हो’, मन्त्री अधिकारीले भने, ‘हामीलाई साना विमानस्थल चाहिएको भने त भैरहवा र पोखरा छँदै छन् नि।’

जिरो भिजिविलिटीमा ल्यान्ड गर्न मिल्ने गरी विमानस्थल निर्माण गर्न लागिएको उनले स्पष्ट पारे। विमानस्थल निर्माण पारदर्शी रूपमै अगाडि बढाइने उनले बताए। केही दिनमै ठेक्का प्रक्रिया अगाडि बढाइने उल्लेख गर्दै मन्त्री अधिकारीले भने, ‘वन फँडानी गरेर नयाँ सहर बनाउने हाम्रो सोच छैन, ट्रान्जिट एयरपोर्ट भएकाले होटल बन्छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.