मुटु स्वस्थ राख्न प्रण गरौं

मुटु स्वस्थ राख्न प्रण गरौं

छातीमा अप्ठेरो महसुस हुने र टाउको दुखेपछि जँचाउन गएकी लक्ष्मी लामाको मुटुमा प्वाल परेको पत्ता लाग्यो। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारपछि उनी अहिले नयाँ जीवन पाएको महसुस गरिरहेकी छिन्। नुवाकोटकी लामाको ८ महिनाअघि शल्यक्रिया भयो। त्यसयता उनको स्वास्थ्य राम्रो हुँदै गएको छ।

मुटुको शल्यक्रिया गर्न डर लाग्छ, बरु यसै मर्छु भनेकी पत्नीलाई सम्झाउन नसकेपछि चक्रलाल महर्जन उनलाई लिएर डा. ज्योतीन्द्र शर्मासमक्ष पुगे। ‘दुईपटक अप्रेसन गरेकाले डर लागेको थियो, तर डाक्टरले नै उत्साह र ऊर्जा दिए। नयाँ जीवन पाइयो’, महर्जन मुस्कुराए।

मुटुका बिरामी बढिरहेका छन्। नसर्ने रोगमध्ये सबैभन्दा खतरनाक रोगका रूपमा मुटुसम्बन्धी रोगले स्थान पाएको छ। मुटुको रक्तनली बन्द भई हुने समस्या पहिलो नम्बरमा देखिएको छ। त्यस्तै जन्मजात मुटुरोग, बाथ मुटुरोग, उमेरसँगै मुटुको भल्भ बिग्रने समस्या, मुटुका नली फुट्ने, फुल्नेलगायतका समस्या प्रमुख रूपमा देखिएका छन्। हृदयाघात भएर जीवन गुमाउनेहरू पनि बढ्दै गएका छन्।

केही दशकयता उपचारपछि नयाँ जीवन पाएकाहरूको संख्या पनि बढिरहेको छ। उनीहरू सक्रिय र सार्थक जीवन जिउन प्रयासरत छन्। गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मा भन्छन्, ‘हरेक वर्ष अठार सयभन्दा बढी व्यक्तिको ओपन हार्ट सर्जरी गरिरहेका छौं। तीन सय ५० वटा सर्जरी गर्ने ठाउँलाई स्ट्यान्डर्ड मानिन्छ। बिरामीको चाप यति बढिरहेको छ, अहिले ६ गुणा बढी सर्जरी गर्नु परिरहेको छ।’

विश्व मुटु संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार, मुटु तथा रक्तनलीजन्य रोगका कारणले मात्रै एक करोड ७५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ। नसर्ने खालका रोगहरू क्यान्सर, दम, मधुमेहभन्दा मुटुका बिरामी बढी देखिएका छन्। अकालमा ज्यान लैजाने भएकाले मुटुरोगलाई पहिलो नम्बरको हत्याराका रूपमा लिने गरिएको छ। सन् २०३० पछि यो रोगबाट मृत्यु हुनेको संख्या वृद्धि भई दुई करोड ३० लाख पुग्ने अनुमान गरिएको छ। तुलनात्मक रूपमा हरेक वर्ष मुटु तथा रक्तनलीको समस्या (कार्डियोभास्कुलर रोग) का कारण मृत्यु हुनेको संख्या बढी देखिएको छ। मुटु तथा शरीरमा रगत आपूर्ति गर्ने रक्तनलीमा ब्लक हुँदा हृदयघात एवं मस्तिष्कघातसमेत हुन सक्छ।

मुटु रोगको पहिचान तथा उपचार सुविधा काठमाडौं मात्र नभएर मोफसलमा पनि उपलब्ध छ तर अझै सबै बिरामीले सर्वसुलभ ढंगले पहुँच पाउने अवस्था छैन।

जन्मजात मुटुको समस्याले पनि बालबालिकालाई पिरोलेको छ। गर्भवती अवस्थामा मद्यपान, धूमपान वा भाइरल संक्रमण वा वंशाणुगत कारणले पनि जन्मजात मुटुरोगको समस्या देखिएको डा. शर्मा बताउँछन्। अधबैंसेहरूलाई मुटुरोगले बढी सताएको छ। दस वर्षअघि बाथ, मुटुरोगी बढी देखिएका थिए, तर अहिले मुटुका रगतका नलीहरूमा अवरोध आई हृदयघातको जोखिम भएका बिरामीहरू अस्पतालमा आउन थालेका छन्। गंगालाल हृदय केन्द्रमा आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी व्यक्ति मुटुको रगतको नली ब्लक भई आउने गरेका छन्। उमेर बढ्दै जाँदा रगतको नली पनि साँघुरिँदै जानुका साथै धूमपान, मद्यपान गर्नेको रक्तनलीमा सीधै असर पुग्छ। डा. शर्माका अनुसार, कुनै व्यक्तिले धूमपान गर्न छोड्यो भने सामान्य अवस्थाको व्यक्ति झैं स्वस्थ्य हुन कम्तीमा पनि पन्ध्र वर्ष लाग्छ। घरमा कसैले धूमपान गर्छ भने छेउमा बसेको व्यक्तिलाई पनि असर पर्छ। एलडीएल कोलेस्ट्रोलले पनि रक्तनली साँघुरो बनाउनमा सहयोग पुर्‍याउँछ।

वीर अस्पतालको मुटु विभागमा २०७४ सालमा मात्र १० हजार ६ सय ६६ बिरामीले मुटु जाँच गराएका छन्। त्यस्तै मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा इमरजेन्सी र बहिरंग विभागमा गरी २१ हजार पाँच सय ९० जना बिरामी जँचाउन आएका थिए। त्यस्तैगरी गंगालाल राष्ट्रिय मुटु केन्द्रमा गत वर्ष एक लाख ५३ हजार चार सय ६२ जना बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरिएको छ। गत वर्ष एक हजार सात सय ८२ वटा विभिन्न खालका मुटुको शल्यक्रिया सम्पन्न भएको छ। हालसम्म १४ हजारभन्दा बढी ओपन हार्ट सर्जरी गरेको तथ्यले पनि मुटुरोगको समस्या चुलिँदै गएको तथ्य उद्घाटित हुन्छ।

मुलुकलाई योगदान गर्न सक्ने उमेर समूहका व्यक्तिलाई मुटुका बिरामी हुनुले घरपरिवार मात्र नभई मुलुकलाई नै दीर्घकालीन क्षति पुग्ने देखिएको छ। विकसित देशमा हृदयघात हुने व्यक्तिको उमेर ६० भन्दा माथि देखिएको छ। नेपालमा भने ४० देखि माथिका व्यक्तिमा हृदयघात हुन थालेको डा. शर्मा बताउँछन्। हृदयघात पुरुषलाई बढी हुने गरेको छ। महिनावारीको समयमा उत्पन्न हुने हर्मोनका कारण महिला कम जोखिममा पर्छन्।

विश्व मुटु संगठनको अगुवाइमा सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाइन्छ। यस वर्ष ‘हाम्रो प्रणः स्वस्थ मुटु’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ। नेपालमा सहिद गंगालाल हृदय केन्द्रको संयोजकत्वमा नेपाल हार्ट नेटले विविध कार्यक्रमसहित जनचेतनालगायतका कार्यक्रम गर्दैछ। विश्व मुटु संगठनले स्वस्थ खानेकुरा खाने र सक्रिय जीवनशैली बिताउनुपर्ने सुझाव दिएको छ। नियमित शारीरिक अभ्यास गर्न सल्लाह दिएको छ।

गंगालालले नेपालगन्ज र जनकपुरमा मुटुसम्बन्धी उपचार सेवा पुर्‍याउने उद्देश्य राखेको भए पनि सरकारले सहयोग नगर्दा सञ्चालनमा असहज भएको छ

चिकित्सकहरू अस्वस्थ जीवनशैलीलाई नै रोग निम्त्याउने कारक ठान्छन्। ‘हिँड्नेभन्दा पनि सवारी साधन चढ्ने, भर्‍याङ उक्लनेभन्दा लिफ्ट चढ्न रुचाउने प्रवृत्ति छ’, डा. शर्मा भन्छन्, ‘जबकि तीस मिनेटका दरले हप्ताको पाँच दिन शारीरिक अभ्यास गरे मुटु स्वस्थ राख्न पर्याप्त हुन्छ। त्यति गर्न पनि समय दिन नसक्नेहरू अल्छी मानिनेछन्।’

तयारी खानेकुरा खाने चलन बढेको छ। सहरी क्षेत्रमा मधुमेह र रक्तचापका बिरामी घरघरै हुन थालेका छन्। विगतमा शारीरिक परि श्रम बढी गरिन्थ्यो र मुटुरोग कम लाग्थ्यो। कति बिरामी मुटुरोग हो भन्ने थाहा नपाई ज्यान गुमाउँथे। तर अहिले विलासी जीवनशैली र खानपानको लापरबाहीले मुटुका विभिन्न समस्या बढेका छन् र रोग लागेको पनि थाहा हुन थालेको छ। बालबालिका पनि मोबाइल फोन चलाउने तथा टेलिभिजन हेरेर दिन कटाउने, जंक फुड खाने, घरभित्रै सीमित हुने गरिरहेका छन्। विलासी जीवनशैली, अस्वस्थ खानपान, रक्तचाप, मधुमेह, मोटोपना, उच्च कोलेस्ट्रोल, तनाव, शारीरिक अभ्यासको कमीले मुटुरोगीहरूको संख्या बढिरहेको छ।

सरकारले १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार व्यवस्था गरेको छ। अहिले पनि मुटुरोग विशेषज्ञ तथा सर्जनहरूको संख्या अपर्याप्त नै छ। भौतिक पूर्वाधार र बजेट पनि पर्याप्त छैन। गंगालालले नेपालगन्ज र जनकपुरमा मुटुसम्बन्धी उपचार सेवा पुर्‍याउने उद्देश्य राखेको भए पनि सरकारले सहयोग नगर्दा सञ्चालनमा असहज भएको छ। सातवटा प्रदेशमा एकएक शाखा स्थापना गर्नुपर्ने खाँचो रहेको कार्यकारी निर्देशक शर्मा बताउँछन्।

अहिले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा उपलब्ध उपचार सेवाले धान्न सक्ने अवस्था छैन। मुटु रोगको पहिचान तथा उपचार सुविधा काठमाडौं मात्र नभएर मोफसलमा पनि उपलब्ध छ तर अझै सबै बिरामीले सर्वसुलभ ढंगले पहुँच पाउने अवस्था छैन। त्यसैले मुटु स्वस्थ राख्न आफैंले प्रण गर्नुपर्ने खाँचो देखिएको छ। डा. शर्मा भन्छन्, ‘बल्लतल्ल पाएको मानव जीवनले स्वस्थ नभई परिवार वा राष्ट्रलाई योगदान गर्न सक्दैन। यस अर्थमा आफू स्वस्थ्य हुने र अरूलाई स्वस्थ राख्ने प्रण सबैले गर्र्नुपर्छ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.