जब राजनीति फापेन...
ललितपुर : भागनारायण महराको भाग्यले अलिकति मात्रै साथ दिएको भए सभासद् बनिसकेका हुन्थे, उनी। तर संविधानसभाको पहिलो र दोस्रो दुवै चुनावमा केही मतले पछि परे। न त ०७४ को चुनावमै सफलता मिल्यो उनलाई। त्यसैले २९ वर्षदेखि गरिआएको ‘जुत्ता सिलाउने’ पेसालाई उनले निरन्तरता दिएका छन्।
पाटनढोकास्थित सार्वजनिक शौचालयसँगै एउटा छाताले ओत लगाएर उनी जुत्ता सिलाउने, सफा गर्ने, चम्काउने काम गर्दै आएका छन्। ‘यही छातामुनि २९ बर्खा कटाएँ, परिवारलाइ भोको नराख्ने उद्देश्यले’, महराले भने। तर दिनको चारपाँच सय कमाउन हम्मे परेको उनको भनाइ छ। ‘गरिबले राजनीतिमा सफलता पाउँदो रहेनछ’, ५४ वर्षीय महराले भने।
सर्लाहीको कबलासी नगरपालिकाका दलित सुकुमवासी महरा आफू जस्तै गरिबका लागि आवाज उठाउने उद्देश्यले राजनीतिमा लाग्ने रहर जागेको तर पूरा नभएको बताउँछन्। ०४७ को चुनावमा गाउँमा वडाध्यक्षमा उठ्दा पनि दुई भोटले हारेको उनको भनाइ छ। ‘०६४ मा सद्भावना पार्टीबाट काठमाडौ क्षेत्र नं २ मा उठेको थिएँ, माओवादीका झक्कुप्रसाद सुवेदीले हराए’, उनले भने।
त्यसपछि सद्भावना पार्टी छाडेर ‘बहुजन समाज पार्टी नेपाल’मा प्रवेश गरे। सोही पार्टीबाट ०७२ मा समानुपातिक तर्फबाट उठे। तर ११ हजार भोट ल्याएर सम्मानजनक हार बेहोर्नुपर्यो। उनलाई पराजित गर्दै ‘जनता दल’की कान्छी सभासद् गायत्री शाहले चुनाव जितेकी थिइन्। पुनः ०७४ मा काठमाडौं २ बाट उठे पनि पराजय बेहोर्नुपरेको महराले बताए।
‘सपना थियो गरिब, निमुखाका लागि केही गरूँ, आवाज उठाऊँ भन्ने’, उनले भने, ‘तर सपना चकनाचुर भयो। नेपालमा महराको जनसंख्या १० लाख भए पनि एक जना समानुपातिकमा नपरेको गुनासो उनको छ। उनी बहुजन समाज पार्टी नेपालको केन्द्रीय सदस्यका हैसियतले बेलाबेलामा बैठकमा जाने गरेका छन्। जनताको भत्ता खाएर गाडी चढेका नेताले गरिबलाई नै नहेरेको उनको आरोप छ।
‘ठुल्ठूला आकांक्षा छैनन्, लालाबालालाई पेटभरि खुवाउन सकूँ, पढाउन सकूँ’, उनले भने। सर्लाहीमा ६ दाजुभाइको एउटा कोठा थियो। धेरै झगडा भएपछि छाडे। त्यसपछि उनी सुकुमवासी भए। जुत्ता सिलाउन थाले। तराईमा दुई सय पनि कमाइ नभएपछि काठमाडांै आए। पाटनढोकामा मासिक चार हजार भाडा तिरेर बसिरहेका छन् उनी। पाटन माविमा दुई छोरा पढ्दै छन्। अन्यको बिहे भइसक्यो। उनी पाटन माविको विद्यालय व्यवस्थापन समितिमा आबद्ध छन्। ‘जे छ त्यसैमा सन्तुष्ट हुनुपर्दो रहेछ’, उनले भने।
भूकम्पअघिसम्म उनीसँग टोलका ठिटाहरूले केही रकम लिने गरेका थिए। तर भुकम्पपछि जुत्ता सिलाउने ठाउँ निःशुल्क सञ्चालन गरिरहेको उनले बताए।