यो केवल घर होइन

यो केवल घर होइन

काठमाडौंको डल्लुस्थित साढे चारतले एक घरमा छिर्नुभयो भने कागज र किताबका चाङले घेर्न आइपुग्नेछन्। दायाँ, बायाँ, तल, माथि जताततै किताबैकिताब। देखेपछि तपार्इं छक्क पर्नुहुनेछ। आश्चर्यले जिब्रो टोक्दै भन्न सक्नुहुनेछ, ‘बाफ रे, घर भनेको त पुस्तकालय पो रहेछ !’

घर भन्नासाथ तपाईंको मस्तिष्कमा ठूलो बैठक कोठा, ठूलो टेलिभिजन, सोफा, किचनको विम्ब आउँछ। इतिहासकार महेशराज पन्तको घर यो परिभाषामा अटाउँदैन। त्यसैले पन्तको घर केवल घर होइन। तपाईं यसलाई पुस्तकालय नै भन्नुहोस्। महेशराजको पुस्तकालय। र, यो त्यही पुस्तकालयको कथा हो। कथा सुरु हुन्छ- पन्तका पिता इतिहासकार प्राज्ञ प्राध्यापक नयराज पन्तबाट।

पश्चिमाहरूले नेपाली इतिहास-लेखनमा तिथिमितिदेखि तथ्यको वृत्तान्तसम्ममा त्रुटि गरे भन्ने ठम्याइपछि ‘संशोधन मण्डल’ स्थापना गरेर इतिहास सुधार्न लागिपरेका थिए नयराज (वि.सं. १९७०-२०५९)। अरूहरूले बिगारेको तथ्य संशोधनमा खटिएका उनीसँग मूलत: दुई सम्पत्ति थिए- ऐतिहासिक सामग्री र शिष्यमण्डल। शिष्यमण्डलका दुई सदस्य थिए उनकै पुत्रद्वय महेशराज र दिनेशराज।

नयराजले अनेकन स्रोतबाट ऐतिहासिक सामग्री जम्मा गरेका थिए। कसिंगरमा फालिएका सामग्रीसमेत टक्टक्याएका थिए। उनले बनाएको पुस्तकालयलाई उनको निधनपछि दुई छोराले नाम दिए- लक्ष्मीपति-नयराजसंग्रह। नयराज नयराज भइहाले, लक्ष्मीपति भनेको चाहिँ नयराजकी आमा यज्ञप्रिया

(वि.सं. १९४५-२०२३) का बाजेका पनि बाजे दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडे (वि.सं. १८१५-१८८८) हुन्। पिता इतिहासकार, पुत्रद्वय पनि इतिहासकार। दुवैलाई ऐतिहासिक सामग्रीमा रुचि हुनु स्वाभाविक हो। तर, मिल्ती थियो दुई भाइमा। दुई भाइ बेग्लाबेग्लै बस्न सुरु गर्दा बाँडफाँट गर्नुपर्ने सबैभन्दा किम्मती चिज पुस्तकालय नै थियो। पन्त दाजुभाइले यसको समाधान सजिलै निकाले। प्रकाशित किताबजति भाइलाई, अप्रकाशित ऐतिहासिक सामग्री महेशलाई।

इतिहासका तथ्यत्रुटि औंल्याएरै बिते यत्तिका वर्ष। विद्यालय-विश्वविद्यालयका औपचारिक कक्षातिर उनी कहिल्यै पसेनन्। महेशराज पन्तले विद्यालयका कोठा-चोटा नदेखी सोझै विद्यावारिधि गरे- ‘संस्कृट लेक्सिकोग्राफी’मा।

महेशराजको कुल सम्पत्ति यही घर हो र यहीँका किताब। समाजविज्ञानको यति परिपूर्ण पुस्तकालय सरकारी अथवा अन्य निजी संघसंस्थासँग पनि छैन, सायद।

उनको निजी पुस्तकालयमा प्रकाशित र अप्रकाशित दुवै सामग्री छन्। अप्रकाशितमा बिहे, व्रतबन्धका निम्तो, बिजुली र पानीको बिलदेखि मल्लकालका हस्तलिखित दस्तावेजसम्म छन्। पृथ्वीनारायण शाहकालीन दस्तावेज, भीमसेन थापालाई रंगनाथ पौडेलले पठाएको पत्र, भारतको कुनै राज्यका राजाले भीमसेनको बिहेका लागि कन्या खोजिदिएको विवरण रहेको पत्रलगायत छन्।

गोरखा र कुमाउबीचको सन्धिपत्रको मूल कपी पनि उनको किताबघरमा छ। भोजपत्र र ताडपत्रमा लेखिएका मल्लकालीन लिखत, शाह राजाहरूले गरिदिएका लालमोहरहरूको चाङ नै छ। पृथ्वीनारायण शाहले कमलनयन पण्डितलाई जग्गाको कर तिर्नु पर्दैन भनी दिएको आदेशको लिखत, १९औं शताब्दीमा तयार पारिएको जुम्लाको नक्सा, मल्लकालमा १४औं शताब्दीमा जनकपुर क्षेत्र आसपास हुने दासदासी बिक्रीसम्बन्धी मैथिली भाषामा भएको लिखत छ। पछिल्लो लिखत देखाउँदै डा. पन्त भन्छन्, ‘यसमा हीरा भन्ने २० वर्षकी गोरो छाला भएकी युवतीलाई बिक्री गरिएको लेखिएको छ।’ चार सय वर्ष पुरानो ज्योतिषसम्बन्धी किताब छ। सन् १८६५ मा प्रकाशित ‘द ह्वाइट यजुर्वेद’ जस्ता किताब पनि छन्। ३० बोरा अप्रकाशित कागजपत्र छन्।

‘तिनलाई हेरेर विषय र मितिअनुसार वर्गीकरण गर्न बाँकी छ। मलाई सघाउने स्टाफ छन् तर वर्गीकरणको काम उनीहरूबाट हुँदैन। यसका लागि संस्कृत र अभिलेख अध्ययनमा दक्ष मानिस चाहिन्छ। आफैं जुट्दा पनि हुन्थ्यो तर गर्नुपर्ने काम थुप्रो छ’, उनले भने। दक्ष मानिसलाई जागिर दिने आर्थिक हैसियत आफू र संशोधन मण्डलमा नरहेको दु:खेसो उनको छ।

पिता नयराजको ठिकैको किताब संकलन थियो। महेशराजले जर्मनीमा अध्ययन-अध्यापन गर्दा थुप्रै किताब किने। नेपाल फर्किंदा हवाईजहाज र पानीजहाजबाटै किताब झिकाए। २० हजार थान फोटोकपी नै ल्याए। उनले अध्यापन गर्ने लिब्जिग विश्वविद्यालयले ढुवानी खर्चको अंश बेहोर्‍यो। १५ हजारभन्दा बढी किताबमा १० हजार नेपालसम्बन्धी छन्। भाइ दिनेशराजको इस्टिमेटअनुसार महेशराजले किताब र पुस्तकालयमा खर्च गरेको पैसाले पुस्तकालय भएको जस्तो घर दुईवटा बन्थ्यो। पुस्तकालय व्यवस्थापनलगायत काममा चारजना स्टाफ छन्। तिनलाई मासिक ५७ हजार रुपैयाँ तलब दिन्छन्। तीमध्ये केही पार्टटाइम काम गर्छन्। काठमाडौंबाट छापिने नेपाली, अंग्रेजी र नेवारी पत्रिका प्राय: सबै आउँछन्। ती कर्मचारीले उनका लागि पत्रिकाको बिब्लियोग्राफी बनाउनेलगायत काम गर्छन्।

इतिहासका तथ्यत्रुटि औंल्याएरै बिते यत्तिका वर्ष। विद्यालय-विश्वविद्यालयका औपचारिक कक्षातिर उनी कहिल्यै पसेनन्। महेशराज पन्तले विद्यालयका कोठा-चोटा नदेखी सोझै विद्यावारिधि गरे- ‘संस्कृट लेक्सिकोग्राफी’मा। युरोपमा उनी पाँच हजार युरो मासिक कमाउँथे। अक्सफोर्ड विश्वविद्यालयमा पढाइरहेका नेपाली प्राध्यापक दिवाकर आचार्य उनकै विद्यार्थी हुन्।

महेशराज एउटा शैक्षिक संस्थासरह छन्। उनीसँग चेलाहरू छन्। पीएचडी गर्ने विद्यार्थीलाई विश्वविद्यालयको अनुरोधमा निर्देशन पनि गर्छन्। शनिबार उनी चेलाचेलीलाई दुई घण्टा संस्कृत सिकाउँछन्। निकटस्थ चेलाचेलीलाई इपिग्राफी र आइकोनोग्राफी सिकाउँछन्। इतिहासप्रधान जर्नल ‘पूर्णिमा’ नियमित प्रकाशित गरिरहेकै छन्।

महेशराजको लाइब्रेरीमा भएका दुर्लभ र अनौठा सामग्रीमध्ये राजा गीर्वाणयुद्धविक्रम शाह (वि.सं. १८५४-१८७३)को चिना हो, जुन ७८ हात १२ अंगुल लामो र १७ अंगुल चौडा छ। यो चिना लक्ष्मीपति संग्रहकै हो। चिना पूर्ण छैन, खेस्रा रूपको देखिन्छ। अद्यापि सुरक्षित छ। त्यही अपूरो चिना पल्टाइरहेका छन्- महेशराज पन्त। उनको विचारमा साफी चिना तयार पारी दरबारमा चढाइयो, त्यसैले खेस्रा स्वरूपमा यो उनको पुस्तकालयमा उपलब्ध छ। चिनाको एक भागमा देउताका चित्र कोरिएका छन्। चिनाको आरम्भमा छ-

‘भूपालमुकुटमणिनीराजितचरणकमलानां भूमण्डलाखण्डलानां श्रीमन्महाराजाधिराजानां श्रीमद्गीर्वाणयुद्धविक्रमशाहबहादूरसम्सेरजङ्देवमहाप्रभूणा प्रत्यब्दप्रवेशकालिकविचारोत्र लिख्यते।’

‘मैले सुनेअनुसार यो चिना लक्ष्मीपतिका छोरा राजज्योतिषी लीलानाथ पाँडे (वि.सं. १८४३-१८८९) ले तयार पारेका हुन्’, पन्त भन्छन्, ‘चिना लेखेबापत उनले बलम्बुमा थुप्रै जग्गा पाएका थिए भन्ने सुनेको हुँ।’ उनको निजी पुस्तकालयमा अरू के-के होलान् ? थाहा पाउन पुस्तकालय पस्नु नै उपयुक्त होला।

जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट पीएचडी गरेका उनले कयौं विद्यार्थीलाई दीक्षित गरे। सन् १९८० मा उनी जर्मनी पुगेका थिए। केही वर्ष नेपाल-जर्मनी हस्तलिखित परियोजनामा काम गरे। २३ वर्ष जर्मनी र त्यसैबीच तीन वर्ष फ्रान्स बसे। फ्रान्समा उनले सीएनआरएसको परियोजनामा १९९० सालअघिका भुइँचालोसम्बन्धी विस्तृत अध्ययन गरे। वि.सं. १३१२ आषाढशुक्लतृतीया तदनुसार २४ डिसेम्बर १२२३ मा गएको भूकम्प अहिलेसम्म पाइएका अभिलेखको आधारमा पहिलो हो।

नेपालसम्बन्धी सूचना होस् वा संस्कृत वाङ्मय- उनी किताब वा डायरी नहेरी मज्जाले सुनाउँछन्, त्यो पनि तिथिमितिसहित। जोश, उत्साह र स्मरणशक्ति देख्दा विश्वास गर्नै गाह्रो हुन्छ, उनी ७५ वर्षमा हिँड्दै छन्। अझै उनको योजना छ- ‘इन्टेलेक्चुअल हिस्ट्री अफ नेपाल’ प्रकाशित गर्ने। उनका थप योजना छन्- इतिहासका केही पुस्तक लेख्ने।

जर्मनीका चार विश्वविद्यालयमा काम गरे। तिनमा पछिल्लो लाइप्जिग विश्वविद्यालय हो। त्यहाँ उनले कौटिल्यको अर्थशास्त्रलगायत संस्कृतविद्याका थरीथरीका विषय पढाए। १० भन्दा बढी विषयमा उनी लेख लेख्छन्- इतिहास, संस्कृति, अभिलेख, प्रतिमालक्षण, भाषा, अर्थशास्त्र, धर्मशास्त्र, इन्टेलेक्चुअल हिस्ट्रिलगायत। १२ भाषाको जानकारी राख्छन्। पुराना अभिलेख सजिलै पढ्न सक्छन्। ‘त्रिभुवन विश्वविद्यालयबाट कल्चरमा धेरैले एमए गरे, तर उनीहरू अभिलेख पढ्न सक्दैनन्, न संस्कृत बुझ्न सक्छन्’, उनी भन्छन्, ‘हुन त मैले सातामा एक दिन पढाएर ठूलो उपलब्धि हासिल हुँदैन भन्ने थाहा छ, तर पनि हात बाँधेर बस्न मन लाग्दैन।’

पन्तको दैनिकीको मुख्य हिस्सा पुस्तकालयमै बित्छ। ११ घण्टा उनी पुस्तक साधना गर्छन्। बिहान ६:३० देखि साँझ ५ बजेसम्मै लेख्नु-पढ्नु उनको नित्यकर्म हो। साँझ ५ बजेपछि उनी निवासबाट निस्कन्छन्। समय मागेका ज्ञानपिपासुहरूसँग भेट्ने, ‘सस्क्राइब’ नगरेको पत्रपत्रिका किन्ने, किताब पसल जाने, इभिनिङ वाक गर्ने- उनको समय यही हो। घर फर्किएर खाना खाएपछि साँझ किनेका पत्रिका ससर्ती हेर्छन्।

बजारमा निस्किने नेपाली र नेवारी भाषाका किताब तथा नेपालबारे लेखिएका अंग्रेजी, फ्रेन्च र जर्मन भाषाका किताब भेटेसम्म उनी सबै किन्छन्। युरोप बस्दा उनले पश्चिमी सभ्यता र त्यहाँको इतिहासबारे लेखिएका किताब भेटेजति किने। जियोग्राफी र इन्टेलेक्चुअल हिस्ट्रीमा उनको बढ्ता अभिरुचि छ। यससम्बन्धी किताबमा उनी कतिविघ्न आकर्षित छन् भने एउटै किताबको नयाँ संस्करण र पुनर्मुद्रण पनि खरिद गर्छन्। जस्तो, डिल्लीरमण रेग्मीका सबै किताब उनीसँग थिए। उनको नेपाली इतिहाससम्बन्धी किताब पुनर्मुद्रण भएको थाहा पाउनासाथ पसलमा गएर फेरि किने। ‘कतिले नयाँ संस्करण भनेर पुरानै किताब पुनर्मुद्रण गर्छन्, तर म पाएसम्म त्यस्ता किताब किनेर ल्याउँछु’, उनी भन्छन्।

आफूसँग नभएका र बजारमा पनि नपाइने प्रकाशित किताबहरू फोटोकपी गरेर राख्छन्। यस्तै किताबमा पर्छ, ज्ञानमणि नेपालको ‘नेपाल निरुक्त’। साझा प्रकाशनले ‘नेपाल निरुक्त’ पुनर्मुद्रण गरेको थाहा पाएपछि उनले किनेर ल्याए।

फ्याक्टमा खेल्ने उनका लाइब्रेरीमा फिक्सनका किताब पनि प्रशस्तै छन्। नीलम कार्की निहारिका, कुमार नगरकोटी, नयनराज पाण्डेका किताब पनि छन्। बगे्रल्ती किताब अन्धाधुन्ध किनेर थुप्रो लगाउने के उनी लहडी हुन् ? भन्छन्, ‘यसको प्रयोजन छ। नेपालको इन्टलेक्चुअल हिस्ट्रीबारे लेख्ने वर्षांैदेखिको योजना छ। समयले साथ दिँदैनजस्तो छ। कम्तीमा पनि शाहकाल आरम्भ भएपछिको केही अवधिको इन्टलेक्चुअल हिस्ट्रीबारे लेखेर नयाँ पुस्ताका शोधकर्ताहरूका लागि नमुना छोडेर जाने निश्चय गरेको छु।’

वटु सवल बहाल काठमाडौंमा जन्मिएका महेशराजले १४ वर्षको भएपछि ए बी सी डी पढे। त्यस बेलासम्म संस्कृतमा पकड जमाइसकेका थिए। संशोधन मण्डलको पाठशालामा संस्कृतमै पढाइ हुन्थ्यो। संस्कृतमै गणित, एस्ट्रोनमी, आयुर्वेद, साहित्य, दर्शन, व्याकरण, काव्य, अर्थशास्त्र आदि पढ्नुपथ्र्यो। गुरु होइन, चेला एक्टिभ हुने थिति थियो, संशोधन मण्डलमा। एउटा सिस्टम थियो- माथिल्लो क्लासका विद्यार्थीले तल्लो क्लासका विद्यार्थीलाई पढाउने। त्यसैले संशोधन मण्डलबाट शिक्षित उनीभन्दा वयस्क धनवज्र वज्राचार्य, केशवमणि आदि, देवीप्रसाद भण्डारी र शंकरमान राजवंशीहरूले उनलाई पनि पठाए।

संशोधन मण्डलमै पढ्दा अंग्रेजी सिकेर उनले केही अंग्रेजी रचना संस्कृतमा अनुवाद गरेका थिए। मोपाँसाको ‘द डाइमन्ड नेकलेस’लाई उनले संस्कृतमा अनुवाद गरे, जुन उनीसँग अझै सुरक्षित छ।

संशोधन मण्डलले धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपालजस्ता इतिहास-संस्कृतिको अध्ययनमा कहलिएका घघडान विद्वान् जन्मायो। ‘तर यसले निरन्तरता किन पाएन ? ’ प्रश्नले निकै बेर घोरिए। भने, ‘बुवा (नयराज)को मनमा जस्तो हामी कसैमा पनि केही गरौं भन्ने आगो बलेन। अहिले वैश्ययुगमा त्यति बेलाकै पद्धतिमा पढ्न तयार हुने विद्यार्थी कति पाइएलान् र ? ’ गुरुसमेत रहेका बुवाको कामलाई निरन्तरता दिन नसकेकोमा उनी दु:खी छन्। संशोधन मण्डलको साइनबोर्ड झुन्ड्याउँदाचाहिँ उनी सन्तोषी छन्।

संशोधन मण्डलकालीन आचारअनुसार उनी बिहान पाँचै बजे उठ्छन्, नुहाइधुवाइ गर्छन्, गायत्री मन्त्र जप्छन्। चिन्नेहरू भन्छन्- महेशराज विद्वान् त हुन् तर असाध्यै घमण्डी। उनी भन्छन्, ‘आफूभन्दा पढेको र चरित्रवान् मान्छे भेटिए मलाई घमण्ड आउँदैन, आदर बढ्छ।’

केही समयअघि डा. पन्तलाई भारतीय दूतावासले फोन गर्‍यो। भनियो, ‘तपाईंलाई सम्मान गर्न लाग्या। लौ बायोडाटा पठाउनु पर्‍यो।’ पन्तले भने, ‘यहाँ सम्मानको हंग्रिएस्ट स्कलरहरू एक हजार छन्। उनीहरूलाई नै अफर गर्नुस्।’

सम्मान दिनेले बायोडाटा माग्यो भने ‘मेरो योग्यता यो होे, त्यसैले मलाई सम्मान गर’ भनी याचना गरेझैं ठान्छन् उनी। ‘मलाई सम्मान गर्नेले मेरो कामबारे जानेको हुनुपर्छ, मेरो बायोडाटा तयार पार्ने उनीहरूको काम पो हो !’, उनको भनाइ छ।

सहरका किताब विमोचन, सभा-समारोहतिर उनी देखिन्नन्। उनी कस्ता भने यो अन्तर्वार्ता हुँदाकै दिन पारिवारिक भोजमा डाकिएका थिए। ‘आज पारिवारिक भोज छ, तर म गइनँ, लाइब्रेरीमै बसेँ भने काम हुन्छ’, भन्छन्, ‘गर्नुपर्ने काम धेरै छ, उमेर अब १० वर्ष मात्रै बाँकी होला।’ पिता नयराजको ८५ वर्षपछि सम्झनाशक्ति घट्दै गयो। ‘उहाँ मभन्दा धेरै स्वस्थ हुनुहुन्थ्यो, तर ८५ पछि सक्रिय हुन सक्नुभएन। म के सक्थेँ होला र’, एक दशक सक्रिय उमेर बाँकी भन्नुको तात्पर्य उनले खुलाए।

गोरो अनुहारमा काल्डोरे चस्मा अड्याएर, सेतो कमिजमा पुस्तकालयका किताब पल्टाइरहेका यी बौद्धिक इतिहासकारको विशिष्टता केलाउन सामान्य बौद्धिकताले ठ्याम्मै भ्याउँदैन। उनका लेखरचना पढ्ने र दिनचर्या हेर्ने जोकोहीले उनलाई नेपाल अध्ययनका लागि एक प्रामाणिक स्रोत मान्न किञ्चित अप्ठेरो मान्दैन।

उनको सेखपछि लाइब्रेरीको हालत के होला ? घरिघरि उनी चिन्तित हुन्छन्। पुस्तक सदुपयोग गर्ने उत्तराधिकारी परिवारमा छैनन्। किताब कसलाई दिने त ? ‘यसका दुई विकल्प छन्, सरकारलाई दिने वा निजी संस्थालाई। सरकारलाई दिँदा सदुपयोग हुँदैन कि भन्ने केशर लाइब्रेरीको दुर्दशाले देखाइसकेको छ। निजीलाई दिँदा पनि यसको सदुपयोग हुने देखेको छैन’, उनी भन्छन्।

बट्रेन्ड रसेलको संस्मरण पढेपछि उनको दिमागमा तेस्रो आइडिया फुरेको छ। रसेलले आफ्नो लाइब्रेरीको सदुपयोग गर्ने ज्ञानपिपासुलाई बेचेका रहेछन्, आधा पैसा उनी जीवितै हुँदा पाउने र बाँकी पैसा आफ्नो सेखपछि परिवारले पाउने गरी। ठट्यौली पारामा उनले भने, ‘घरिघरि यस्तै गरूँजस्तो लाग्छ !’

पूर्वप्रकाशित अनुसन्धानमूलक लेख बटुल्ने हो भने कम्तीमा तीन दर्जन किताब निस्कन्छन्। फेरि नयाँ विषयमा पनि कलम चलाउनु छ। लाइब्रेरी डिजिटलाइज्ड गर्नुपर्ने काम थाती छ। इपिग्राफी र आइकोनोग्राफी जान्ने शिष्य उत्पादन गर्ने सपना छ। नत्र यी दुई विषयमा भविष्यमा पश्चिमी स्कलरमाथि निर्भर रहनुपर्ने अवस्था आउनेछ। संस्कृतमा आफूजस्तै पारंगत मानिस तयार गर्नु छ। अर्थाभाव, समयाभाव र शिष्याभाव उनको यतिखेरको दु:ख हो। गम्भीर हुँदै थप्छन्, ‘चाहना त संशोधन मण्डललाई पुन: चुस्त र क्रियाशील बनाएर यसकै नाममा लाइब्रेरी छोड्ने छ। तर, मेरो एक्लो प्रयासले यो सपना पूरा हुनै सक्दैन। किनभने समय कम छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.