छापा माध्यमलाई चुनौती : सञ्चार मन्त्री बाँस्कोटा
बनेपा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताएका छन्।
काभ्रेपलाञ्चोकको बनेपामा आज प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराको जानकारी दिने भएकाले छापा सञ्चार माध्यमलाई चुनौती थपिएको बताए। नयाँ मिडिया हातहातको मिडिया भएर आएकाले अब छापा सञ्चारमाध्यम केही समयपछि विवरण राख्ने तथा विचार प्रस्तुत गर्ने माध्यम मात्रै हुने अवस्था आउन सक्ने बताए।
प्रविधिले सहजता ल्याएपछि प्रतिस्पर्धा बढेको र त्यसभित्र आफूलाई विश्वसनीय बनाउन जरुरी रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो।
उनले भने, 'विश्वसनीय नभई लोकप्रिय हुँदैन, लोकप्रिय नभइ ‘मिडिया हाउस’ चल्न गाह्रो हुन्छ।' पत्रकारिता भोक, तिर्खा, पानी, जाडोलगायतको पर्वाह नगरी गर्ने चुनौतीको पेशा भएको उनको भनाइ थियो।
कतिपय अवस्थामा पत्रकारिता कर्म र धर्म कुन अवस्थाको हो भन्ने कुरा पत्रकार आफैले छुट्याएर अगाडि बढ्नुपर्ने अवस्थासमेत आएको उनले बताए। 'कर्म गरे अवश्य फल प्राप्त हुन्छ, तर धर्मले शान्ति मात्रै दिने भएकाले कुन अवस्थाको कर्म हो भन्ने आफैँले छुट्याएर अघि बढ्न आवश्यक छ', उनले भने।
सरकारले दीर्घकालीन विकासको कामलाई अगाडि बढाइसकेको हुनाले समाजमा स्थिरता छाएको उल्लेख गर्दै उनले विस्तारै सामाजिक, राजनीतिक, सांस्कृतिक, कला, साहित्य र पत्रकारिता क्षेत्रको विकासमा फड्को मार्दै जाने बताए।
गुठीका अध्यक्ष मोहन दुवालले सामाजिक काम गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको र यस वर्ष पत्रकारिता जगत्बाट समाजको लागि योगदान पुर्या व्यक्तिलाई सम्मान गरिएको बताए।
कार्यक्रममा रेडियो नेपालका पत्रकार कष्णा ताम्राकार, नेपाल समाचारपत्र दैनिकका भगवती तिमल्सिना र नारी पत्रिकाका सिर्जना दुवाल श्रेष्ठलाई सम्मान गरिएको थियो। तीनैजनालाई जनही रु १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।