चल्न छाडे परम्परागत चिउरा मिल
भक्तपुर : जस्ताले छाएको टहरा। अँध्यारो कोठा। जताततै फोहर। छानामुनि माकुराको जालैजालो। सामान यत्रतत्र छरपस्ट छन्। टहराको एउटा कुनामा चारैतिर इँटाका पर्खाल लगाएर बनाइएको छ परम्परागत चिउरा भुट्ने भट्टी। भट्टीको पश्चिमतर्फ एकमुखे चुल्हो र चुल्होमाथि भिजाइएको धान भुट्ने फलामका चारवटा ठूला कराई छन् ।
कराईमाथि एउटा चाल्नी। विद्युतीय घोडाको मद्दतमा चेनबाट घुम्छन् यी चाल्नी। चाल्नीलाई अड्याउन भट्टीको चारै कुनामा काठको थाम र थामलाई चारैतिरबाट काठले जोडिएको छ। त्यही काठमा चाल्नी घुमाउने चेन अडिएका छन्। काठ र चेन धुलाम्ये छ। यसबाटै प्रस्ट हुन्छ उक्त चिउरा मिल नचलेको वर्षौं भयो ।
यो दृश्य भक्तपुर नगरपालिका १ भार्वाचोका राम भुजूको पुस्तैनी परम्परागत चिउरा मिलको हो। उनका बाबुले सुरु गरेको चिउरा मिललाई राम आफैंले करिब २५ वर्षसम्म निरन्तरता दिए। तर, उनका छोराहरूले यसमा चासो नदिँदा पुस्तैनी चिउरा मिल अहिलेको अवस्थामा पुगेको हो ।
रामका अनुसार उनको चिउरा मिल ४१ वर्षअघि सुरु भएको थियो। समयको हिसाबले उक्त चिउरा मिलले धेरै प्रगति गर्नुपर्ने थियो तर अहिले रामलाई उक्त चिउरा मिल बोझ भएको छ। चलाउँ त कसरी चलाउँ, नचलाउँ भने भएको लगानी कसरी उठाउने र मिलको सरसामान कसरी व्यवस्थापन गर्ने ? ‘काम गर्ने मजदुर राखेर मिल चलाउन पनि खोजेंको थिएँ’, उनले भने, ‘तर आएका मजदुरे धेरै टिकेनन्। चिउरा कुट्ने कमै आउँथे ।’
भक्तपुर नपा १० कमलविनायकका रामकृष्ण प्रजापतिको चिउरा मिलको अवस्था पनि रामको भन्दा फरक छैन। उनको पनि पुस्तैनी चिउरा मिल। उनका बाजेदेखि चल्दै आएको उक्त चिउरा मिल नाति रामकृष्णलाई चलाउन हम्मेहम्मे भएको छ ।आफ्नो परिवार लागेर जेनतेन चलाउन खोज्दा पनि चलाउन मुस्किल हुँदै आएको रामकृष्णकी जहान सत्यलक्ष्मी बताउँछिन्। घरपरिवारबाट सम्भव नभएपछि मजदुर राख्दा पनि मिल लामो समय नचलेको सत्यलक्ष्मीले जानकारी दिइन् ।
भक्तपुरका सबैजसो चिउरा मिल पुस्तैनी हुन्। राम र रामकृष्णको चिउरा मिलको एउटै समस्या चिउरा कुट्ने मेसिन सानो र पुरानो प्रविधिको। बजारमा ठूला मेसिन र नयाँ प्रविधि भित्रिसकेको छ। भक्तपुरकै चलेकामध्ये अधिकांश मिलमा ठूला मेसिन र नयाँ प्रविधि प्रयोग भएका छन्। जसले गर्दा मजदुर त्यतैतिर आकर्षित भए ।
मजदुर अभाव ठूलो समस्या
भक्तपुरका चिउरा मिल चलाउने सबै व्यवसायीको एउटै गुनासो दक्ष मजदुर अभाव हो। काम गर्ने मजदुर नै नभएका कारण धेरै चिउरा मिल बन्द भएको भक्तपुर नपा ६ नागपोखरीस्थित जती राइस मिलका सञ्चालक वीरेन्द्र जती बताउँछन् । ‘चिउरा कुट्ने दक्ष मजदुर पाउन सार्है गाह्राे छ’, उनले भने, ‘पछिल्लो समय भक्तपुरमा जति पनि चिउरा मिल चलेका छन्, त्यसमा घरपरिवार नै लागेरमात्रै सम्भव भएको छ ।’
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्षसमेत रहेका जतीले मजदुरहरु काम सिक्न नपाई विदेसिने प्रवृत्तिले चिउरा मिल पनि प्रभावित हुँदै आएको सुनाए। त्यसैले हाल काम गरिरहेको पुस्ताले हात झिक्नेबित्तिकै चिउरा मिल बन्द नै हुने उनको भनाइ छ ।
आकर्षित छैन नयाँ पुस्ता
नयाँ पुस्ता आकर्षित नहुँदा पनि भक्तपुरका पुस्तैनी चिउरा मिलहरु अन्तिम सार फेरिरहेका छन्। आफ्नो बाबुबाजेको पालादेखि चल्दै आएको चिउरा मिलमा काम गर्न युवा पुस्ता उत्साहित छैनन्। उल्टै काम गरिरहेका आमाबुबालाई चिउरा मिलको काम नै नगर्न भन्दै आएको भुक्तभोगीहरु बताउँछन् ।
भक्तपुर नपा १ का रामले आफ्ना छोराछोरीलाई चिउरा मिलमा काम गराउन खोज्दा उल्टै आफूलाई काम नगर्न भनेको सुनाए । ‘सुरुमा एकदुई दिन फाट्टफुट्ट आउँथे’, उनले भने, ‘पछि आएर उल्टै मलाई काम नै नगर भन्न थाले ।’ धुँवाधूलो र आगोमा काम गर्नुपर्ने भएकाले नयाँ पुस्ता चिउरा मिलमा आकर्षित नभएको व्यवसायीहरू बताउँछन् ।
चिउरा कुट्नेहरू नै कम
त्यसमाथि बजारमा सस्तो आयातित चिउराले बजार लिन थालेपछि परम्परागत चिउरा मिलमा चिउरा कुट्न आउने पनि निरन्तर कम हुँदै आएका छन्। खेतीकिसानीमै कमी आएकाले सर्वसाधारण पनि पहिले जस्तो चिउरा कुट्न कममात्रै मिल धाउन थालेकाले चिउरा मिल जेनतेन चलिरहेका छन् ।
चिउरा कुट्ने नै कम हुन थालेपछि समय खेर फालेर ग्राहक ढुकिरहन नयाँ पुस्ता तयार नभएको व्यवसायीको भनाइ छ। त्यसैले भक्तपुरमा दुईतिहाई चिउरा मिल बन्द भइसकेको भक्तपुर नपा २ तापालाछीस्थित लोकेश्वर चिउरा मिलका सञ्चालक प्रेमकृष्ण खर्बुजा बताउँछन् ।
लोकल धानखेती नहुनु अर्को समस्या
बढी उत्पादन लिने नाउँमा हाइब्रिड धान खेती बढेपछि चिउरा कुट्ने सर्वसाधारणको कमी आएको उनको अनुभव छ । ‘लोकल टाइचिन धानको जस्तो चिउरा अरु धानको मीठो र राम्रो हुँदैन’, खर्बुजा भन्छन्, ‘तर अहिले बढी उत्पादन हुने नाउँमा जताततै चिनियाँ हाइब्रिड धान लगाउन थालिएको छ। जसले गर्दा चिउरा कुट्नेको संख्या पनि कम हुँदै आएका छन् ।’
उनका अनुसार ५÷६ जना व्यवसायीले त चिउरा मिलका सम्पूर्ण उपकरण र सामान झिकेर चिउरा मिलको अस्तित्व नै समाप्त गरिसकेका छन्। बाँकीले चिउरा मिलको अस्तित्व बाँकी राखे पनि त्यसलाई प्राण दिने काम गर्न सकेका छैनन् । व्यवसायी लागेर लोकल टाइचिन धान संकलन गर्न सके मिल चलाउन समस्या नभएको उनी बताउँछन्। तर आफैंले धान खोज, धान भिजाऊ, भुट र चिउरा कुट्नुपर्ने अवस्था रहेका व्यवसायीले मिल चलाउन सक्ने अवस्था नभएको बताउँछन् ।
नपाको कडा नियम
भक्तपुर नपाले चिउरा मिलसम्बन्धी कडा नियम ल्याएपछि चलेका चिउरा मिलसमेत बन्द हुन थालेको व्यवसायीहरूको गुनासो छ। नपाले भक्तपुर सांस्कृतिक नगर भएकाले यहाँ धुँवाधुलोजन्य उद्योग चलाउन नपाइने कडा नियम ल्याएको थियो ।चलेका चिउरा मिलहरुलाई विस्थापित गर्ने उद्देश्यले नै नपाले उक्त नियम ल्याएको व्यवसायीहरुको आरोप छ। नपाले कडा नियम ल्याएपछि छिमेकीहरुले समेत चिउरा मिलको विरोध गर्न थालेको र केही व्यवसायीले मुद्दा मामिलासमेत झेल्नुपरेको व्यवसायीहरुको गुनासो रहेको छ ।
‘नपाले भक्तपुर नगरको २०० मिटर बाहिरमात्रै चिउरा मिल सञ्चालन गर्न दिने नियम ल्यायो। नपाले कडा नियममात्रै ल्याएन’, संघका अध्यक्ष जतीले भने, ‘चलेका चिउरा मिलको नवीकरण गर्न र अरु आवश्यक काम गर्न दिनुपर्ने सिफारिसलगायतसमेत रोक्यो ।’
चिउरा भक्तपुरको मौलिक उत्पादन, चिउरा मिल घरेलु उद्योग र यसले पर्यटन प्रवद्र्धन हुने भन्दै धेरैपटक नपाको ध्यानाकर्षण गरिँदा पनि सुनुवाइ नभएको उनको भनाइ थियो । उनका अनुसार नपा धेरैपटक धाएपछि नपाले भक्तपुर उद्योग कार्यालय, संघ र सीड नेपालले संयुक्त रुपमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेजका वातावरण विज्ञानका विद्यार्थीहरुलाई सहभागी गराएर चिउरा मिलबाट हुने प्रदूषण मापन गराएको थियो।
उक्त अध्ययनले चिउरा मिलले धेरै कममात्रै प्रदूषण गर्ने देखाएको थियो। उक्त अध्ययनसम्म आइपुग्दा केही व्यवसायीले नयाँ प्रविधि प्रयोग गरिसकेका थिए । अध्ययनपछि भक्तपुर नपाले ६ महिना अवधि दिएर चिउरा मिल नवीकरणलगायत काम गर्ने अवसर दिएको थियो। व्यवसायीहरुले करलगायत सबै तिरेर मिल नवीकरण त गरे तर यसअघि नै बन्द भएका चिउरा मिलले जीवन भने पाएन ।
चिउरा मिल उठाउने नियत होइन : नपा
यता भक्तपुर नपाले भने मौलिक उत्पादन गर्दै आएको चिउरा मिल उठाउने कुनै नियत नभएको बताएका छन्। भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पुरानो प्रविधिको प्रदूषणमूलक चिउरा मिल घना बस्तीमा नचलोस् भन्ने नपाको सोच रहेको बताए । ‘व्यवसायीहरु आफैले नयाँ प्रविधि आएको बताएका छन्। त्यसको आधारमा पनि प्रदूषणमूलक उद्योग नगरको घना बस्तीभित्र चलाउनुहुन्न भन्ने सबैको भावना हो’, प्रमुख प्रजापतिले भने, ‘त्यसैले घनाबस्तीभन्दा टाढा आधुनिक प्रविधि र नयाँ व्यवस्थाका साथ चिउरा मिल चलोस् भन्ने नपाको उद्देश्य हो ।’
व्यवसायीले प्रयोग गर्दै आएको नयाँ प्रविधिबारे अध्ययन गरेर हाल नगरभित्र चलिरहेका चिउरा मिललाई सुविधा दिन सकिने उनको भनाइ थियो । प्रमुख प्रजापतिले व्यवसायीबाट चिउरा मिलको लागि छुट्टै उद्योग क्षेत्र माग गरे पनि नपाले त्यतातिर सोचिनसकेको सुनाए। चिउरा मिल व्यवसायीहरुले चिउरा भक्तपुरको मौलिक उत्पादन भएकाले छुट्टै उद्योग क्षेत्रको रुपमा नपालाई ठाउँ उपलब्ध गराउन माग गर्दै आएका छन् ।
त्यस्तै व्यवसायीहरुले स्थानीय तहले व्यवसायीलाई आधुनिक प्रविधिमा जान अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन्। स्थानीय तहले दक्ष जनशक्ति तयार गर्न तालिमसमेत दिनुपर्ने उनीहरुको भनाइ छ ।
कुनै समय ६५ वटा चिउरा मिल
भक्तपुर नगर क्षेत्रमा मात्रै कुनै समय ६५ वटा चिउरा मिल चलेको भक्तपुर घरेलु तथा साना उद्योग संघको तथ्यांकले देखाउँछ। २०६१ सालमा आएर चिउरा मिलको संख्या ४२ मा झरेको संघका सचिवसमेत रहेका चिउरा व्यवसायी खर्बुजाले जानकारी दिए । ‘४२ वटा चिउरा मिलमध्ये अहिले मुस्किलले १४ वटा चलिरहेका छन्’, उनले भने, ‘नयाँ प्रविधिसँगै बजारको मागअनुसार चल्न नसके यी उद्योग पनि लामो समय चल्न सक्नेछैनन् ।’
चिउराबाट मनग्गे आम्दानी पनि
भक्तपुर नगरभित्र चिउरा मिल चल्नै छाडे पनि चिउरा व्यवसायमा अवसरको भने कमी छैन। अहिले हिजोजस्तो दैनिक १२ घन्टासम्म लोडसेडिङ भोग्नुपर्दैन। त्यस्तै भक्तपुर नगरभित्र खानेपानीको चरम समस्याले पनि चिउरा मिल चलाउन हम्मे थियो। तर अहिले पानीको समस्या पनि पहिलेको जस्तो नभएको व्यवसायीहरु बताउँछन् ।
उनीहरुको अनुसार मिलसम्म आएर चिउरा कुट्नेको संख्या ह्वात्तै घटे पनि चिउराको माग भनेको घटेको छैन। त्यस्तै काठमाडौं उपत्यकामा टाइचिन धान खेतीमा कमी आए पनि काभ्रे, नुवाकोट, धादिङ, मकवानपुरलगायत जिल्लामा प्रशस्त टाइचिन धानखेती बढेका छन्।
त्यसैले त्यहाँसम्म पुगेर धान ल्याउन सकिए चिउरा मिल व्यवसायबाटै मनग्ये आम्दानी गर्न सकिने चिउरा व्यवसायी जती बताउँछन् ।‘समस्या नभएको उद्योग व्यवसाय कतै हुँदैन’, उनले भने, ‘समस्या सँगसँगै समाधान हुन्छ तर मेहनत भने गर्न छोड्न भएन ।’