दुइटा नेताले मात्रै खुसुखुसु कुरा गरेर हुँदैन

दुइटा नेताले मात्रै खुसुखुसु कुरा गरेर हुँदैन

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला अलि असन्तुष्ट देखिन्छन्। पार्टी निर्णयमा पाखा लगाउन थालिएको उनको गुनासो छ। त्यसलाई उनले सरकारको खुला आलोचनाबाट व्यक्त गर्न थालेका छन्। यही सेरोफेरोमा उनीसँग अन्नपूर्ण पोस्ट्का हरिबहादुर थापाअखण्ड भण्डारीले गरेको कुराकानीको सम्पादित अंश–


केही दिनयता सरकारको कार्यशैलीप्रति खुलेरै असन्तुष्टि जनाउन थाल्नुभएको छ, कारण के होला ?

यसबारे कुरा गर्ने बेला अलि भएको छैन। पार्टीभित्रको कुरा हो, पार्टीभित्रै हल हुनुपर्छ भन्ने पक्षमा म छु। तर, एउटा कुरा के छ भने नेपालमा जति पनि पार्टी छन्, तिनमा केपाबाहेक कसैले देशको समस्या समाधान गर्न सक्दैन। गणतन्त्रका निम्ति एमालेले पहल गर्‍यो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने पहलकदमी हामीले नै गर्‍यौं। त्यसमा पनि खासमा मेरो थियो।पहिल्यैदेखि नाम चल्ने अरूको, भूमिका खेल्ने हामी।

तपाईंको लामो भूमिकाको अवमूल्यन भयो भन्न खोज्नुभएको हो ?

भन्न खोजेको के हो भने, अब सबै जिम्मेवारी नेकपाको काँधमा आएको छ। कम्युनिष्ट पार्टी एकीकृत पनि भएको छ। एमाले र माओवादी एक भएपछि यसको शक्ति वृद्धि भएको छ। संसद्मा पनि। जनताका माझमा पनि। र, संगठनात्मक रूपमा पनि। यस्तो अवस्थामा जनताले यसको काँधमा विशेष जिम्मेवारी दिएका छन्। अब यो मुलुकलाई अघि बढाएर लैजानुपर्ने आवश्यकता छ। त्यो सबै प्रधानमन्त्री केपी ओलीको काँधमा छ। नेकपा जिम्मेवारीमा छ, उसको काँधमा छ। यस अर्थमा हामी पनि जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं। मान्छेले भन्दा त उही हुन् भन्दिन्छन्। कसैले ‘माधव नेपाल र केपी ओलीको घाँटी जोडिएको छ’ भनिदिन्छ। कति गाह्रो ? जोडिएको छैन भनौं, झगडा सुरु भयो भनिदिन्छन्। जोडिएको छ भनौं, सबैमा मुछिदिन्छन् फेरि। बडो गाह्रो हुन्छ हामी नेतालाई।

वर्तमान समस्याको जड त यो होइन होला ?

अहिले यहाँ के भइरहेको छ भने– सबैभन्दा भ्रष्ट जो–जो छन्, तिनै पुरस्कृत भइरहेका छन्। विभिन्न नियुक्तिमा म त्यही देखिरहेको छु। भ्रष्ट मान्छे हुल्ने, अनि टाउकामा भारी हामीले बोक्ने ? बोकिँदैन। भ्रष्टलाई बोक्ने कुरामा मेरो सहमति रहँदैन। अहिले भर्खरै सडक विभागको एकजना जिम्मेवार व्यक्तिलाई मैले भनें, ‘तपाईं यदि सक्नुहुन्न भने किन काम गर्नुहुन्छ ? महत्वपूर्ण पद ओगट्ने अनि सडकको यत्रो बेहाल भएको टुलुटुलु हेरेर बस्ने ? मन्त्री वा तपाईं वा डीजी को जिम्मेवार हो ? ल भन्नुहोस्। कि निर्माण व्यवसायीहरू जिम्मेवार हुन्।’ त्यसैले यो देशलाई विधि र पद्धतिअनुसार लिएर जाने पहिलो जिम्मेवारी छ। दोस्रो, मान्छेको योग्यता÷क्षमताको समुचित मूल्यांकन गर्नुपर्छ। योग्य र सक्षम मान्छेको खोजी गर्नुपर्छ।

अहिले त्यस्तो फिटिक्कै नभएको हो ?

म अस्ति सुपरभिजन गर्न गएँ, सडकको बेहाल छ। फोटैफोटो खिचेको छु। आज हेरेको, गिटी–सिटी ठाउँ–ठाउँमा यसो राखेको रहेछ। यहीं मेरो घरको हालत हेर्नुहोस् त। मैले भनें, ‘प्रचण्डको घर जाने बाटो पिच र चौडा गरेर हिँड्ने, मेरो घर आउने बाटोको बेहाल छैन यहाँ ? विदेशीहरू आउँछन्, कत्रो अप्ठ्यारो हुन्छ। कति लाज हुन्छ। विचरा, एउटा राजदूत हिँडेर आएका छन्। हेर्नुहोस् त यो बाटो। को हो ठेगदार, थाहा छैन। यो हेर्ने यसको माईबाप कोही छ कि छैन ? ’

सरकारले नहेरेको कि, नदेखेको कि, कर्मचारीले नटेरेको ?

यहाँ कहीं न कहीं त्रुटि छ। पूरै सिस्टम बनाउनुपर्ने, भत्किएको छ। उसले उसलाई पन्छाउने प्रवृत्ति छ। के रहेछ भने– जो मान्छे भ्रष्ट छ, उसलाई २ नम्बर प्रदेशको सम्पूर्ण रूपमा हेर्ने जिम्मा दिइएको रहेछ। अरू सबै ठाउँमा महानिर्देशक भएर अयोग्य सावित भएको मान्छे अहिले मन्त्रालयको जिम्मेवार ठाउँमा बसेको रहेछ। के देशमा राम्रा र असल मान्छे छैनन् ? त्यस्ता खोज्नु पर्‍यो नि। बरु नयाँलाई दिउँ, असफल प्रमाणित भइसकेकालाई नदिउँ। निर्माण व्यवसायी भन्छन्, ‘भुक्तानी लिन जाँदा प्रत्येक टेबुलमा खुवाउनुपर्छ।’ पिच गर्ने बिटुमिन नक्कली आउँदो रहेछ।

राज्यसंयन्त्र नै भ्रष्ट भयो भन्ने तपाईंको चित्रण हो ?

हो। प्रधानमन्त्री र मन्त्रीहरूले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर जुन वचन दिनुभएको छ, अब त्यसअनुसार गरेर देखाउनुपर्छ। सरकारले केही राम्रा काम पनि गरेको छ। जस्तो बिम्स्टेक सम्मेलन भरखरै गर्‍यो। नेपालले सक्छ ? सुरक्षा चुनौती छ। प्रबन्ध र लजिस्टिकको कुरा छ। यी सबै गर्न सक्ला भन्ने पनि थिए। सबै गरेर देखायो, धन्यवाद छ। कनेक्टिभिटीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भयो। त्यसअघि चीनसँग ट्रान्जिटसम्बन्धी सम्झौता गर्‍यो। त्यो अत्यन्त महत्वपूर्ण थियो। अहिले राष्ट्रसंघको भ्रमणको उपलब्धि राम्रो भइरहेको छ। नेपालका कुराहरू अन्तर्राष्ट्रिय समुदायमा पुगिरहेको छ। भारतसँग सितांग भइसकेको सम्बन्धलाई विस्तारै राम्रो बनाउने पहल पनि भएको छ।

तपाईंका असन्तुष्टिचाहिँ केमा ?

राम्रो हुनु पर्‍यो, राम्रा मान्छेको खोजी हुनु पर्‍यो भनेको हो मैले। कस्तो खराब प्रवृत्ति भएको छ अहिले। एसिड छर्किने, हेर्नुहोस् त कस्ता अपराधी। होइन, यो कस्तो पुलिस–प्रशासन हो ? हराएकी छोरी राति खोज्न नसक्ने रे। त्यस्तालाई ठाडै कारबाही किन हुँदैन ? देश टुक्य्राउन लेफ्ट–राइट चल्छ। हो, यस्तै क्रियाकलापलाई मैले संसद्मा बडो शालिनतासाथ उठाएको हुँ। नकारात्मक कोणबाट होइन, सकारात्मक कोणबाट हो। तर, त्यसलाई पचाउन नसक्ने एउटा अनलाइनले माधव नेपालले ज्ञानेन्द्रलाई दाम चढायो भनेर लेखेछ। के गर्ने त ? कसले गरेन ? माधव नेपाल त संस्कारी मान्छे हो। जसलाई सम्मान गर्नुपर्छ, जस्तो चलन छ, त्यसलाई मान्छ। मस्जिद, मन्दिर, चर्च जहाँ जान्छु, म त्यहींको नियम पालना गर्छु। राजा ज्ञानेन्द्रले राज्यरोहण गरेकाबेला, सबैले त्यही गरिरहेको चलनअनुसार गर्दा माधव नेपाल खत्तम भयो ? मैले शिर निहुर्‍याएको छु? हक मागेको छु। माधव नेपाल हकका निम्ति लड्न तयार छ, तर याचना गर्दै हिँड्दैन।

तपाईंकै टिकाटिप्पणी आएपछि पार्टीभित्र केही पाकिरहेको हो कि ?

केही पाकेको छैन। जनभावनाको कदर हुनु पर्‍यो भनेर घण्टी बजाइदिएको हो।

सरकारले बाटो बिरायो भन्न खोज्नुभएको?

सरकारले आफ्नो कामको गति बढाओस् र तरिका सुधारोस् भन्ने हो।

तपाईंसँग यसबारे कुनै सल्लाह–सुझाव लिइएको छ/छैन ?

छलफल गर्ने भनिएको छ, तर भ्याइएको छैन भन्ने गरिएको छ।

प्रदेश समितिका नियुक्तिमा तपाईंसँग सल्लाह गरिएन भन्ने गुनासो सुनियो नि ?

यसबारे म बोल्न चाहन्न। मात्र यति भन्छु– यसमा बेठीक भएको छ। कमिटीको बैठकमै कुरा राख्छु।

यसमा तपाईंको मान्यता के छ ?

कुनै पनि कुरा सिस्टमबाट चल्नुपर्छ। पार्टी सञ्चालन ५ कुराका आधारित हुन्छ– संस्थागत विधि, एजेन्डासहितका बैठक, पारदर्शिता, मापदण्ड निर्धारण र नेताहरूबीच विश्वास एवं समझदारीको वातावरण निर्माण। ती सबै पक्षमा कमजोरी बढ्दै गएको छ। यसमा गम्भीरतासाथ ध्यान गएको छैन। जानुपर्छ। नेताहरूलाई इन्ट्याक्ट राख्न सक्नुपर्छ। मर्यादा राख्न जान्नुपर्छ। मर्यादा राख्दा ‘ल दाम चढायो’, ‘ल केक खायो’ भन्छन्। केपी ओलीले केक खुवाए, माधव नेपाल त्यसमै भुलिए रे। अनि, माधव नेपालले म केक खान्नँ भन्दै फाल्दै हिँड्ने ? त्यस्तो असंस्कारी मान्छे हो म ?

तपाईको आशय– आन्तरिक छलफल कम भयो भन्ने पनि हो ?

दुइटा नेताले मात्रै खुसुखुसु कुरा गरेर हुँदैन।

यसपालि दुइटै अध्यक्ष बाहिर हुँदा तपाईंलाई कार्यबाहक दिइएन, किन होला ?

मेरो बारे त म केही पनि बोल्दिनँ। विधिमा नचल्ने बानी भएपछि यस्तै हुन्छ। यो पार्टीमा को छ कार्यबाहक ? कोही पनि छैन। विधिको पालना नभएर यस्तो भएको हो। कि गर्नु पर्‍यो, कि सिक्नु पर्‍यो।

पार्टी एकता भावनात्मक रूपमा अझै हुन नसकेको हो ?

भावनात्मक त भइसकेको छ। कंक्रिट हुनुपर्‍यो।

अहिलेसम्म भागबन्डाकै आधारमा चलिरहेको हो ?

अलिअलि त त्यस्तो भइहाल्छ। सिस्टममा जानेबित्तिकै सबै ठीक हुन्छ। मेरो र तेरो होइन, सबै हाम्रा हुन्।

प्रसंग बदलौं, वामदेव गौतमलाई कतैबाट उठाएर संसद्मा ल्याउन खोजिएको हो ?

अप्रत्यासित परिणाम आयो– वामदेव गौतम र नारायणकाजी श्रेष्ठ चुनाावमा हार्नुभयो। उहाँहरू दुवैजना तीबाहेक जुनसकै क्षेत्रबाट उठेको भए जित्नुहुन्थ्यो। मैले त उहाँलाई राष्ट्रियसभामा आउनुहोस् भनेको हो। पार्टीले आवश्यक ठानेमा प्रनिनिधिसभामा ल्याउनु पनि अस्वाभाविक होइन।

संसद्मा सरकारले बिजनेस दिइरहेको छ कि छैन ?

सबैभन्दा ठूलो कुरा महत्वपूर्ण कानुनहरू पास भए। भारतको बिहारमा कानुन नै बनाउन नितिषकुमारले छुट्टै टिम बनाएका छन्। यहाँका कर्मचारी त अल्छीका पोका छन्। कानुन बनाउन वर्षौं लगाइदिन्छन्। प्रधानमन्त्री भने निकै सक्रिय हुनुहुन्छ। राति २ बजे सुत्नुहुन्छ रे। कसरी उठ्नुहुन्छ होला ? तर, त्यो स्वास्थ्यका लागि राम्रो होइन। मैले उहाँलाई भनेको छु, ‘समय व्यवस्थापन गर्नुहोस्, समयमा सुत्नुहोस्। समयमा खानुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.