मुटुरोगी बढ्दै, रोकथाम भने सुस्त
काठमाडौं : ‘गाउँमा पोस्ट मार्टम गर्ने डाक्टर छैनन् । किन चाहियो मुटु अस्पताल ? ’, १८ वर्षअघि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आयोजित कार्यक्रममा तत्कालीन स्वास्थ्य मन्त्रीको यो प्रश्न सुनेर चिकित्सकहरू छक्क परे । यस्तो प्रश्न अब सुन्न नपर्ने वरिष्ठ मुटुशल्य चिकित्सक डा. भगवान् कोइराला बताउँछन् । कारण मुटुरोगका बिरामी बढ्दै छन् । गत वर्ष गंगालाल केन्द्रमा एक लाख ५२ हजार बिरामीले बहिरंग सेवामार्फत मुटु परीक्षण गराएका थिए । एक हजार ७ सय ८२ जनाको मुटु शल्यक्रिया गरिएको छ । झण्डै साढे १३ हजार बिरामीले भर्ना भएरै उपचार गराए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पनि मुटुरोगसँग सम्बन्धित बिरामीको घुइँचो छ । सेन्टरमा नयाँ र पुराना गरी २१ हजारभन्दा बढी मुटुरोगीले उपचार गराए । यस्तै अवस्था वीर अस्पतालमा पनि छ । त्यहाँ पनि नयाँ र पुराना गरी १० हजारभन्दा बढी बिरामीले उपचार सेवा लिए । नेपालमा कुल जनसंख्याको १० प्रतिशत मुटुका बिरामी भएको अनुमान छ । विश्वभर प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगको कारण मात्रै एक करोड ७५ लाख व्यक्तिको ज्यान जाने गरेको विश्व मुटु संगठनको तथ्यांकले देखाएको छ । क्यान्सर, दम र मधुमेहभन्दा खतरनाक मानिन्छ यस रोगलाई ।
‘हाम्रो प्रण ः स्वस्थ मुटु’ भन्ने नाराका साथ शनिबार आयोजित विश्व मुटु दिवसमा मुटुरोग विशेषज्ञले मुटुरोग न्यूनीकरणका लागि एकीकृत ढंगले रोकथामको कार्यक्रम ल्याउनुपर्ने बताए । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले सरकारले जनचेतना फैलाउनेलगायत रोकथाम कार्यक्रममा जोड दिनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसामु उनले भने, ‘रोकथामको नीति बनाउने र कार्यक्रम गर्छौं भनी प्रण गर्नुपर्छ ।’
नेपाल हार्ट फाउन्डेसनलगायत झण्डै दुई दर्जन स्वास्थ्य संस्थाले मुटुरोगका सम्बन्धमा प्रचारात्मक अभियान गरिरहेका छन् । तर, ती अभियान अपर्याप्त भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् । ‘हामीले जति गरेका छौं, त्यो अपुग छ । प्रचार र उपचार सेवा विस्तार गर्ने प्रण आज गर्छु ।’ कार्यकारी निर्देशक डा. शर्माले प्रतिबद्धता व्यक्त गरे ।
स्वस्थ जीवन बिताउँछु भन्दै सबैलाई प्रण गर्न उनले आग्रह गरे । हृदय केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. कोइरालाले पनि मुटुका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘जनतालाई मात्र चेतना दिएर हुँदैन । मुटुलगायत नसर्ने अन्य रोगबारे पनि नीतिनिर्माण तहमा वकालत गर्नुपर्ने बेला भइसकेको छ । छिन्नभिन्न भएर होइन कि एकीकृत रूपमा पहल गर्नुपर्छ ।’ नेपालमा हुने मृत्युमध्ये दुईतिहाई मुटुलगायत नसर्ने रोगबाट हुने गरेको छ । जनताको घरदैलोमा सेवा पुर्याउने, विज्ञान र प्रमाणमा आधारित नयाँ स्वास्थ्य नीति तर्जुमा गर्नुपर्ने खाँचो डा. कोइरालाले औंल्याए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले केही संस्था, चिकित्सकले मात्र रोकथामका उपाय सुनाएर समस्या समाधान नहुने बताए । ‘मुटुरोगबाट बच्न बचाउन प्रण गरेर मात्र हुँदैन । प्रयाससमेत गर्नुपर्छ । पर्याप्त दक्ष जनशक्ति उत्पादनका लागि गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठान बनाउनुपर्छ ।’ उनले माग गरे ।
मुटुका बिरामीलाई सेवा दिइरहेको नर्भिक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञहरूले पनि रोकथाममा जोड दिए । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले भने, ‘चिकित्सकले बिरामीसँग आत्मीय सम्बन्धको विकास गर्नुपर्छ । बिरामीको तनाव घटाउन सक्नुपर्छ ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जैसवालले मुटु बिरामीले नियमित औषधि सेवन तथा समयमै उपचार गराउनुपर्ने सुझाव दिए । त्यस्तै ग्रान्डी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले सरकारले निजी क्षेत्रसँग समन्वय गरी मुटुरोगको रोकथाममा लाग्नुपर्ने बताए ।
डा. सुरेन्द्रकुमारले भने, ‘स्वदेशमै स्तरीय उपचार छ । नेतालगायत विशिष्ट व्यक्तिले सरकारी खर्चमा उपचार गराउन पाउने छैनन् । अब स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्छ ।’