नेपालमा कृषि प्रविधि सिक्दै विदेशी

नेपालमा कृषि प्रविधि सिक्दै विदेशी

इलाम : इलाम सदरमुकामबाट १३ किलोमिटर उत्तरमा अवस्थित छ, माईपोखरी हर्बल एग्रिकल्चर प्रालि। यही फार्मममा क्यानडेली नागरिक क्यालिन तीन सातादेखि नेपाली कृषि प्रविधि सिकिरहेका छन्। उनीसँगै काम गरिरहेका छन् बोलेभियाका नागरिक कार्बेनसहित १० नेपाली विद्यार्थी।

११ वर्षअघि ३ करोड रुपैयाँ लगानीमा खुलेको फार्ममा काम गर्ने यो समूह नै पहिलो भने होइन। स्वदेशमै कृषि अध्ययन गरेका विद्यार्थी र विदेशी नागरिकले फार्ममा काम गरेर अनुभव लिने गरेको सञ्चालक देउकुमार राईले बताए।

फार्ममा अहिले झापाको कमल गाउँपालिकास्थित सरस्वती माविका आठ र सप्त श्री मल्टिपल इन्स्टिच्युट बिर्तामोडका दुई विद्यार्थी ओजेटीमा छन्। कृषि विषय अध्ययन गर्ने विद्यार्थीले लोठ सल्ला, किवी, अलैंची, च्याउ, तरकारी खेतीको नर्सरीदेखि उत्पादनसम्मका कृषि कर्मबारे व्यावहारिक ज्ञान लिने गरेको उनले सुनाए।

उनले तालिम अवधिमा चिया कारखाना, चिज कारखाना, आलु विकास केन्द्रको फार्मसहित सफल किसानका फार्मको भ्रमण गराउने गरेका छन्। उनका अनुसार विद्यार्थीले पढेका विषयलाई तालिममा काम गरेर अनुभव लिने गरेका छन् भने यही अवधिभित्र विज्ञबाट तालिमसमेत उपलब्ध गराउने गरिएको छ।

विद्यार्थी अहिले लौठ सल्लाको नर्सरी राख्न व्यस्त छन्। विद्यार्थी अमृत कार्कीले किवी, लौठ सल्लालगायतको खेती गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘तालिम व्यावहारिक छ’, उनले भने, ‘नजानेका धेरै कुरा सिक्ने अवसर मिल्यो।’ फार्ममा पुग्दा १८ वर्ष हाराहारीका विद्यार्थी काममा व्यस्त थिए। यसअघि फार्ममा इलामकै करफोक माविसहित तराईका विभिन्न जिल्लाबाट आएका विद्यार्थी तालिम लिएर फर्किएको सञ्चालक राईले सुनाए।

फार्ममा ५ सय हेवार्ड जातको किवी लगाएका उनले १ लाख लौठ सल्लाको बिरुवा नर्सरीमा हुर्काएका छन्। ५० हजार बिरुवा बिक्रीका लागि तयारी अवस्थामा रहेको उनले बताए। २०६७ सालदेखि सतुवा जातको वनस्पति संरक्षण र बिक्री गर्दै आएका उनले यसपटक १ लाख बिरुवा तयार पार्ने लक्ष्य लिएको बताए।

फार्ममा सिक्किमे सेरेम्ना जातको अलैंचीका ३ लाख बिरुवा बिक्रीका लागि तयारी गरेको उनले सुनाए। फार्म बिखुमा, पाखनवेत, पाँचऔंले, लौठ सल्ला अनुसन्धानका लागि पाठशाला नै बनेको छ। ब्रिटिस आर्मीमा काम गरेर फर्किएका उनले कसैको खटन सहनु नपर्ने व्यवसायबाट ‘मेडिटेसन’ प्राप्त भएको सुनाए।

नगरमा विषादी रोक्न अभियान

हिजो आज सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको व्यस्तता कार्यालयभन्दा किसानका खेततर्फ बढेको छ। दुई महिनाअघि ‘रेड लेबल’ विषादीमुक्त नगर घोषणा गरिएसँगै मेयर राईलाई धपेडी छ। उनी कृषि प्राविधिकसँगै तरकारी तथा चियामा हालिने विषादीको असर बुझाउन किसानका घरदैलो र खेतमा पुग्न थालेका हुन्।

नगरपालिकाले विद्यालयमा अग्र्यानिक शिक्षासम्बन्धी कक्षा नै सञ्चालन गरेको थियो। केही समययता भने मेयर नै टोल–टोलमा पुगेर विषादी घटाउने अभियानमा सक्रिय भएका छन्। उनीसँगै सहजकर्ताको टोली वडा–वडामा पुगिरहेको छ। वडा नम्बर १४ का दुर्गा पोखरेलले अग्र्यानिक खेतीपातीबारे बल्ल जानकारी पाएको बताए। ‘जनप्रतिनिधि नै आएर विषादी प्रयोगबारे जानकारी गराउँदा हामीलाई कुरो बुझ्न निकै सहज भएको छ’, उनले भने।

अहिलेसम्म सात वडामा सचेतना कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ। प्रांगारिक कृषि प्रवद्र्धन अभियान नाम दिइएको कार्यक्रममा विषादीविरुद्धका पर्चादेखि मेयरको फोटो अंकित सन्देशसमेत वितरण गरिन्छ। विभिन्न तथ्यांकले नगरपालिकामा क्यान्सर, मिर्गौला, स्वासप्रश्वासलगायत स्वास्थ्य समस्या बढ्दो देखाएको र जमिनको उर्वरा शक्तिसमेत नासिँदै गएकाले अभियानमा लागेको मेयर राईले बताए।

विषादी घटाउने अभियानमा सहभागी स्थानीय। 

नगरपालिकाले साउन पहिलो साता विषादीमुक्त नगर घोषणा गरेको थियो। उन्नति समावेशी वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा विद्यालय हुँदै घर– घरसम्म अभियान पुर्या‍इने आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताए। यो कार्यक्रमले विषादी प्रयोग न्यूनीकरणमा सहयोग गर्ने फिक्कलका युवराज प्रधानको भनाइ छ।

अग्र्यानिक नगर बनाउने उद्देश्यका साथ यसअघि नै विद्यार्थीमार्फत सचेतना कार्यक्रलम सुरु गरिएको विषादी न्यूनीकरण सचेतना कार्यक्रमका सहजकर्ता अभिषेक पौड्यालले बताए। संयोजक शर्माका अनुसार विषादीका जानकार र कृषि प्रसार कार्यकर्तालाई विद्यालयमा पुर्‍याएर विद्यार्थी, शिक्षक र अभिभावकलाई विषादीको असर, पर्यावरणमा विषादीले पार्ने प्रभाव र अग्र्यानिक खेतीका फाइदाबारे जानकारी गराउने गरिएको छ।

अभियानले विषादी विष हो औषधि होइन भन्ने कुरा समुदायसम्म पुर्‍याउन सहयोग गर्ने उनले बताए। भने, ‘अहिले पनि विषादीको अन्धाधुन्द प्रयोग भइरहेकै छ।’ बिरुवामा रोग लाग्दा किरा मार्ने विषादी हान्ने, किरा लाग्दा रोगको विषादी हान्ने मात्र होइन, खाद्यतत्वको अभाव भएर बिरुवा पहेलीदा समेत विषादी नै प्रयोग गर्ने गरेकाले त्यसलाई रोक्न अभियानले सहयोग गर्ने सहजकर्ता पौड्यालले बताए।

नगरपालिकाका करफोक, फिक्कल, बौद्धधाम र कन्यामको कृष्णा श्रम माविका करिब ५ सय विद्यार्थीलाई अग्र्यानिक खेतीबारे सचेत गराएपछि गाउँस्तरीय अभियान सुरु भएको हो। संयोजक शर्माले नाकामा निगरानी बढाउन लागिएको पनि जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.