कसरी रोजिन्छन् नाटक ?
काठमाडौं : नाटक निर्देशक राजन खतिवडा प्रायः नाटकका लागि नयाँनयाँ कथा खोजिरहन्छन्। उनी आफूले निर्देशन गर्ने नाटकमा नयाँपन पस्कन चाहन्छन्। कुनै विषय र घटनाले दिमागमा क्लिक गर्यो भने आफ्नो टिमसँग सल्लाह गर्छन् र नाटक मञ्चनको योजना बनाउँछन्। केही समयअगाडि मण्डला थिएटरमा ‘एन्टिगोनी’ नाटक मञ्चन भएको थियो। यो नाटकले दर्शकको मन जित्यो। पौराणिक कथा भए पनि यसको थिम सशक्त थियो।
किन यही नाटक रोजियो त ? राजन भन्छन्, ‘देशमा स्थानीय तह निर्वाचनको माहोल थियो। महिलाहरू पनि आफ्नो स्थान सुरक्षित हुनुपर्छ भनेर आवाज उठाइरहेका थिए तर भीडमा उनीहरूको आवाज हराइरहेको थियो। यसैबीच कुनै नाटक गर्नुपर्छ भन्ने लाग्यो।
एन्टिगोनी पढिरहेको थिएँ। मलाई यसको कथा र एन्टिगोनीले गरेको विद्रोहले छोयो।’ निकै लामो मेहनतपछि यो नाटक बन्यो। नाटक हेर्ने जोकोहीलाई यसबाट ऊर्जा प्राप्त हुन्थ्यो। अन्यायविरुद्ध विद्रोह गर्न हिम्मत जुट्थ्यो। महिलालाई आफ्नो आवाज उठाउन थप ऊर्जा दिन्थ्यो।
दुई वर्षअघि ‘युमा’ नाटक निर्देशन गरेकी सिर्जना सुब्बालाई भने सामान्य कथाले छुँदै छुँदैन। उनलाई आफ्नो सोचअनुसारको कथा भएको नाटक चाहिन्छ। भन्छिन्, ‘म आफ्नो रुचिअनुसारको थिम सुनाएर नाटक लेखाउँछु। महिलाको सशक्त भूमिका भएको र महिला पात्रले लिड गरेका नाटक मेरो रोजाइमा पर्छन्।’
उनले पहिलोपटक निर्देशन गरेको नाटक ‘युमा’ हेर्न विदेशबाट समेत दर्शक आएका थिए। श्रीमान्ले दिने मानसिक पीडाबाट प्रताडित युमालाई नाटककारले स्वावलम्बी र हिम्मतिलो पात्रका रूपमा चित्रण गरेका थिए। उसको कथाले तमाम दिदीबहिनीलाई केही गर्ने हौसला प्रदान गथ्र्यो।
हाम्रो समाजमा महिलाको अझै पनि समान भूमिका र हैसियत छैन। यस्तो अवस्थाबाट महिलालाई माथि उठाउन र उनीहरूप्रति पुरुषको सोच बदल्न पनि महिला केन्द्रित नाटक जरुरी भएको उनको तर्क छ। महिलाको चेतना माथि उठाउने खालका कथाको खोजीमा सदैव रहने उनको भनाइ छ।
अहिलेको समयमा कुन विषय महत्वपूर्ण छ ? कुन विषयले दर्शकको मन जित्न सक्छ भनेर विषयको खोजीमा रहने निर्देशक राज शाहको तर्क छ। भन्छन्, ‘निर्देशकले नाटकको कथाभन्दा पनि विषयलाई ध्यान दिनुपर्छ।’ आफूलाई समाजमा घटिरहेका घटनाले नै नाटक लेख्न वा नाटकमा उतार्न प्रेरित गर्ने उनले बताए। समाजको बेथिति परिवर्तन गर्ने खालका कथाले आफूलाई छुने उनको तर्क छ।
पौराणिक कथा अहिलेका दर्शकलाई नयाँ हुने र पौराणिक कालका बारेमा जानकारी दिन पाइने हुनाले आफूलाई पौराणिक कथाले तान्ने निर्देशक टंक चौलागार्इं बताउँछन्। नेपालमा मञ्चन गर्ने खालका नाटक लेखनमा खासै प्रगति हुन नसकेकाले विदेशी नाटक रोज्नु परेको उनले बताए।
‘हामीले रंगमञ्चमा हेर्ने अधिकांश नाटकमा निर्देशकको सोच हावी हुन्छ। नेपाली नाटकमा अधिकांश निर्देशन पुरुषको हुन्छ। तर, पछिल्लो समय महिलाले पनि नाटकको सफल निर्देशन गरिरहेका छन्। महिलालाई अझै पनि विभेद गर्ने हाम्रो संस्कारलाई पूर्णतया बदल्न पनि साहित्य, कला नाटक, चलचित्र हरेक क्षेत्रमा यस्ता विषय उठाइनुपर्ने निर्देशकहरू बताउँछन्।
विश्वव्यापी रूपमा चलेको ‘भजाइना मोनोलोग’ नाटक सिरिजलाई नेपालमा भित्र्याउन सफल निर्देशक आकांक्षा कार्की नाटक रोज्न कुनै घटनाले छुनुपर्ने तर्क राख्छिन्। उनी थप्छिन्, ‘आफ्नो व्यक्तिगत जिन्दगी र आफूलाई असर गरेको कुनै पनि विषयमा नाटक बनाउन चाहन्छु। मेरो खोजी पनि यसैमा हुन्छ।’
कुनै पनि नाटक तयार गर्नुअघि निर्देशकले यो विषय कति सान्दर्भिक छ ? कसका लागि बनाउँदै छु ? पैसा कमाउन बनाएको हो कि समाजमा केही सन्देश दिनका लागि भन्ने स्पष्ट हुनुपर्ने कार्कीको तर्क छ।
समाजमा पछिसम्म प्रभाव पार्न सक्ने खालका नाटक छनोट गर्नुपर्नेमा सहमत छन् खतिवडा पनि। एउटा नाटकको सन्देश लामो समयसम्म रहनुपर्छ। समाजमा गहिरो छाप छाड्न सक्ने नाटकले नाम र दाम दुवै कमाउन सफल हुने तर्क गर्छिन् सुब्बा।
पछिल्लो समय नाटकका कलाकार धेरै र रंगकर्मी कम उत्पादन भइरहेका छन्। यसले आफूलाई निराश बनाएको बताउँछिन् आकांक्षा कार्की। तर, नाटक इज्जतिलो पेस बन्दै गइरहेको भने स्वीकार गर्छिन् उनी। भन्छिन्, ‘नाटक पढ्नुपर्ने विषयको रूपमा, लगानी गर्न सक्ने एउटा पेसाको रूपमा विकसित भइरहेकोमा आशावादी छु।’